२८ आश्विन २०८३, बुधबार

भट्टराई–श्रेष्ठद्वारा विशेष महाधिवेशन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले ‘विचार र कार्यदिशाु बारे थप छलफल आवश्यक भएको भन्दै तत्काल विशेष महाधिवेशन माग गरेका छन्।

विराटनगरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा भट्टराई र श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन बदलिँदो परिस्थिति सुहाउँदो नभएको बताए। प्रतिवेदनको थप व्याख्या र विश्लेषण आवश्यक रहेको भन्दै उनीहरूले विशेष महाधिवेशन माग गरेका हुन्।

‘अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल भावनाप्रति दुवै नेता (भट्टराई र श्रेष्ठ) ले सहमति जनाए पनि त्यसलाई थप व्याख्या र विश्लेषण गर्न आवश्यक रहेको भनाइ राख्नुभयो,’ पूर्व स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले नागरिकसँग भने, ‘बाबुरामजीले तत्कालै र प्रकाश (श्रेष्ठ) जीले ०७२ सालभित्र विशेष महाधिवेशन डाकेर विचार र कार्यदिशालाई ठोस गर्नुपर्ने धारणा राख्नुभएको छ।’

उनका अनुसार दाहालको प्रतिवेदनको मूल भावनाप्रति दुवै नेताको सहमति भए पनि सो प्रतिवेदन अझै अमूर्त रहेको र त्यसले बदलिँदो समयलाई सम्बोधन गर्न नसकेको दुवै नेताको आरोप थियो।

बन्दसत्रको दोस्रो दिन समूहगत छलफल सकेर समूह नेताले बोल्नुअघि भट्टराई र श्रेष्ठले आ–आफ्नो धारणा सभाहलमा राख्ने क्रममा यस्तो माग राखेका हुन्।

त्यसअघि उपाध्यक्ष भट्टराईले समूहगत छलफलका लागि भन्दै वितरण गरेको सातबुँदे ‘फरक मतु मा लिखित रुपमै महाधिवेशन आवश्यक भएको उल्लेख गरेका थिए। ‘समग्र दस्तावेज पुरानैको निरन्तरता र सारसंग्रहवादी प्रकारको छ र यसले पार्टीको संकट वस्तुनिष्ठ ढंगले निराकरण गर्ने देखिँदैन,’ महाधिवेशनको आवश्यकताबारे भट्टराईले भनेका छन्, ‘त्यसैले विकसित विचार, राजनीतिक कार्यदिशा, संगठन, नेतृत्व प्रणाली र कार्यशैलीको समष्टिगत सेटमा नै पार्टीभित्र र बाहिर स्वस्थ बहस चलाउँदै यथाशीघ्र पार्टी महाधिवेशन आयोजना गर्न जरुरी छ।’
सम्मेलनअघि दुवै नेताले राष्ट्रिय सम्मेलनका सट्टा विशेष महाधिवेशन नै डाकेर संगठन र विचारको बहसलाई टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिँदै आएका थिए। नागरिक दैनिकबाट