काठमाडौँ, १० चैत । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै आज उपकुलपति डा तीर्थ खनियालाई ध्यानाकर्षण गराएको छ ।
सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाको नेतृत्वमा कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय पुगी प्रतिनिधिमण्डलले निर्वाचनको तालिका चाँडो सार्वजनिक गर्न आग्रह गरेको हो ।
उपाध्यक्ष बर्तौलाले स्ववियुको निर्वाचन ७ वर्षदेखि हुन नसक्दा शैक्षिक क्षेत्रमा अस्तव्यस्त भई विद्यार्थीलाई विभिन्न समस्या उत्पन्न भएको बताउँदै शैक्षिक अराजकता अन्त्य गर्न निर्वाचनको खाँचो औँल्याउनुभयो ।
सो क्रममा उपकुलपति खनियाले अन्य विद्यार्थी सङ्गठनसँग समन्वय र छलफल गरी छिट्टो निर्वाचनको वातावरण बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया