२९ आश्विन २०८३, बिहिबार

हाम्रो शिक्षाको दुर्दशा…न सिकायो संस्कृति, न देखायो भोलिको बाटो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhyanath-Koirala

पढाइको सन्दर्भ

के पढ्ने ? कसरी पढ्ने ? किन पढ्ने ? यी त्रयी प्रश्न हुन् । नेपाली बालबालिकाले घर पढे । खेती पढे । जिन्दगी पढे । तर पढाउनेहरूले किताब पढायौँ । किताब र बालबालिकाको पढाइबीच सम्बन्ध राखेनौँ । देखाएनौँ । हाम्रो शैक्षिक संस्कारले बालबालिकाले बुझे कि पढाइ छुट्टै हो । पढ्ने चिज छुट्टै हो । यी दुईमा सम्बन्ध छैन । हुँदैन । किन त्यसो भयो ? उत्तर सामान्य छ । शिक्षक ‘योजक’ बनेनौँ । बनाइएनौँ । यो ‘एटोले’ बुद्धिले हाम्रा बालबालिकाले पढेनन् । पढ्नै जानेनन् ।

किताब कस्ता बने ? अर्को यक्ष प्रश्न हो । रमाइलो । मनोवैज्ञानिकवालाले त्यही भने । विज्ञहरूले त्यही भन्यौँ । तर बालबालिकाले पढेको जिन्दगीले त्यसो भनेन । उनको मौन बोली रह्यो— ताराबाजी लैलैले के गर्नु ? चौधरीको कथाले के गर्नु ? पहिलोले उफा¥यो । दोस्रोले उत्साहित बनायो । तर दुवै खाले किताबले जिन्दगी जोडेन । धान रोप्ताको मजामा वनस्पतिशास्त्रका कुरा सिकेन । प्राणीशास्त्र देखेन । जग नै बसेन । ठुलो कक्षामा पुग्दा शब्द सिक्यो । प्राणीशास्त्र । वनस्पतिशास्त्र । भोग्यो बाल्यकालमा । पढ्यौँ युवाकालमा । दुवै कालमा जोडेन । त्यस्ता किताब छापेर के ग¥यौँ हामीले ? गेडोहीन मनोवैज्ञानिकलाई राम्रै भयो । जगहीन विज्ञलाई असलै भयो । तर बालबालिकालाई चाहिँ फेरि पनि जिन्दगी र पढाइ छुट्ट्यिो । जिन्दगीमा पढाइ हुन्छ र पढाइमा जिन्दगी हुन्छ भन्ने मूलभूत कुरा गुम्यो ।

पढ्ने दिनहरू बर्सेनी घटे । शिक्षा विभागको तथ्याङ्कले भन्छ— सन् २००८ मा १८९ दिन पढाइ भयो । सन् २००९ मा १८७ दिन । सन् २०१० मा १८४ दिन । सन् २०११ मा १८१ दिन । यो तथ्याङ्कले अर्को पीडा थप्यो । छुट्ट्याएर पढाउने शिक्षकका दिन पनि घटे । विद्यार्थीले किताब पल्टाउने दिन पनि घटे । किनकि कामकाजी विद्यार्थीले काममा बढी पढ्छन् । किताबमा कम पढ्छन् । तर काममा किताबको कुरा पढाउने अभिभावक छैनौँ । किताबमा कामको कुरा जोड्ने शिक्षक छैनौँ । दुइटा छैनौँहरूले पढाइ र जिन्दगीको सम्बन्ध विच्छेद गरेका छौँ । यो विच्छेदमा घट्तो पढाइको दिनले राम्रो योगदान दिएको छ । नकारात्मक योगदान । शिक्षा विभागकै तथ्याङ्कमा भर पर्दा विद्यार्थीका हाजिरी दिन बढेका छन् । इआरोको हालैको प्रतिवेदन हेर्दा पढ्ने आदत घटेकै छन् । शैक्षिक जनशक्ति विकास केन्द्रको अनुसन्धानले पनि त्यसै भन्छ । बालसाहित्य प्रकाशनका आँकडाले सोही कुरा भन्छन् ।

सन्दर्भको संस्कृति

पढ्ने अक्षर रहेछन् । अक्षरहरू दैनिक जीवनमा पुगेछन् । चाउचाउको खोलमा । औषधिको सिसीमा । नुनको प्याकेटमा । पत्रपत्रिकको स्तम्भमा । बिचरा शिक्षक । पढाउने बेलामा किताबै खोज्दा रहेछौँ । बिचरा अभिभावक । किताब नै पल्टाउन बाध्य गर्दा रहेछौँ । चाउचाउको खोलबाट विज्ञान पढाउने शिक्षक कसले तयार पार्ने ? औषधिको सिसीमा गणित र समाजशास्त्र पढाउने तर्किव कसले दिने ? नुनको प्याकेटमा अर्थशास्त्र पढाउने सोच कसले दिने ? पत्रपत्रिकाको स्तम्भबाटै पूरा किताब पढ्न प्रेरित गर्ने तालिम कहिले दिने ? अनि यस्ता कुराबाट पुस्तक छाप्ने छपाउने, लेख्ने र लेखाउने बुद्धि शिक्षा विभाग र रुम टु रिड जस्ता संस्थालाई कसले भनिदिने ? बिचरा सल्लाहकारहरू । अरू विचराहरू ।

पुलेसोमा कि आधारमा विश्वास गर्ने ? भाषाको कि भाषाहरूको कुरा गर्ने ? राजनीतिक भाषिक खेलाडीको, भाषाविद्को, शिक्षाविद्को वा बालबालिकाको समस्या हेर्ने ? देशको हैसियतमा कि दाताको परियोजनामा काम गर्ने ? संस्कार सापेक्ष कि निरपेक्ष भएर काम गर्ने ? यी र यस्तै प्रश्न तथा तिनका लागि चाहिने नेपालीकै अनुभूतिजन्य उत्तर यो लेखमा छ ।

सञ्चारको विकास भयो । बालबालिकालाई रेडियोले पढायो । टेलिभिजन र मोबाइले पढायो । हिजो काममा पढ्ने बालबालिकालाई अहिले सर्वचिजले पढाउँछन् । उपभोग्य सामग्रीले । ती सामग्रीलाई पढ्न उत्प्रेरक बनाउने तर्किव दिने को ? रेडियोले यो सुनायो । जिन्दगीले यो सिकायो । दुधको प्याकेटले यो पढायो । तिम्रो नयाँ विचार के हो भनी दिने को हो ? लेखिदिने को हो ? छापिदिने को हो ?

अक्षरहरू थरीथरीका भएछन् । देवनागरी । मिथिलाक्षर । सम्भोटा । उर्दु । उर्दुको अलिफ । देवनागरीको पूर्णविराम हो । अङ्ग्रेजीको आई हो । यस्तो भनिदिने को ? सम्भोटाको ‘क’ मा अन्तिम धर्को झिके देवनागरीको ग हुन्छ । देवनागरीको ‘ग’मा अन्तिम धर्को झिके अङ्ग्रेजीको जे हुन्छ । यो राजका कुराहरू सिकाइदिने को ? यस्ता किताब छाप्ने र छपाउने शिक्षा विभाग र रुम टु रिड हुन सक्लान् र ? भाषाविद् र राजनीतिज्ञ र दाताको चङ्गुलमा फस्नेहरूले पढ्ने सामग्री देलान् र ? एकअर्काको भाषा पढ्ने सामग्री । एउटा भाषासँग अर्को भाषा जोड्ने पुलेसो आधार (bridge foundation) को संस्कृति बनाउने सोच कतै बनाउलान् र ? बालबालिकाले बनाउने बहुभाषी शब्दावली बनाउलान् र ? वाक्यावली बनाउलान् र ? सञ्चारवली लेख्लान् र ? बहुभाषिक पाठ्यसामग्री । अन्तरभाषी पाठ्यसामग्री ।

सित्तैँ पाए चुक पिउने । यो हाम्रो सांस्कृतिक सम्पदा हो । यो सम्पदाले किताब किनाएन । माग्ने बनायो । जोगीले जस्तो माग्दा नियमित पाइने संस्कृति पनि बनेन । परियोजनावालाले कोटा संस्कृति अपनाए । डाडु दिएर खडकुलो तान्ने संस्कृति बोके । यी कोटे र बोके संस्कृतिले सित्तैमा चुक पिउने सास्ंकृतिक सम्पदा भत्काएन । किताब नपाउँदा के गरी पढ्ने भन्ने दृष्टिकोण ल्याएन । वातावरणलाई अक्षरमय बनाउने दृष्टिकोण । प्रत्येक साता ती अक्षरहरू बदलिदिने दृष्टिकोण । त्यसो गर्दा पहाडी ढुङ्गा किताब हुन्थे । रुख किताब हुन्थे । मधेसका घरका भित्ता किताब हुन्थे । फेरिने किताब । यी किताबका लेखक स्थानीय युवा हुन्थे । युवा स्वरोजगारी अभियान । स्वयंसेवी युवा । सेवा निवृत्त व्यक्ति हुन्थे । यो कुरा शिक्षा विभाग र रुम टु रिडले सिक्लान् र ? रुख काटेर कागज बनाउनेलाई सघाउने बानी बदलिएला र ? ठेक्कापट्टामा किताब बनाउने संस्कार बदलिएला र ? ढुवानीमै दिन बिताउने आदत हट्ला र ? कर्पोरेट बुद्धिकै फोटोकपी गर्ने संस्कारमा सर्जक बुद्धि जोडिएला र ? नवीन सोच भित्र्याउने संस्कृतिको सुरुआत होला र ?

विडम्बनाको रहर

पढ्ने बानी भएन । विदेशीले त्यसै भन्यो । शिक्षा विभागले विदेशी विज्ञ भित्र्यायो । अध्ययनहरू भए । नतिजा आयो हो रहेछ । विदेशी यात्रामा पढ्छन् । मोटरमा । हवाइजहाजमा । रेलमा । हामी पैदल यात्रा गर्छौं । पैदल यात्रीले पढ्ने बोल्ने किताब बनाउन्नौँ । व्यापकता दिन्नौँ । सवारी साधनमा यात्रा गर्दै पढ्ने हाम्रा बाटाघाटा छैनन् । त्यसैले मेडिकल डाक्टर भन्छन् नपढ्नु नै राम्रो । आँखामा जोड पर्छ । घाँस काट्ता पढ्ने किताब छ र ? छैन । अर्थात्् दैनन्दिनीसँग किताब बनाउने सोच छ र ? त्यसो भए पढ्ने कसरी ? यात्रामा पढ्नै मिलेन । फुर्सद जिन्दगीमै भएन । काममै पढ्नेखाले किताब बनाउने चिन्तन शिक्ष विभाग र रुम टु रिडले बनाउलान् र ? भाँडा माझ्दा पढ्ने किताब । पानी बोक्ता पढ्ने किताब । तब न पढ्ने बानी हुन्छ । नत्र पढ्ने कति बेला ? बानी नभएको हो र ? पढ्ने के ? जिन्दगीसँग मिल्ने किताब बनाउने सोच कतै छ र ? किताब बनायो । बनाएका किताब पढे पढेनन् भनी अध्ययन ग¥यो । बस त्यतिमै हामी घुमेका हैनौँ र ? शिक्षा विभाग तथा रुम टु रिड यहाँ भन्दा भिन्न छन् र ? बालबालिकाको पढाइका कुरा गर्नेहरूको योभन्दा भिन्न सोच छ र ?

पढ्छन् कसरी ? अध्ययन थालिएको छ । परियोजना चल्न थालेका छन् । रमाइलो । बिचरा विदेशीलाई के थाहा— हामी नेपाली मौखिक संस्कृतिका हौँ भनेर । पढेकाले पनि ए दाइ ! ए दिदी ! बाटो कता हो भनी सोध्छौँ भनेर । स्वदेशी विज्ञलाई के मतलब ! टिओआरमा काम गर्ने न हो । टिओआर कर्पोरेटकै बुद्धिमा चल्नेले बनाउने न हौँ । परिणामतः मौखिक संस्कृतिमा बोलेका कुरा सुन्न सिकाए के हुने ? लेख्ने तागत भएका बालबालिकालाई सुनेर लेख्न लगाए के हुने ? वेदव्यासले भन्ने र गणेशले लेख्ने संस्कारलाई कक्षाकोठामा लगे के हुने ? एउटाले बोल्छ । अर्कोले लेख्छ । लेखेको कुरा टाइप गरिदिए के हुने ? लेखोट नै अर्को बालबालिकालार्ई पढ्न लगाए के हुने ? बोलाइ विकास भयो । सुनाइ विकास भयो । लेखाइ सिप भयो । पढाइ भयो । रहर लागे बालबालिकाको मौखिक किताब शिक्षा विभाग र रुम टु रिडले छपाए के हुने ? कुन सल्लाहकारले भनिदिने ? दाम नआउने । काम हुने कुराको सल्लाह ।

नेपाल बहुलताको देश हो । सबैले यसै भन्यौँ । मौखिक संस्कृतिको ठाउँ रे । स्वर मिलायौँ । बहुसंस्कृतिका लिखित कथाहरू खै त ? बालबालिकाले लेखेका । तिनका अभिभावकले लेखेका । यो काम त सबै स्कुलले गर्न सक्थे । शिक्षा विभाग र रुम टु रिडहरूले किन नगरेका ? नगराएका ? सायद बहुलता कसैको खेती होला । बहुभाषीका कार्यशाला जस्ता । तिनका गोष्ठी जस्ता । उखान टुक्काको शब्दावलीमा भन्दा कुरो ग¥यो, कुरैको दुःख ।

Bidhyanath-Koirala1

निचोड

हामी सम्भावनाहरूमा छौँ । काम एकल सोचमा ग¥यौँ । एकसाथ अरू सोचको परीक्षण गरौँ । पहिलो निचोड यही हो ।
हामी मौखिक संस्कृतिका हौँ । त्यसैलाई लिखत गरौँ । सुनत गरौँ (सुन्ने किताब) । किताबहरू बन्छन्् । दोस्रो निचोड यही हो ।
हामी किताब किन्न नसक्ने छौँ । सित्तैँ पाए नुनढिकी चाट्छौँ । त्यसैले ढुङ्गे किताब लेखौँ । भित्ते किताब लेखौँ । रुखे किताब लेखौँ । हप्तैपिच्छे लेखाइ फेर्ने बुद्धि गरौँ । तेस्रो निचोड हो यो ।

हामी बहुलिपिका धनी छौँ । लिप्यान्तरी किताब लेखौँ । तानेर मूल भाषामा लाने किताब । भाषैपिच्छे किताब लेख्न तिनै भाषाप्रेमीलाई लगाऔँ । हामी बहुभाषी हौँ । चार मूल भाषा समूहका व्यक्तिहरू । प्राज्ञिक भनिने भाषाविद्हरूलाई अन्तर्भाषी लिपि बनाउन लगाऔँ । जापानीले चिनियाँ पढे जस्तो । चिनियाँले कोरियन पढे जस्तो । थोरै बुझ्ला । ठिकै छ । बुझ्न कोसिस ग¥यो । रमाऔँ । चौथो निचोड हो यो ।
हामीसँग बाल पुस्तकहरू छन् । तिनको लेखाजोखा गरौँ । तिनको नयाँ संस्करणमा बालबालिकाको कामसँग जोडौँ । काममै सिक्ने । सिक्तै काम गर्ने बुद्धि बनाऔँ । पाँचौँ निचोड हो यो । के पढ्ने ? कसरी पढ्ने ? किन पढ्ने ? किन पढ्छन् ? किन पढ्दैनन् ? कसरी पढ्छन् ? के पढ्छन् ? जस्ता कुरामा समय र बुद्धि नखर्चिऔँ । बरु थरीथरीका किताब बनाऔँ । सुन्ने किताब । पढ्ने किताब । हेर्ने किताब । हेर्ने र लेख्ने किताब (आइप्याडमा जस्तो) । बोल्ने किताब । हाँस्ने किताब । हँसाउने किताब । यो पाँचौँ निचोड हो । बाटो अब्बडखब्बड छ । बाटो सुहाउँदा रिल सहितका किताब बनाऔँ । चस्मे किताब । यो छैठौँ निचोड हो ।

हामीसँग बग्रेल्ती पढ्ने अक्षरहरू छन् । नेपालीका । अङ्ग्रेजीका । हिन्दीका । प्लास्टिकको बोतल । युवायुवतीको टीसर्ट । औषधिका सिसी । चकलेटको खोल । यस्ता कुराबाट पाठमा जोड्ने सामग्री बनाऔँ । सातौँ निचोड हो यो ।

सञ्चार क्षेत्र उन्नत भयो । त्यसबाटै पढ्न लगाउने कार्यक्रम थालौँ । यो कुरा फलानो पाठमा हेर । फलानो किताबमा हेर । फलानो औषधिको बिर्कोमा हेर । फलानो पसलमा हेर । ट्रकको पछाडि हेर । यो पनि सातौँ निचोड नै हो ।

शिक्षकहरू टुक्रे छौँ । पाठ्यपुस्तक पढ्नेहरू । पढाउनेहरू । तिनलाई तालिम दिने टुक्रे छौँ । टुक्राहरू जोड्ने व्यावसायिक तर्किब कतै छैन । शैक्षिक सामग्री सजाउँछौँ । पढाउँदा जोड्दैनौँ । पुस्तकालयमा पुस्तक पढ्न लगाउँछौँ । जाँचमा सोध्दैनौँ । यस्ता टुक्राहरू जोड्ने कलाको भरपुर उपयोग गरौँ । नत्र सुन्ने संस्कृतिले पढ्दैन । सोध्दछ । पढ्ने संस्कृति फेरि पनि केहीको हुन्छ । सबैको हुन्न । यो कुरा शिक्षकले बुझौँ । यो आठौँ निचोड हो ।

अध्ययनहरू (Persons, 2013; Early reading strategy, Onterio, 2013; Roskos, 2009; Haywoode, nd) भन्छन् कक्षाकोठाको भाषा समूह हेर । तिनका अक्षर गन । पहिलो भाषाको तागत हेर (literacy development) । दोस्रो भाषामा जोड्ने र छोड्ने ठाउँ खोज (literacy in second language) । हाम्रा शिक्षकलाई यस्तो दीक्षा दिऊँ । नवौँ निचोड हो यो ।

सबैको चाहना हो पढ्नेले छिटो पढोस्, पढेको बुझोस्, पढ्न जाँगर लगाओस् । यसको अर्थ हो शिक्षकले प्रत्येक बालबालिकाले घरमा बोल्ने भाषामा उसको दख्खल थाहा पाओस् । पूर्वज्ञान थाहा पाओस् । भाषिक अनुभव थाहा पाओस् । अङ्ग्रेजीका ४४ वटा ध्वनि छन् फ्रेन्चका ३६ वटा भनेजस्तो नेपाली कक्षाकोठामा भएका सबै भाषाको नालीबेली थाहा पाओस् । ब्लुमले भनेजस्तो भाषिक सिकाइको तह (higher and/or lower order skill of the child) थाहा पाओस् । सस्वर पढ्ने, मिलेर पढ्ने, निर्देशित भएर पढ्ने, बोध सहित पढ्ने र स्वतन्त्र रूपले पढ्ने कुन खालका बालबालिका छन् भन्ने कुरा थाहा पाओस् (Onterio, 2013) । यो बुद्धि भाषाविद् र राजनीतिविद् भाषिक खेलाडी, शिक्षक तालिमकर्ता, शिक्षाविद् र शिक्षक नेतामा आओस् । दसौँ निचोड हो यो ।

शिक्षक कार्यगत अनुसन्धाता (action researcher) बनोस् । भाषिक विविधता बुझोस् । तिनको लिपि चिनोस् । व्याकरण बुझोस् । तिनलाई जोड्ने सोच राखोस् । जोड्ने सिप सिकोस् (Roskos, 2009; Haywoode, nd)। एघारौँ निचोड हो यो ।

अन्तिम निचोड हो सिकाइको उभौली सिद्धान्त (bottom up theories of the reading practices) सबैले बुझौँ । सबैलाई बुझाऔँ ।

मर्जी धनवालाहरूको । कर्पोरेटवालाहरूको । सरकार चलाउनेवालाहरूको । बोली बिक्नेवालाहरूको । अन्यथा भाषाविद्ले हल्लाउँछन् । राजनीतिविद् भाषिक खेलाडीले रमाइलो गर्छन् । शिक्षक तालिमकर्ताले खेती पाउछन् । शिक्षाविद्ले काम पाउँछन् । शिक्षक नेताले भाषणको गेडो पाउँछन् । बहुभाषी विद्यार्थीले हिजो र आजझैँ भोलि पनि चोट पाउँछन् । रहर केमा ? भाषामा ? भाषिक राजनीतिमा ? बालबालिकाको सहज सिकाइका लागि एकै प्रयासमा सबैका उत्तर दिनमा ? सिर्फ टुङ्गो गरौँ ।

(मिति २०७२ चैत्र १४ गते सार्वजनिक गरिएको प्रा.डा. विद्यानाथ कोइरालाद्वारा लिखित तथा माइलस्टोन प्रकाशनद्वारा प्रकाशित पुस्तक शिक्षामा सोचान्तरणको एक अंश)