नेपालले सात दशकपछि सार्वभौम संविधानसभाबाट संविधान जारी ग-यो । स्व. सुशील कोइरालाको नेतृत्वमा देशले लामो राजनीतिक संक्रमणकालीन अवस्थालाई एक हदसम्म निमिट्यान्न पा¥यो । खासगरी भूकम्पले थिचिएको नेपालले लामो राजनीतिक खिचातानीका बाबजुद संविधान पायो । त्यो नै एक मूल उपलब्धि थियो हामी नेपालीका लागि । किनभने हामीले हाम्रो देशको थुप्रै पुँजी, समय र लगानीलाई संविधान निर्माण गर्ने बहानामा गुमाइसकेका थियौं । अझ भनौं पहिलो संविधानसभाको जसरी हत्या गरियो कतै दोस्रो संविधानसभा पनि त्यसरी नै सकिने त होइन भन्ने आम नेपालीमा चिन्ता थियो । तर देशले संविधान पायो । यद्यपी देशले संविधान पाउँदा छिमेकीबाट पुरस्कार स्वरुप हामीले देशको अर्थतन्त्र नै धरापमा पर्ने गरी नाकाबन्दी पायौं । एकातिर भूकम्पले खर्बौंको धनमाल नोक्सानी पु-यायो भने हजारौं मानिसले ज्यान गुमाए भने अर्कोतिर खडेरीका कारण मध्य तथा पश्चिम क्षेत्रमा कृषि उत्पादन शुन्यमा झ-यो । उता इन्धन अभावले बन्दै गरेका आयोजनाहरु बन्द हुन पुगे । तराई क्षेत्रमा करिब ६ महिना चलेको आन्दोलनले त्यहाँ काम गर्ने मजदुर, व्यापारी, व्यवसायीलगायतलाई अर्बौ रुपैयाँको नोक्सानी भयो । इन्धनको कालोबजारीया सुरु भयो । त्यही कालोबजारीया आजसम्म पनि जारी नै छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार बनेको ६ महिना पुग्दै छ । सरकारले पनि ६ महिनामा गरेको कामको फेहरिस्त बनाउँदै होला । मैले पनि आफूले अनुभव गरेसम्म यहाँ ओली सरकारले ६ महिनामा प्राप्त सफलता तथा असफलताका कुरा यहाँ राख्ने प्रयत्न गरेको छु ।
हिजो राजाहरुले गर्न नसकेका कुरा प्रधानमन्त्री ओलीले कागजी रुपमा नै गर्न सकेका छन् । अबको नेपालको कार्याभार भनेको चीनसँग गरिएका महत्वपूर्ण सन्धि सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्नु नै हो । यदि यसो गर्न सकिएको खण्डमा नेपालको समृद्धि टाढा छैन भन्दा हुन्छ ।
जब ओली नेतृत्वमा सरकार गठन भयो । त्यो सरकार राष्ट्रवादी, राष्ट्रियताका पक्षधरहरुको भनेर व्याख्या गरिएको थियो । हामीले प्रत्यक्ष हे-यौं, देखेका छौं । ओलीले नाकाबन्दी गरिरहेको देश भारतसँग त्यस्तो कुनै सम्झौता गरेनन् जसले देशलाई अझै भारत वेष्ठित बनाइरहोस् । त्यस्तो कुनै समझदारी गरेनन् जसले इतिहासमा ओली सरकारलाई कठघरामा उभ्याउने अवसर देओस् । उनले त्यस्तो काम गरे जसले आमनेपालीको स्वाभिमान उँचो बनाइदियो । वीर गोरखालीहरु कसैसामु झुक्दैनन् भन्ने कुराको प्रमाण ओलीले दिए । चाहे औषधी अभावैका बीच होस्, चाहे इन्धन अभावैकै बीच किन नहोस्, त्यसरी हारगुहार गरेनन् भारतसँग । यो नै राष्ट्रियताका पक्षको अडान हो । यो अडानमा प्रम ओली सफल भएका छन् । यो सरकारले भारतसँग नझुकेरै नाकाबन्दीको अन्त्य गर्न सफल भयो । नेपाल र भारतबीचका केही मतान्तरलाई आपसी वार्ता र समझदारीका आधारमा टुंग्याउनुपर्ने भन्दै नाकाबन्दी फिर्ता भए मात्रै आफूले भारतको राजकीय भ्रमण गर्ने भन्ने अडान ओलीले राख्दा भारत बाध्य भएर जसरी अघोषित नाकाबन्दी लगाइयो त्यसरी नै फिर्ता लिन पुग्यो । यो पनि ओली सरकारको महत्वपूर्ण उपलब्धि नै हो ।
जुन आन्दोलनको आँधीबेहरीले देशलाई गणतन्त्रात्मक बनाइदियो, जुन आन्दोलनमा थुप्रै योद्वाहरुले गणतन्त्रका लागि आफ्नो बलिदान दिए । त्यो दिन नेपाली जनताले कहिल्यै बिर्सने छैनन । त्यो दिन वैशाख ११ नै हो, जसरी राजा ज्ञानेन्द्रले जनताको बलमा राजगद्दी समेत त्याग्नुपरेको थियो । वैशाख ११ नै हो जुन दिन रोपिएको विउले आज फल दिइरहेको छ र त्यही फल हजुरले चाखि रहनुभएको छ भने तपाईं लोकतन्त्र दिवसको विदा कटाएर के सन्देश दिन चाहनुहुन्छ ? किन तपाईंले जनताको बलिदानी संघर्षको ऐतिहासिक दिनलाई भुलाउन चाहनुहुन्छ ?
ओली सरकारको अर्को उपलब्धि भनेको महत्वपूर्ण छिमेकी भारतलाई विश्वासमा लिनु नै हो । भारत र नेपालीबीच आत्मीय सम्बन्ध रहेको कुरा कोही कसैले चाहेर पनि नकार्न सक्दैनन् । आज भारतमा लाखौं नेपालीले रोजीरोटी कमाउँदै आएका छन् भने नेपालमा पनि लाखौं भारतीयले रोजीरोटी कमाउँदै आएका छन् । यो जनस्तरसम्म पुगेको नेपाल र भारतबीचको सम्बन्धलाई दुई सार्वभौम देशबीचको सम्बन्धको रुपमा व्याख्या गर्दै ओली सरकारले आक्रामक बनेको भारत सरकारलाई विश्वासमा लियो । फलस्वरुप नाकाबन्दी पनि सकियो । प्रम ओलीको भारत भ्रमण पनि भयो । अहिले दुई देशबीचको सम्बन्ध सकारात्मक बन्दै गएको छ । ओली सरकारले अर्को ऐतिहासिक सफलता प्राप्त गरेको छ । चीनसँग विशेष खालको सम्बन्ध स्थापित भएको छ । उत्तरी छिमेकी चीनसँग पारवहनलगायतका सम्झौता भएका छन् । यसअघि भारतसँग मात्रै यो सुविधा लिँदै आएको अवस्थामा भारतीय नाकाबन्दीका बेला तेस्रो मुलुकबाट आएका समान पनि नेपाल प्रवेश गर्न नदिइएको परिवेशमा यो सम्झौता हुनु नेपाल स्वर्ण युगमा प्रवेश गर्नु सरह हो । यद्यपी यो सम्झौतालाई कार्यान्वयन गर्न थुप्रै भौगोलिक कठिनाइहरु छन् । तर पनि यदी ति भौगोलिक कठिनाइलाई चीन तथा नेपाल दुवै देश मिलेर काम गर्न सकेको खण्डमा पार गर्न भने सकिनेछ । उत्तरी सीमामा अहिले सडकहरुको निर्माण द्रुत गतिमा भइरहेको छ । यदि नेपालले भौलिक संरचनाको जति चाँडो निर्माण गर्न सक्छ त्यति नै चाँडो मध्य एसिया तथा अन्य देशहरुसँग सोझै व्यापार गर्न पाउनेछ । जसले कागजीरुपमा भारतमा मात्र सिमित पारवहनको एकाधिकार व्यवहारिक रुपमा पनि तोडिने छ । चीनसँग नेपालले गरेका सबै सम्झौता कार्यान्वयन गर्न सकेमा ओली राजनेताको सूचीमा पर्नेछन । जो नेपाली इतिहासकै थोरै मात्र राजनेताको सूचीमा अटाउने छन् । हिजो राजाहरुले गर्न नसकेका कुरा प्रधानमन्त्री ओलीले कागजी रुपमा नै गर्न सकेका छन् । अबको नेपालको कार्याभार भनेको चीनसँग गरिएका महत्वपूर्ण सन्धि सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्नु नै हो । यदि यसो गर्न सकिएको खण्डमा नेपालको समृद्धि टाढा छैन भन्दा हुन्छ ।
प्रधानमन्त्री ओलीका सफलता केलाइरहँदा उनका असफलतातर्फ पनि नजर लगाउनै पर्ने हुन्छ । नाकाबन्दी समाप्त भएको करिब दुई महिना पुग्दा पनि ओली सरकारले कालोबजारी रोक्न सकेको छैन । देशमा दिनहँु भ्रष्टाचार बढ्दै गएको छ । कालोबजारियाहरुले देशको अर्थतन्त्रलाई घुँडा टेकाइसकेका छन् । देशको आर्थीक बृद्विदर करिब १ दशमलव ५ प्रतिशतमा झर्न पुगेको छ । कालाबजारीयाहरु रातारात करोडपति बन्दैछन् भने जनता इन्धनलगायतका अत्यावश्यक खाद्यान्न र औषधी प्राप्त गर्न सकिरहेका छैनन् । यसले गर्दा देशमा अझै कानुनी राज चलेको छ भन्ने कुराको खिल्ली उडेको छ । तसर्थ केपी सकारले अब कानमा तेल हालेर बस्नु हुँदैन । देशका दुश्मन कालाबजारीयाहरुलाई कठघरामा उभ्याउनै पर्छ । उता आगामी वैशाखदेखि फेरि आन्दोलन गर्ने भनेर मधेसी दलहरुले अल्टिमेटम दिएका छन् । उनीहरुका जायज मागलाई समयमै सम्बोधन गर्न नसकिएमा भोलि फेरि एकपटक देश जल्न सक्छ । यसो हुनाले उनीहरुलाई पनि मुलधारमा ल्याएर गिभ एण्ड टेक गरेरै भए पनि समस्या समाधान गर्नैपर्छ । त्यसैले मधेसी समस्याको समाधान नै संविधान कार्यान्वयनको पहिलो चरण हो । तसर्थ मधेशी दलहरुले राखेका मागलाई अन्य जनताका अधिकारहरुलाई समेत ध्यानमा राखेर सम्बोधन गर्नुपथ्र्यो जो गर्न उनले अहिलेसम्म सकिरहेका छैनन । देश भूकम्पले थला परेको १ वर्ष पुग्दैछ । यो एक वर्षको ५ महिना ओली सरकारले पुर्ननिर्माण प्राधिकरण गठन गर्नु सिवाय कुनै काम गर्न नसकेको स्वयम् प्रधानमन्त्री ओलीले स्विकार गरिसकेका छन् । अब जनताका भत्किएका मनलाई सम्हाल्दै उनीहरुका लागि सुरक्षित आवास निर्माण गर्नेतर्फ चाँडो भन्दा चाँडो पहलकदमी थाल्न आवश्यक छ । जनता कुरा होइन काम हेर्न चाहन्छन् । जनताले पुस–माघको कठ्याग्रिने जाडो, पालमुनि वर्षायामका रात, अनि हावाहुरी, टन्टलापुर घाम झेलिसके भनेर चुप रहने अवस्था छैन । अबको केही समयपछि वर्षात सुरु हुँदैछ । आजसम्म कम्तिमा पनि एक लाख घर निर्माण भइसक्नुपर्ने थियो । त्यो गर्न ओली सरकार असफल भएको छ । यो असफलतालाई अब एक गतिलो पाठको रुपमा अनुशरण गर्दै देशको पुनर्निर्माणमा लाग्नुपर्छ ।
देशको कुटनीति अन्तर्राष्ट्रिय जगतमा पछि परेको छ । लामो समयदेखि कुटनीतिक नियोगहरुमा राजदूत नहुँदा देशले भोगेको चरम नाकाबन्दीको विषयमा सममयमै अन्य देशलाई जानकारी दिन सकिएन । फलस्वरुप भारतीय नाकाबन्दी महिनौंसम्म लम्बिरह्यो । रोजगारका लागि विदेशमा पुगेका आमनेपाली युवाले विदेशमा पनि सरकारी सेवाको लाभ लिन सकेनन् । अहिले ५ महिना बितिसक्दा पनि करिब दर्जन बढी देशमा राजदूत नियुक्त गर्न ओली सरकारले सकेको छैन । सबैभन्दा पहिले राजदूत नियुक्त गर्नेतर्फ ध्यान जानुपर्ने थियो । यद्यपी अब ओली सरकारले यी देशसँग, राष्ट्रियतासँग जोडिएका महत्वपूर्ण कुराको समीक्षा गर्दै कार्यान्वयनको चरणमा जानैपर्छ ।
अन्त्यमा, जुन आन्दोलनको आँधीबेहरीले देशलाई गणतन्त्रात्मक बनाइदियो, जुन आन्दोलनमा थुप्रै योद्वाहरुले गणतन्त्रका लागि आफ्नो बलिदान दिए । त्यो दिन नेपाली जनताले कहिल्यै बिर्सने छैनन । त्यो दिन वैशाख ११ नै हो, जसरी राजा ज्ञानेन्द्रले जनताको बलमा राजगद्दी समेत त्याग्नुपरेको थियो । वैशाख ११ नै हो जुन दिन रोपिएको विउले आज फल दिइरहेको छ र त्यही फल हजुरले चाखि रहनुभएको छ भने तपाईं लोकतन्त्र दिवसको विदा कटाएर के सन्देश दिन चाहनुहुन्छ ? किन तपाईंले जनताको बलिदानी संघर्षको ऐतिहासिक दिनलाई भुलाउन चाहनुहुन्छ ? प्रम ओलीका लागि यो समिक्षाको विषय हो । सत्ताधारी दल, विपक्षी दल सबैलाई मेरो यो प्रश्न ? यदि २०६२–६३ को जनआन्दोलन नभइदिएको भए आज तपाईंहरु कहाँ हुनुहुन्थ्यो ? त्यो इतिहास यहाँहरुले चाहेर पनि मेटाउन सक्नुहुने छैन । स्वर्णीम अक्षरले नेपाली इतिहासमा त्यो दिन लेखिसकिएको छ । यो ओली सरकारको भुल हो । यसलाई सुधारेर जानैपर्छ ।
– मुम्बई















प्रतिक्रिया