काठमाडौं, १८ चैत । पछिल्लो समय विमान बम राखेको झुटो सूचनाले आतंक त मच्चाएको नै छ । त्यसका अलावा करोडौं नोक्सानी पनि हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दुई सातायता आएका एक दर्जनबढी झुटा फोनले विमान कम्पनीलाई करोडौं घाटा लागेको हो ।
केही दिनअघि दिल्लीबाट काठमाडौंका लागि आएको जेट एयरवेजको जहाजमा बम रहेको सूचना भारतबाटै आएपछि नेपालको त्रिभुवन विमानस्थल पुरै खाली गराएर अवतरण गराइएको थियो जसले गर्दा ४ घण्टासम्म एयरपोर्ट बन्द गरियो । सुरक्षा जाँचपछि कुनै बम भेटिएन । तर, विमान कम्पनीलाई भने करोडौं घाटा लाग्यो ।
हवाई सुरक्षा अधिकारीका अनुसार विमानमा विस्फोटक पदार्थ राखिएको दाबी गर्दै आउने झुटा फोन कलका कारण कुनै पनि विमानलाई अवतरण गराउँदा हरेक पटक कम्तिमा ३ करोड २० लाख रुपैयाँ घाटा हुने भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन् ।
कुनै जहाजमा बम रहेको या अन्य आतंकवादी धम्की दिँदा त्यसमा सवार यात्रुका लागि खानेदेखि लिएर बस्नेसम्मको व्यवस्था र आवश्यक परेमा वैकल्पिक उडान पनि गर्नुपर्ने भन्दै एक भारतीय विमान कम्पनीका प्रवक्ताले भनेका छन्- ‘यात्री हाम्रो प्राथमिकता रहन्छन् । एक आतंकवादी फोनका कारण एक विमान कम्पनीलाई अढाई करोडदेखि तीन करोड २० लाखसम्म घाटा लाग्छ ।’
















प्रतिक्रिया