उदयपुर, १९ चैत । व्यापार संघभित्र भएको भ्रष्टचारको छानविन नभएको भन्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा उद्योग बाणिज्य संघको कार्यालयमा शुक्रबार व्यापारीले नै तालाबन्दि गरेकाछन् ।
विभिन्न समयमा भएका महोत्सव र कार्यक्रममा संघका पदाधिकारीले गरेको भ्रष्टचारको बिषयमा छानविनको माग गर्दै स्थानीय प्रशासनलाई उजुरी दिँदासमेत सुनवाई नभएपछि व्यापारीले तालाबन्दी गरेका हुन् ।
तालाबन्दीका कारण बारेमा व्यापारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाछन् । ८ बुँदे मागसहित चैत्र ९ गते दुई सय १७ जना व्यापारीको हस्ताक्षरसहित छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुग्दा समेत सुनवाई नभएपछि आफुहरु शसक्त आन्दोलनमा होमिनु परेको उनीहरुले बताएका छन् ।
उनीहरुले व्यापार संघ भित्र भएको भ्रष्टचारको छानविन गरी दोषिमाथि कारवाही गरिनु पर्ने, अवैद्यानिक रहेको कार्यसमिति खारेजी गरी निर्वाचन गराउनु पर्ने माग अघि सारेका छन् ।
कार्यसमितिको वैद्यानिकतामाथि प्रश्नचिन्ह उठाएका व्यापारीले बार्षिकरुपमा हुनुपर्ने साधारणसभा तीन बर्षे कार्यकाल वितिसक्दासमेत नगरिएको, आर्थिक अनियमिततालाई छल्न समिति निस्कृय रहि बैठकसमेत नबस्ने गरेको, विगत २ बर्षदेखि लेखापरीक्षण नगरिएको, संस्था नविकरण नगरिएको, जिम्वेवार अध्यक्ष र अन्य पदाधिकारीबाट व्यापकरुपमा आर्थिक अनियमितता भएको जारी प्रेस विज्ञपतीमा उल्लेख छ ।
त्यस्तै असोज १८ गते पदावधि सकिनुअघि बैठक बसी म्याद थप गर्नु पर्नेमा अवैधानिक भईसकेको समितिले असोज २२ गते बैठक गरी पौस मसान्तसम्ममा गर्ने निर्णय गरेको त्योपनि कार्यान्वयन नभएको व्यवसायीको आरोप छ ।
उनीहरुले यसअघि प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा संस्था तत्काल जे जस्तो अबश्थामा छ, सोही अबश्थामा नै रहने गरी शिलवन्दी गर्नु पर्ने, आयव्ययलाई पारदर्शिता बनाउन आन्तरिक लेखापरीक्षण, मलेप लगायतका कार्य गर्नु पर्ने, संघको नाममा रहेको बैंक खाता रोक्का गरिनु पर्ने माग राखेका थिए ।
त्यसैगरी बार्षिक साधारणसभा अधिवेशन लगायतका कार्य गर्न निस्पक्ष एवं तठस्त एक तदर्थ समिति गठन गर्नु पर्ने, संस्था नविकरण गरी बैद्यानिकता दिनुपर्ने, यथाशिघ्र निर्वाचन गरी नेतृत्व अध्यावधिक गरिनु पर्ने, अनियमिततालाई छानविन गरी दोषि उपर कारवाही गरिनु पर्ने माग अघिसारेका थिए । पछिल्लो पटक २०६९ असोज १९ गते निर्वाचनबाट गजेन्द्रकुमार भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।















प्रतिक्रिया