मेरो प्यारो देश नेपाल, मुटुभरिको अथाह माया तथा परदेशबाट न्यानो सम्झना ।
प्यारो देश तिमीलाँइ छोडेर परदेश हिँडेदेखि नसम्झेको कुनै दिन नै छैन । तिम्रो मायाँ छातिभरि अनि स्मृति आखाँभरि सजाएर राखेको छु ।
तिम्रो सुन्दर आँगनमा जन्मिन पाएकोमा म आफुलाई संसारभरि कै भाग्यमानी ठान्छु, र गर्व गर्छु ।
तिमीले सोच्छौ होला आफ्नो देश र जन्मेको गाउँ छोडेर हिँडेको यतिका धेरै वर्षसम्म सम्झिएर एकचोटि पनि फर्किएर नआउने मैले ठूलो गफ गरिराखेको छु, झुटो बोलिरहेको छु ।
हो यो कुरामा तिमी सही छौ, तर म पनि गलत छैन ।
किन ?
विदेशी भूमिमा बाध्यता र मजबुरीको जन्जिरमा जकडिएर चाहँदा–चाहँदै पनि फर्केर आउन नसकेको म स्विकार्छु ।
तिमीप्रति मेरो मनमा माया र सम्मान नभएको भए मौका पाउँदा म विदेशी नागरिक बन्नेतिर लाग्थें होला । यतैको रंगीन दुनियाँ अनि भौतिक सुख सुविधामा रमाउँथे होला ।
तर मेरो सोच त्यतातिर कहिल्यै गएन ।
मलाई तिम्रो मायाले अरु देशको नागरिक बन्न दिएन ।
म तिम्रै माटो–धुलोमा लडिबुढि गर्दै हुर्कें अनि तिम्रै काखमा अस्ताउन चाहान्छु । मेरो लक्ष्य स्पस्ट छ ।
मेरो गाउँ जहाँ म जन्मे त्यहाँ मैले धेरै कुरा लिएको छु । म मेरो गाउँको पनि ऋृणि छु ।
मलाई विदेशी मिनरल वाटर समेत तितो लाग्छ । नेपाली माटोमा बग्ने कन्चन पानी हातको अन्जुलीले उठाएर पिउँदा मात्र मेरो प्यास मेटिन्छ ।
तिम्रै वन जंगलमा फलेका काफल, ऐंसेलुलगाएतका फलफूल, कन्दमुल खाएर हुर्किएँ । वन पाखाभरि ढकमक्क फुल्ने लालिगुराँस र सुनाखरिका सौन्दर्य हेरेर रमाउँदै, कोइलीले गाउने मीठो गीत सुन्दा मेरा दुःख पीडा भाग्ने गर्थे ।
ति पाखा–पखेरा, झरना नदीनाला कस्ता भए होलान् उस्तै छन् कि आफ्नो स्वरुप फेरे होलान् ? सम्झिँदा यसै औडाहा भएर आउँछ ।
युवा अवस्थामा गरिएको मेरो रंगीन प्रेमको साक्षी त्यहि पाखा पखेरा र वनजंगलहरु खोलानाला झरनाहरु हुन् ।
हाम्रो जोडि त्यहि गाउँको कुनाकन्दारामा कसैले नदेख्ने एकान्तमा निर्धक्क, निर्लज्ज प्रेम साट्थ्यौं । हाम्रो प्रेमलाई हुर्काउन–बढाउन अनि समाजबाट लुकाउन छहारी दिने मेरो प्यारो गाउँ ।
यता विदेश आएपछि धर्तीको स्वर्ग भनिएको स्विजरल्याण्डलगाएत युरोपका राम्रा मानिएका केही देश पनि घुम्ने मौका पाएँ । ति देश र शहरहरु मानिसका धेरै मेहनतले सजाइएका, सिंगारिएका, राम्रा बनाइएका थिए ।
तर मेरो देश श्रृंगारपटार सजावट विना नै तिनीहरु भन्दा धेरै सुन्दर लाग्यो । ति देशहरु भौतिक सजावटमा तिमीभन्दा राम्रा होलान् तर प्राकृतिक रुपले तिमीलाई ति देश भन्दा कैयौं गुणा राम्रा लोभलाग्दा चिजहरु दिएका छन् ।
मेरो देशको सौन्दर्यता बयानै गरेर नसकिने छ ।
हामी नेपालीले माल पाएर चाल नपाएका मात्रै हो ।
तिम्रो छातिमा खेलेको उफ्रिएको अनि जिन्दगीको सबैभन्दा सुन्दर क्षण मध्येको एक कालखण्ड बाल्यकाल बिताएको झलझली याद छ । तिम्रै पाखा पखेरामा निर्धक्क हिँडेको, कुदेको अस्ति जस्तो लाग्छ ।
मेरो प्यारो देश, अहिले सामाजिक सञ्जालहरुमा तिम्रो फोटा देख्दा तिमीमा पहिले झै सुन्दरतामा कमी आएको झैं लाग्यो ।
तिम्रो सुन्दरता जोगाउन होइन विनाशमा मानिसहरु जुटिराखेका झैं देखिन्छ ।
तिम्रो शीरको वन जंगल उजाड छ । विशाल लहलह धान झुल्ने फाँटहरु मासेर मानिसहरुले अब्यवस्थित अन्धाधुन्ध बस्ति बसालिसकेछन् ।
तिम्रै आँगनमा रमाउने जंगली जनावर तथा पशुपंछीहरु पनि धेरै लोप भइसके रे ।
प्यारो देश तिमीलाई मेहनतले सजाउनुपर्ने ठाउँमा बिगारेर मानिसहरु कुरुप बनाउँदैछन् । सम्झिदा दुःख लाग्छ । हामीले हाम्रा भावी सन्ततिका लागी प्रकृतिका सुन्दर उपहारहरु मासेर होइन, जोगाएर, सम्हालेर राखिदिनु पर्छ । कहिले फिर्ने हामीहरुमा यो चेतना ?
अन्तिममा ,
विदेशको रमझम अनि भौतिक सुख सुविधामा मेरो मन फिटिक्कै रम्न सक्दैन । फर्किएर आफ्नै देशको पाखा पखेरामा रमाउनु छ ।
मेरो खुशी मेरै धर्तीमा मात्रै छ, गएर त्यसलाई टिप्नु छ ।
सबैभन्दा ठूलो कुरा परदेश छोडेर चाँडै स्वदेश फर्कनु छ ।
हालः इजरायल















प्रतिक्रिया