काठमाडौ, १५ चैत । कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई इटलीको भिसेञ्जास्थित सेन्टर फर एक्सिलेन्स फर स्ट्यावलिटी पुलिस युनिटमा संचालित एफपीयु कमाण्ड तथा स्टाफ कोर्ष (ट्रेनिङ अफ ट्रेनर्स)को समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भई सोमबार स्वदेश फर्किनु भएको छ ।
उक्त पुलिस युनिटमा विदेशी सुरक्षा निकायका प्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको यो पहिलो अवसर हो ।
महानिरीक्षक राई स्वदेश फर्किनुुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, प्रेमकुमार शाही र प्रकाश ओझा लगाएत सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।
महानिरीक्षक राईले इटलीको उक्त पुलिस युनिटमा संचालित एफपीयु कमाण्ड तथा स्टाफ कोर्ष (ट्रेनिङ अफ ट्रेनर्स), जेण्डर वेस भायलेन्स र मिलिटरी सिभिल पुलिस म्यानेजमेन्ट कोर्षका सहभागि ३२ राष्ट्रका एकसय भन्दा बढि प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई सम्बोधन गर्नुभएको थियो ।
सुडानको डार्फर मिसनमा सेक्टर कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह गर्नुका साथै विभिन्न तीन वटा युएन मिसनको अनुभव संहाल्नु भएका महानिरीक्षक राईले त्यस अवसरमा शान्ति मिसनका बारेमा आफ्नो अनुभव शेयर गर्नुका साथै हरेक देशका प्रशिक्षार्थी कमाण्डरहरुलाई प्रमुख अतिथिको रुपमा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो कार्यक्रममा सहभागी हुन महानिरीक्षक राई यही चैत्र ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँका साथमा सशस्त्र प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरी निरीक्षक गुञ्जन प्रताप मल्ल समेत सो कार्यक्रममा सहभागी हुनुभएको थियो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक खनालले त्यसअवसरमा उक्त तालिमका सहभागी प्रशिक्षार्थी प्रहरी अधिकृतहरुलाई आम्र्ड पुलिस फोर्स र युएन मिसनका बारेमा कक्षा संचालन समेत गर्नुभएको थियो ।
करीव ६ वर्ष अघि युएनको ग्लोवल भ्याकेन्सीमा पी फोर स्तरमा सुडानको डार्फरमा चीफ अफ अपरेशन तथा एफपीयु कोअर्डिनेटरको रुपमा जिम्मेवारी निर्वाह गर्नुभएका तथा विभिन्न चार वटा युएन मिसनमा कार्य गरेको अनुभव रहेका नायव महानिरीक्षक खनालले त्यस अवसरमा विभिन्न देशका प्रशिक्षार्थी अधिकृतहरु वीच आफ्नो अनुभव ‘शेयर’ गर्नुभएको थियो ।













प्रतिक्रिया