केही वर्षअघिको कुरा हो । म पशुपति क्षेत्रको आर्यघाटमा मुर्दा जलाउने ठाउँको पारी पट्टी बागमती किनारमा बसेर शवहरु जलेको हेरिरहेको थिएँ । मनमनै गुन्दै थिएँ –‘भोलि मेरो अस्तित्व पनि यसरी नै धुवाँ र खरानी हुँदै विलीन हुनेछ । तर म अहिले आफ्ना आफन्तबाट टाढा रहेर महत्वाकांक्षाहरु पूरा गर्न काठमाडौंका गल्ली–गल्ली भौंतारिँदै छु । म किन यस्ता रहरहरु बोकर दुःख गर्दैछु ? आफ्नै ठाउँमा सानो तिनो व्यापार व्यवसाय गरेर बसेको भए पनि त हुने थियो । आखिर मरेर लाने त केही पनि रहेन छ ।’ यस्तै कुराहरु सोच्दै थिएँ, अचानक एउटा शव वहान आयो । त्यो शव बहानबाट एउटा ६-७ फिट लामो बाकस निकालियो । अचानक चर्को रुवाबासीसँगै भिडभाड जम्मा भयो ।
हुन त त्यहाँ अरु पनि शव थिए, अरु पनि मलामी थिए, रुवावासी त चलेकै थियो । तर मलाई अरुले भन्दा यो बाकसले आकर्षित ग¥यो र म हतार–हतार गरेर त्यहाँ गएँ । भिडमा छिरेर वाकसको छेउमै गएँ । वाकस खोलिएको थिएन । त्यसैले वाकस खोलेको हेर्न अनि पुरुष कि महिला, कहाँबाट, कसरी आदी प्रश्न मनमा खेलाउँदै नजिकैको एउटा फलामे बेञ्चमा बसेर अवलोकन गरिरहेको थिएँ । त्यहाँ एउटा ट्याक्सी आइपुग्यो, ट्याक्सीबाट एउटा ४-५ वर्षको बालक २०-२२ वर्षकी महिला अनि ६०-६५ वर्षकी बृद्धा आमालाई एक–एक जनाले समातेर बाहिर निकाले । उपस्थित त्यहाँका केही व्यक्तिहरु पनि उनीहरुलाई साहारा दिन लम्किए ।
‘नाई ! मेरो बाबालाई पोल्छ म लगाउँदिन !’ भन्दै मसाल त्यही फालेर चिताबाट तलतिर दगु-यो । यतिबेला जो अहिलेसम्म मन थामेर बसेका थिए सबै रोए । न मेरो नाता पर्ने न चिनेजानेको तर मै पनि ३ पटकसम्म आँशु रोक्न सकिनँ । अर्कै लाशका मलामीहरु पनि यो बालकको क्रियाकलापले यो लाशप्रति आँशु झार्न बाध्य भए ।
बाकस देखेर वृद्ध आमा जोडतोडले रुन थालिन् । एकछिन्मा उनलाई सास फेर्न गाह्रो भयो । हत्तपत्त उनले पोल्टोतिर हात हालिन् तर केही पनि निकालिनन् बरु उल्टै लखतरान परेर लामो–लामो सास लिँदै अर्ध मुुर्छित भइन् । अनि एउटी महिलाले उनको पोल्टोबाट केही झिकेर उनको मुखमा लगाई दिएपछि श्वास–प्रश्वास केही सन्तुलित भयो । तर शरीर शिथिल नै थियो । विचरी ! आमा दमको रोगी रहिछन् । छेउ छाउमा कुरा गरिरहेका महिलाका अनुसार ती वृद्धा आमाको बुढेसकालको सहारा भनेकै त्यही एक्लो छोरो रहेछ ।
उता २२ वर्षको कलिलो उमेरकी सुन्दर सुशील देखिने महिला जसलाई केही महिला र पुरुषले समाति रहेका थिए । उनी त्यस बाकसभित्र थुनिएका व्यक्तिकी श्रीमती रहिछन् । आफूलाई फुत्काउन प्रयास गर्दै बाकसतिर लम्किँदै थिइन् । अनुहार फुङ्ग उडेको थियो । आँखामा डरत्रास र शंका, उपशंका थियो । जो खबर उनले सुनेकी थिइन् । त्यो सत्य हुनै सक्दैन भन्दै– ‘यिनीहरु सबैले मलाई ढाँट्दै छन्, त्यो वाकसभित्र मेरो श्रीमान्को होइन अरु कसैको लाश हुनुपर्छ । मेरा श्रीमान्लाई कुनै किसिमको रोग पनि थिएन, कमजोर नि थिएनन्, कसरी मर्न सक्नुहुन्छ मेरो श्रीमान् ? मलाई पहिला हेर्न दिनोस् अनि मात्र म पत्याउँछु ।’ भन्दै घरी–घरी बाकसतिर सबैलाई घिसार्न खोज्छिन् । उनको आँखाबाट आँसु पनि खसेको थिएन । उनी रुन पनि सकेकी थिइनन् र हरेक व्यक्तिलाई च्यातेर चिथरुला झंै गरेर हेर्दै थिइन् । ओठमुख त्यसै सुक्दै थियो । नजिकै एउटा ४-५ वर्षको बालक थियो जसलाई एक जना महिलाले सुमसुम्याउँदै थिइन् भने अरु व्यक्ति टिठालु आँखाले हेर्दै थिए । अघि डराएको जस्तो केही नबुझेर अन्योलमा रहेको बालक एकाएक बोल्न थाल्यो । फटाफट प्रश्नमाथि प्रश्न गर्न थाल्यो । त्यी महिलाको मुखमा हेरेर भन्दै थियो –‘आन्टी त्यो बाकसमा के छ ? हाम्रो बाबालाई ल्याको छ भन्थे नि… तर हाम्रो बाबा त आउनु भा’छैन । त्यो बाकस हाम्रो बाबाले पठाउनु भाको हो ?’
हजारौं युवायुवती विदेशमा जेलभित्र झुठ्ठा मुद्दामा थुनिनु, काम गरेको तलब समेत नपाएर रित्तो हात फर्कन बाध्य छन् । त्यसैगरी हजारांैको संख्यामा चेलिबेटीहरु विदेशी भूमिमा बलात्कृत भएर बाँच्नु परिरहेको विडम्वनाले पनि वर्तमान सरकारले आफ्ना नागरिकहरुको सुरक्षाप्रति पटक्कै चासो नदिएको प्रष्ट हुन्छ । विश्व सामु सगरमाथा र बुद्धका नाउँले चिनिने देश अहिले सबैभन्दा सस्तो मजदुर जन्माउने देश भनेर चिनिन थालेको छ ।
ती महिलालाई त्यो बालकले सोधेको प्रश्नले आँखा रसाउन थाल्यो । उत्तर थिएन । त्यसैले उनी टाउको मात्र हल्लाएर हो, होइन भन्दै उत्तर दिँदै थिइन् । बच्चा फेरि कुरा गर्न थाल्छ । ‘आन्टी हजुरलाई थाहा छ ? हाम्रो बाबा (हातको इसारा गर्दै) शु इई…… गर्ने मा…. थि आकाशमा उड्ने प्लेन हुन्छ नि, हो त्यसमा चढेर धेरै टाढा जानुभा’छ । त्यहाँ धेरै पैसा पाइन्छ अले ! अनि मम्मीलाई, मलाई, हजुर आमालाई राम्रो–राम्रो कपडा ल्याइ दिने अले ! मलाई त मुवाइल पनि ल्यादिने हो । आन्टी त्यो बाकसमा हेलम्न के–के पठाउनु भा’छ बाबाले ?’ ती महिलाले आफूलाई थाम्न नसकेर त्यो बालकलाई घ¥याप्प अंगालो मारेर टाउकोमा सुमसुम्याउँदै आँशु झार्छिन फेरि आफ्नो आँशु पुछ्दै सम्हालिएर बस्छिन ।
त्यही बेला उता बाकस खोल्न सुरु हुन्छ । बालकले पनि देख्छ र फेरि भन्छ– ‘आन्टी बाकस खोल्न लागे (हात तान्दै), आन्टी जाउँ हेरौं बाबाले के–के पथाउनु भा’को छ ।’ ती महिलाले उसलाई रोक्छिन् बालकले अलमल्ल परेर महिलाको मुहारमा हेर्छ अनि बाकसतिर एकोहोरो हेरिरहन्छ । एकै छिनमा बाकसबाट लाश निकालिन्छ । बालकले त्यो दृश्य देख्न साथ आश्चर्य मान्दै आन्टीलाई कोट्याउँदै त्यसतिर इशारा गर्दै भन्छ– ‘आन्टी बाबा त प्लेनमा आउनुपर्ने होइन र किन बाकसमा सुतेर आउनु भा’को ?’ ती महिलाले आँखाबाट आँशु झार्दै मुख छोपेर घुक्क–घुक्क रुनुबाहेक अरु केही भन्न सकिनन् । उता वृद्धा आमा छोराको लाश देखेर अर्धमुर्छित भइन् भने २२ वर्षीय श्रीमती आफ्नो श्रीमान्को लाश देखर पशुपति नै थर्कमान् पारेर रुँदै बेहोस भइन् । दाँत बाँधिए, कसैले दाँत खोले, कसैले पानी छ्यापे, कसैले पानी खुवाए, कसैले उनीहरुको शिथिल शरीरलाई सहारा दिँदै समाति रहे । यता अबोध बालक केही बुझ्न नसकेर एकोहोरो प्रश्न मात्र गरिरहन्थ्यो– ‘आन्टी बाबालाई के भएको हो ? बाबा निदाउँनु भा’को हो ? किन आमा र हजुरआमा अनि हजुरहरु रुनु भा’को हो ?’ उसको प्रश्नको उत्तर कसैले पनि दिएको छैन । सबै रुँदै आफ्नो–आफ्नो काम गरिरहेका थिए । लाशलाई चितामाथि राखियो लाशमाथि दाउरा राखियो फेरि बालकले प्रश्न ग-यो– ‘आन्टी यस्तो किन गरेका, मेरो बाबाको अनुहारमाथि पनि किन दाउरा राखेको ? मेरो बाबालाई दुख्दैन ? यस्तो गर्दा पनि बाबा किन नउठ्नु भा’को ?’ ती महिलाले फेरि अंगालो मारेर रोइन् । केही छिनमै दाहसंस्कारको काम सुरु भयो पण्डितद्वारा के–के रित पु-याइएपछि बालकलाई हातमा मसाल दिइयो । एकजना आफन्तले हो या पण्डित कसले हो डो¥याएर चिता वरिवरी घुमाउँदै भन्यो ‘ल बाबु आगो लगाऊ !’ बालकले झर्किंदै तीखो आवाजमा– ‘नाई ! मेरो बाबालाई पोल्छ म लगाउँदिन !’ भन्दै मसाल त्यही फालेर चिताबाट तलतिर दगु-यो । यतिबेला जो अहिलेसम्म मन थामेर बसेका थिए सबै रोए । न मेरो नाता पर्ने न चिनेजानेको तर मै पनि ३ पटकसम्म आँशु रोक्न सकिनँ । अर्कै लाशका मलामीहरु पनि यो बालकको क्रियाकलापले यो लाशप्रति आँशु झार्न बाध्य भए ।
यस्तो हृदय विदारक दृष्य मैले कहिल्यै पनि देखेको थिइनँ । २५ वर्षको लक्का जवान यो उमेरमा आफ्नो देशभित्र आय आर्जनको केही उपाय नलागेपछि घर खर्च चलाउन, बुढी आमाको दवाई खर्च, श्रीमतीको राम्रो लाउने मीठो खाने रहर पूरा गर्न, छोराको सुन्दर भविष्यको कल्पना गरेर धेरै पैसा कमाउने रहरले जहाज चढेर विदेश गएको मान्छे बाकसमा प्याकिङ भएर स्वदेश फर्किएको थियो ।
असार पन्ध्रको बेला आफ्नो खेत जोत्न छाडेर साहुको खेत जोत्न हिँडेको किसान झंै देश निर्माणको विशाल अभियानमा जुट्नु पर्ने बलिष्ट पाखुराहरु आज विदेशिएका छन् । एउटा सानो बालक अव डाक्टर, इन्जिनियर र पाइलट हुने सपना छाडेर, अठार वर्ष उमेर पुगेपछि पासपोर्ट बनाउँछु अनि विदेश गएर पैसा कमाउँछु भन्ने सपना देख्छ । एउटा युवा विदेश गएर आफ्नो घरको गरिबी हटाएर बृद्ध आमा, जवान श्रीमती र लालावालाको इच्छा पूरा गरिदिने र एकचोटी विदेश घुम्ने मनको रहर धित मर्ने गरी पूरा गर्ने लालसा राख्छ ।
सरकार हरेक वर्ष विदेशबाट भित्रिरहेको रेमिट्यान्स बढ्दै गएकोमा आफू सफल र सार्थक भएको दाबी गर्छ । बेरोजगारी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको डिङ्ग हाँक्छ । देशमा रोजगारीको सिर्जना गर्नुभन्दा पनि बेरोजगार युवालाई मलेशिया र खाडीलगायत अन्य देशमा धेरै भन्दा धेरै कसरी पठाउने भन्ने कुरामा सरकार इन्ट्रेष्टेड छ । यो कुरा सरकारको पछिल्लो कदम फ्रि भिसा र फ्रि प्लेन टिकटको नयाँ नियमले पुष्टि गर्छ । फ्रि भिसा र फ्रि प्लेन टिकट सुन्दा राम्रो छ । तर गाउँमा मलामी र जन्ती नपाउने वातावरण सरकार बनाउँदै छ । तर युवालार्ई विदेश पठाएर रेमिट्यान्स भित्र्याउनमा सरकार जति इन्ट्रेष्टेड छ, उनीहरुको सुरक्षा र सुविधाको ग्यारेण्टी गर्ने सन्दर्भमा उत्तिनै उदासिन देखिन्छ । हजारौं युवायुवती विदेशमा जेलभित्र झुठ्ठा मुद्दामा थुनिनु, काम गरेको तलब समेत नपाएर रित्तो हात फर्कन बाध्य छन् । त्यसैगरी हजारांैको संख्यामा चेलिबेटीहरु विदेशी भूमिमा बलात्कृत भएर बाँच्नु परिरहेको विडम्वनाले पनि वर्तमान सरकारले आफ्ना नागरिकहरुको सुरक्षाप्रति पटक्कै चासो नदिएको प्रष्ट हुन्छ । विश्व सामु सगरमाथा र बुद्धका नाउँले चिनिने देश अहिले सबैभन्दा सस्तो मजदुर जन्माउने देश भनेर चिनिन थालेको छ । तर सरकार रेमिट्यान्स भित्रिएकोमा चर्चा गर्दै मख्ख छ ।
विदेशी भूमीबाट रेमिट्यान्स मात्र हैन उम्दा युवायुवतीहरुको लाश पनि भित्रिरहेकोप्रति किन सरकारको त्यतातिर ध्यान जाँदैन ? दिनहुँ विदेशबाट लाशहरु ंआउने क्रम रोकिएकै छैन । तर पनि सरकारको टालटुले नीति, बैदेशिक रोजगार सम्बन्धी फितलो ऐन कानून, नागरिकको सुरक्षा र सुबिधा बहाल गर्न अपर्याप्त छ भन्ने जान्दा जान्दै पनि यसतर्फ प्रभावकारी कदम नचाल्नुले सरकारले आफ्नो नागरिकको सुरक्षाप्रति संवेदनशील नरहेको थप प्रष्ट हुन्छ ।
माथि उल्लेख गरिएको कथामा जस्तै अहिले नेपालमा कयौं घर बिरक्तिएका छन् । आखिर यसको सिलसिला कैलेसम्म चलिरहने ? यसको उत्तर जनताले कोसँग सोध्ने ? वर्षेनी लाखौं उर्जावान युवा युवतीलाई विदेश जानलाई होइन स्वदेशमै केही गर्न प्रेरित गरौं । त्यसपछि न त सस्तो र कठिन कामको लागि जहाजमा नै जानुपर्छ न त बाकसमा नै फर्किनुपर्छ ।
– पुनर्वास, कञ्चनपुर















प्रतिक्रिया