काठमाडौं, १४ चैत । नक्कली शैक्षिक प्रमाणपत्रधारी भएको आरोपमा थप २ चिकित्सक पक्राउ परेका छन् ।
दुवै जना अभियुक्त नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा १३ पटकसम्म अनुत्तीर्ण भएको पाइएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी ले शनिबार रौतहट मतसरी– ५ का ३१ वर्षीय राजीवकुमार झा र बारा बहुअरी– ४ का २९ वर्षीय पृथ्वीनारायण यादवलाई पक्राउ गरेको कारोबार दैनिकले समाचार छापेको छ । दुबै जनालाई महाराजगञ्जस्थित ब्युरोको हिरासतमा राखिएको छ ।
नक्कली प्रमाणपत्र पेस गरी एमबीबीएस अध्ययन गरेका झा र यादवलाई काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिन आएको बेला परीक्षा केन्द्रबाटै पक्राउ गरिएको हो ।
दुवै अभियुक्तले सन् २००६मा बिहार इन्टरमेडियट एजुकेसन काउन्सिलबाट दोस्रो श्रेणीमा उत्तीर्ण भएकोमा सम्पूर्ण विषयमा नम्बर थप गरी प्रथम श्रेणीमा उत्तीर्ण भएको विवरण पेस गरेका थिए ।
ब्युरोका अनुसार झाले दोस्रो श्रेणी ल्याएको प्रमाणपत्रमा फिजिक्स र केमेस्ट्री विषयमा नम्बर थप गरेको नक्कली प्रमाणपत्र पेस गरेको खुलेको छ ।















प्रतिक्रिया