वीरगन्ज, १५ साउन । घरमा भित्र्याइएकी पत्नी वा बुहारीलाई चरम शारीरिक र मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य बनाउने घटना तराईमा बढिरहेका छन्। तर घुमाउरो परिस्थिति र कानुन अभावमा यसरी यातना दिएर आत्महत्या गर्न बाध्य पार्ने दोषीले भने उन्मुक्ति पाउँदै आएका छन्।
आवरणमा आत्महत्या देखिए पनि पृष्ठभूमिमा परिवारिक हिंसा र अत्याचार बढी जिम्मेवार देखिने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०७०–७१ मा १० जना विवाहित महिलाले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन्।
प्रहरी प्रतिवेदनमा घरायसी विवादका कारण आत्महत्या भएको उल्लेख गरिए पनि प्रत्येक घटना केलाउँदा घरेलु हिंसा मुख्य कारकका रूपमा देखा परेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। आत्महत्या गर्ने विवाहित महिला १९ देखि ३५ वर्ष उमेर समूहका छन्।
दाइजोको निहुँमा परिवारका सदस्यबाट पाएको यातना सहन नसकेर वीरगन्ज-१७ पिपराकी १७ वर्षीया अनितादेवी पटेलले आइतबार घरभित्रै झुन्डिएर आत्महत्या गरिन्।
चार वर्षअघि विवाहित उनका एक वर्षीय छोरा छन्। अनिताका बाबु मदनप्रसाद कुर्मीले ज्वाइँ अमित पटेललाई तीन लाख नगद दिनुपर्ने वा कुनै जागिर लगाइदिनुपर्ने पछिल्लो सर्त पूरा गर्न नसकेकाले छोरीलाई चरम यातना दिएर आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए।















प्रतिक्रिया