२८ आश्विन २०८३, बुधबार

न्यायाधीश नियुक्ति सिफारिस,आठ नामविरुद्ध अठार उजुरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biccकाठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदद्वारा सिफारिस आठ नाममा १८ उजुरी परेका छन्। संसदीय सुनुवाइ विशेष समितिमा परेका ती उजुरीमा बहुविवाह गरेको, स्वकीय सचिवको तलब आफैं खाइदिएको, लागुऔषध कारोबारीलाई छुटाएको लगायत छन्।

परिषदद्वारा सिफारिस नाम संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशबाट नियुक्त गर्ने प्रावधान छ।
समितिले शनिबारसम्म उजुरी गर्न सकिने सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिमा १० वटा पत्र, ७ वटा इमेल र एउटा फोनबाट उजुरी परेको हो।

न्यायपरिषदले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मालाई स्थायी न्यायाधीश बनाउन सिफारिस गरेको थियो।

उजुरीमध्ये सबैभन्दा धेरै पराजुलीमाथि सातवटा छन्। राणाविरुद्ध ६, वैद्यनाथ उपाध्यायविरुद्ध ४, जोशीविरुद्ध २, उपाध्यायविरुद्ध २, मिश्रविरुद्ध १, श्रेष्ठ विरुद्ध १, जगदीशविरुद्ध २ वटा उजुरी परेका छन्। एउटै व्यक्तिले दुईजनाविरुद्ध पनि उजुरी दिएको संसद सचिवालयका सहसचिव धु्रव घिमिरेले जानकारी दिए।

उपाध्यायविरुद्ध कानुनको गलत व्याख्या गरी बन्दी प्रत्यक्षीकरणबाट कैदी छाडेको, निर्णयक्षमता कमजोर भएको, पराजुलीविरुद्ध बर्दिया कारागार निरीक्षणका नाममा अपराधी छुटाउन सहयोग गरेको, जालसाजी मुद्दामा गलत निर्णय गरेको लगायत उजुरी परेका छन्। यस्तै राणाविरुद्ध लागुऔषध कारोबारीलाई छाडिदिएको, इलाममा न्यायाधीश भएका बेला कारबाहीका लागि न्यायपरिषदमा सिफारिस भएको, म्यारिज खेल्न सकिने फैसला गरेको लगायत उजुरी परेका छन्।

सुनुवाइ समितिको आन्तरिक बैठक बसेर उनीहरुलाई सुनुवाइका लागि बोलाउने सहसचिव घिमिरेले जानकारी दिए। समितिले त्यसअघि उजुरीबारे सूक्ष्म अध्ययन गरी उजुरीकर्तासँग पनि छलफल गर्नेछ। उजुरीकर्ता छलफलका लागि नआए पनि समितिले सुनुवाइ अघि बढाउने कार्यसूची छ। नागरिक दैनिकबाट