लमजुङ, १६ चैत । नेपाल पत्रकार महासंघ लमजुङ शाखामा स्थापना गरिएको सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार युवराज श्रेष्ठ पुरस्कृत भएका छन् । महासंघको आफ्नो ६१ औँ स्थापना दिवसको अवसर उक्त पुरस्कार प्रदान गरिएको हो ।
महासंघका जिल्ला सचिव समेत रहनुभएका रेडियो मस्र्याङ्दीका समाचार प्रमुख श्रेष्ठलाई सांसदद्धय चन्द्रबहादुर कुँवर र जमिन्द्रमान घलेले संयुक्त रुपमा प्रदान गरेका थिए । २०५३ सालको फागुपुर्णिमाका दिन पश्चिम लमजुङको भोर्लेटारमा बस दुर्घटना परेर निधन भएका सन्तोष लामिछानेको स्मृतिमा काका श्रीकृष्ण लामिछानेको परिवारले उक्त पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा पुरस्कार घोषणा गर्दै उनले आगामी दिन देखि अक्षयकोषमा रहेको १० हजार रुपैयाँबाट बढाएर १५ हजार पुर्याउने बताए ।
प्रो पब्लिक काठमाडौँको सहयोगमा समिभञ्ज्याङबाट प्रकाशित हुने कायापलट असल शासन पत्रिकाबाट पत्रकार श्रेष्ठले पत्रकारिता शुरु गरेका हुन् । रेडियो मस्र्याङ्दीमा स्थापनाकाल देखि संवाददाता रहेर काम गरेका पत्रकार श्रेष्ठ अहिले रेडियोको समाचार प्रमुख रहेका छन् । उनले हिमाल खबर पत्रिका लगायत राष्ट्रिय तथा स्थानिय संचारमाध्यममा पनि लेख्छन् ।













प्रतिक्रिया