मेरा धेरै मित्रहरु मध्ये उ अलि फरक छ । पैसा कमाएको छ । बजारमा धेरैले चिन्छन् यसअर्थमा ऊ सानोतिनो सेलिब्रेटी पनि हो । उसँग मान्छेलाई मन्त्रमुग्ध पार्ने किसिमले कुरा गर्ने कला पनि छ ।
हिजो उसले हतारिदै फोन गर्यो र भेट्ने समय माग्यो । छक्क परेँ, किनभने म उसको लागि सहज प्राप्य मान्छे हुँ । भेट्नै मन लागे उ सिधै घर पनि आउन सक्छ र अफिस पनि ।
‘म प्रेममा परेँ । के गर्ने होला ?’ कफी सपमा बस्ने वित्तिकै उसले कुरा सुरु गर्यो । हामी टेवलको दुईतिर आमने–सामने भएर बसेका थियौं ।
‘प्रेममा पर्नु कुन ठूलो कुरा हो र ? विशेष गरी तिमीजस्तो मान्छे । यो त धेरै राम्रो कुरा हो ।’ मैले सहज रुपमा भनेँ ।
‘तिमीले बुझेनौ अश्विनी, कुरा अलि फरक छ ।’ उसले साउतीको श्वरमा भन्यो ।
‘के कुरा ?’ उसको कुरा गम्भीर होला भन्ने मानिरहेको थिईंन ।
‘म अर्काकी श्रीमतीलाई प्रेम गर्छु ।’
अहो, कुरा गम्भीर नै रहेछ । तै पनि उसलाई सहज बनाउने हिसावले भनेँ, ‘आफ्नी श्रीमतीलाई त सबैले प्रेम गर्छन् । अर्काको श्रीमतीलाई प्रेम गर्न ठूलो हिम्मत चाहिन्छ । साहसको काम गरेछौ । बधाई छ ।’
उसले मलाई तिखो आँखाले हेर्यो । सायद कुरा मनपरेन ।
‘तिमी प्रेमको विषयमा लेख्छौ भनेर आएको तर तिमी पनि उही ड्याङ्को मूला रहेछौ । म समस्यामा छु तिमी मेरो प्रेमलाई मजाक बनाइरहेका छौं ।’ उ थोरै रिसायो ।
अब चुप लाग्नुको बिकल्प थिएन । त्यसपछि उसले आफ्नो कथा सुनायो । कसरी उ अर्काको श्रीमतीको प्रेममा पर्यो । कसरी कुरा अघि बढ्यो र अहिले उ कस्तो अवस्थामा छ…इत्यादि ।
(उसको प्रेम प्रसङ्ग सुन्दै गर्दा लाग्यो, यो कथा कतै लेख्नै पर्छ । तर अहिले उसको अघि छु र कुरा सुन्दैछु ।)
‘उनी आफ्नो लोग्नेलाई प्रेम गर्छिन् । तर म उसको लोग्नेले भन्दा बढि माया गर्छु । अब भन, मेरो प्रेम प्रकट गर्ने तरिका कस्तो हुनुपर्छ ?’
मैले धेरै सोचेर भनेँ, ‘तिमीलाई थाहा छ म पनि अर्काको श्रीमतीको प्रेममा छु । एक जना होइन, दुई जनासँग ।’
ऊ तीन छक्क पर्यो । कफि बोकेरै मेरो छेऊकै कुर्सीमा टाँसिदै भन्यो, ‘कसरी पर्यौ ? म मात्रै त्यस्तो होला भन्ठानेको त । को हुन् ति केटी ?’
‘राधा र पार्वती । सायद तिमी चिन्दैनौ होला ।’
उसले चिन्न सक्छु भनेझैं आँखीभौँ खुम्च्यायो । तर सकेन ।
अब ऊ मेरो कथा सुन्न लालायित थियो ।
‘तिमीलाई सबै कथा सुनाउन सक्तिन तर म उनीहरुलाई कसरी प्रेम गर्छु त्यो बताउन सक्छु, सायद तिमीलाई काम लाग्न सक्छ । सुन्न चाहन्छौ ?’
उसले हतारिएर मुन्टो हल्लायो ।
‘मेरी राधा कृष्णलाई प्रेम गर्छिन् । उनको प्रेमलाई म सम्मान गर्छु । हरेक विहान म राधाको तस्विरमा एउटा फूल चढाउँछु । मेरी अर्की प्रेमीकाले शिवसँग विहे गरेकी छिन् । जब उनीहरु एकठाउँ बसेको देख्छु, उनीहरुकोको अघि धूप बाल्छु । हरेक दिन पूजा कोठामा ती दुबै अर्काका श्रीमतीहरुलाई म पूजा गर्दै आएको छु ।’ मैले उसलाई गम्भीर भएर भने, ‘तिमीले पनि तिम्रो प्रेमीकालाई मैले जस्तै प्रेम गर्नुपर्छ, हृदयदेखि नै…।’
मैले उसलाई उपाय सुझाएको थिए तर ऊ रिसायो ।
(यो सामग्री अश्वनी कोइरालाको फेसबुकबाट लिइएको हो । )















प्रतिक्रिया