वाशिंटन डिसी । नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशिको ८०औं जन्म जयन्ती अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा मनाइएको छ ।
सो अवसरमा नेपाली दूतावासका इकोनामिक काउन्सिलर कैलाशराज पोखरेलले प्रमुख अतिथिको आसनवाट वोल्दै साहित्यकार वासु शशिको जन्म जयन्तीका अवसरमा आफू सँलग्न हुन पाएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै वासु शशिको चिनारी नयाँ पुस्तालाई दिन तथा उहाँको योगदान प्रकाश पार्न कार्यक्रम सफल भएको बताउनु भयो ।
वासु शशिको तस्विमा फूलमाला अर्पण गरी शुरु गरिएको सो समारोहमा वासु शशिको जीवनको अन्तिम २ वर्ष उहाँको लेखन कर्ममा सहयोग पुगाउने साहित्यकार शिव लामिछानेले अन्तरँग संस्मरण तथा वासु शशिमाथि रचना गर्नु भएको कविता वाचन समेत गर्नु भएको थियो ।
समारोहमा साहित्यकार कृष्ण धरावासीले वासु शशिको रचनाकर्म र रचनाहरुको वारेमा प्रकाश पार्नु भएको थियो भने साहित्यकार सीता पाण्डे, डि वी तामाँग, वसुधा नेपालले मन्तव्यसहित वासु शशिको कविता वाचन गर्नु भएको थियो ।
सो अवसरमा साहित्यकार कविताराम श्रेष्ठ तथा कवि गीतकार ज्ञानेन्द्र गदाललाई वासु शशि स्मृति सम्मान प्रदान गरिएको थियो ।
सम्मान ग्रहण पश्चात् साहित्यकार तथा अस्वीकृत साहित्य आन्दोलनका अगुवा तथा अस्वीकृत साहित्य पुरस्कारका संस्थापक कविताराम श्रेष्ठले सम्मान प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै वासु शशिसँगका साहित्यिक सँगत र सहकर्मका रोचक प्रसँगहरु प्रस्तुत गर्नु भएको थियो ।
कवि गीतकार तथा अनेसासका पूर्व केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले साहित्यकार वासु शशीको योगदानको चर्चा गर्दै आधुनिक साहित्यकारको जन्म जयन्ती मनाउने परम्पराको शुरुवात गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो ।















प्रतिक्रिया