३० आश्विन २०८३, शुक्रबार

एनआरएनए युएईले देखाएका सकारात्मक संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNA-UAE-Teamअरु बेला सुस्ताए पनि अधिवेशन वा साधारणसभाका बेला कुनै पनि संघ संस्थाको चहलपहल तुलनात्मक रुपमा बढ्नु स्वाभाविक हो । मध्यपूर्वको आर्थिक रुपमा सम्पन्न मुलुक यूएईबाट यो प्रसंग उठान गरिरहँदा यसले मध्यपूर्वका तमाम नेपाली संघसंस्थाको मात्र होइन, नेपालकै सामाजिक मात्र नभएर राजनीतिक दलहरुको चरित्रलाई सम्बोधन गरेको ठहर्छ ।

सामान्य अवस्थामा निस्कृय रहे पनि नेतृत्वको बाँडफाँट वा पदाधिकारीहरुको चयन हुने बेला कुनै पनि संघसंस्थाको क्रियाशीलता ह्वात्तै बढेर जान्छ ।

प्रसंग हो– गैरआवासीय नेपाली संघ, यूएईको । करिब ६ महिनाअघि एनआरएन यूएईको छैटौ अधिवेशन हुँदै थियो । अरु बेला ‘सुस्तप्राय’ रहेको एनआरएन यूएई त्यो बेला जागेको थियो ।

अध्यक्षका प्रत्यासी सुदीप कार्की र लेखनाथ न्यौपानेको व्यक्तित्व, क्रियाशीलता तथा सामाजिक योगदानबारे त्यो बेला धेरै चर्चा भएको थियो । स्थानीय नेपाली अनलाईन मिडियाले एनआरएनको अधिवेशन र यसको नेतृत्वको विषयमा बहस चलाएका थिए ।

निश्चय नै दुवै उम्मेदवारहरुलाई कुनै न कुनै राजनीतिक दलका भ्रातृ संगठनको आशिर्वाद थियो । एकले अर्कालाई लगाएका आरोप प्रत्यारोपको शृङ्खला सामाजिक सञ्जालहरुमा छताछुल्ल भएको थियो । अध्यक्षका प्रत्यासी न्यौपानेको इमानदारिता र कुशलताको चर्चा जताततै फैलिएको थियो तर उनलाई संगठनमा समय दिन नसक्ने भनी कार्की पक्षले आरोप लगाएको थियो । न्यौपाने पक्षले कार्की पक्षलाई अपरिपक्व भन्दै एनआरएनलाई ‘बचाउन’ भन्दै न्यौपानेलाई विजयी बनाउन हारगुहार गरेको थियो ।

होचाहोचा, झट् हेर्दा नवयुवक देखिने, कसैले अल्लारे पनि भन्न मिल्ने खालका सुदिप कार्की एनआरएन जस्तो गरिमामय पदमा पुग्यो भने ‘बर्बादै’ हुन्छ, ‘एनआरएन सकिन्छ’ र एनआरएनको ‘साख’ गिर्छ भन्ने विपक्षीहरुको तर्क थियो । कार्की र न्यौपाने साँच्चै ‘हटकेक’ बनेका थिए ।

एनआरएनएको अघिल्लो कार्यकालको तुलनामा यो नेतृत्वबाट ६ महिनामै सकारात्मक संकेतहरु देखिएका छन् । यही गतिमा यो टिमले काम गर्दै जाने हो भने यूएईको नेपाली समुदायमा एनआरएनप्रतिको विश्वास बढेर जाने निश्चित छ ।

कार्कीलाई उनको उमेरको कारण देखाउँदै अन्तर्घात हुने कुरामा विपक्षीहरु विश्वस्त थिए तर परिणाम कार्कीकै पक्षमा रह्यो । स्थानीय कानुनविपरीत चुनौती मोलेर पाँचतारे होटलमा आयोजना गरिएको मतदानबाट सुदिप कार्की एनआरएन यूएईको अध्यक्षमा विजयी भए ।

कार्कीले एनआरएन यूएईको नेतृत्व गरेको ६ महिना पूरा भएको छ । सरकारको कामको मूल्यांकन त सय दिनकै हनिमुन पिरियडमा गर्ने नेपाली संस्कार छ । त्यो अर्थमा कार्कीको नेतृत्वको एनआरएन यूएईको कायहरुको समीक्षा गर्ने समय यो नहुन सक्छ ।

सय दिन संस्थागत जीवनमा त्यति पर्याप्त होइन भने कम महत्व पनि आँक्न मिल्दैन । तर एनआरएनको कार्यकालको समीक्षा कार्यकालको अन्त्यमा प्रायः गरिएको पाइन्छ । त्यो अर्थमा एनआरएन यूएईको ६ महिने अवधिको कामको मूल्यांकन गर्नु पनि हतारै ठहर्ला ।

कार्की नेतृत्वको एनआरएनए यूएईमा झट्ट हेर्दा आलाकाँचा ठिटाठिटीहरु देखिन्छन् । ३२ वर्ष टेक्न लागेका कार्की स्वयम् विश्वभरिकै एनआरएनहरुमध्ये सम्भवतः सबैभन्दा कान्छा अध्यक्ष हुन् । त्यही उमेरकै कारण पनि चुनावताका एनआरएन यूएई ‘बचाउन’का लागि विपक्षीहरुले कार्कीको उछितो काडेको हुन सक्छ ।

कार्कीले नेतृत्व गरेको एनआरएनले ६ महिनाको अवधिमा गरेका केही कामका विवरणहरु प्रस्तुत गर्न चाहन्छु । जुन विवरणका कारण पाठक स्वयमले मूल्यांकन गर्न सक्नेछन् ।

सबैभन्दा पहिला त एनआरएन युएईको नियमित बैठक बस्ने गरेको छ । अघिल्लो कार्यकालमा कार्यसमितिको बैठकमा समेत पदाधिकारीहरु अपुग भएर बैठक नै स्थगन गर्नुपरेको स्थिति थियो । पदाधिकारी भेला समेत गर्न नसकेको एनआरएनको अघिल्लो कार्यकाल भूकम्पमा राहत सामग्री संकलन गर्न र नेपाली दूताबासमै पासपोर्ट वितरणमा सहजीकरण गर्नमा सीमित बन्यो । अघिल्लो कार्यकालका अध्यक्ष कृष्ण भुसाल आफैंमा मध्यमार्गी, इमानदार तथा ‘यसम्यान’ भए पनि एनआरएनको गरिमा जोगाउने केही जनमुखी काम त्यो टिमले गर्न सकेन । मृत्युदण्डको सजाय सुनाइएका अनिस खालिङ राईलाई बचाउन आर्थिक संकलन अभियनको संयोजन गरेर २५ हजार दिराम्स नेपाल पठाएको कुरा सकारात्मक मान्न सकिन्छ । तर अभियान चलाएकै बखत यूएईकै अमुक च्यारिटी फन्डबाट राईको ब्लडमनी तिरिएको दूतावास तथा एनआरएन स्वयमलाई जानकारी नहुन कहाँसम्मको लाजमर्दो तथ्य हो ?

महाभूकम्पका बेला देशै क्षतविक्षत भए पछि राहत स्वरुप जुन १२ मा अबुधाबीमा आयोजना भएको सांगीतिक कार्यक्रमको ‘क्रेडिट’ त्यो बेलाको एनआरएनले लिने प्रयास गरेको छ तर त्यो कार्यक्रम सफल पार्न यूएईभरिका सबै नेपालीहरुको हात थियो । संयोजकका रुपमा एनआरएन यूएईका तत्कालीन अध्यक्ष कृष्ण भुसाल रहेका कारण एनआरएनले क्रेडिट लिन खोज्नु स्वाभाविक ठहर्ला तर त्यो परिप्रेक्ष्यमा प्रधानमन्त्री राहत कोषका पठाइएको करिब ४२ लाख रुपैयाँ भूकम्पपीडितको नाममा खर्च नभई रहेको सन्दर्भ उठाउँदा दुःख लागेर आउँछ ।

यो प्रसंगमा एनआरएन यूएईको वर्तमान कार्यसमितिको कार्यकालको समीक्षा गर्न चाहन्छु । सबैभन्दा पहिला एनआरएन आर्इृसीसीले थालेको राहत वितरण कार्यमा यो समितिले सहकार्य गरेको देखिन्छ । गत अक्टुबर १५ मा मकवानपुर र सिन्धुपाल्चोकको चेपाङ बस्तीका ८० घर परिवारमा खाद्यान्न र लत्ताकपडा वितरणमा यूएईको एनआरएनले ३५ हजार रुपैयाँ प्रत्यक्ष सहयोग गर्दै मानवीय सहयोगमा सहकार्य गरेको थियो । सोही महिनाको २३ र २४ तारिखमा सोलुखुम्बुको सल्लेरी र तपतिङ गाउँमा भूकम्पपीडित ६५ महिलाहरु लाई १ हजार २ सय ३० जोर लत्ताकपडा उपलब्ध गराएको देखिन्छ ।

२०७२ सालको तिहारको अवसरमा एनआरएनए यूएईका उपाध्यक्ष रमेश श्रेष्ठको समयोजकत्वमा खेलिएको देउसीबाट संकलित २ हजार २ सय ५ दिराम्समा २ हजार ७ सय ९५ दिराम एनआरएनको कोषबाट थप गरी ललितपुरको अनाथ बाल आश्रम बाल छहारीलाई आर्थिक सहयोग प्रदान गरेको थियो । सदस्य ऋषि बस्याल र उपाध्यक्ष श्रेष्ठले संयुक्त रूपमा नेपाल पुगेर उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

एनआरएर्न यूएईको वर्तमान कार्यसमितिले गरेको जनमुखी काममा जेलभ्रमण पनि परेको छ । नेपाली दुतावाससँग समन्वय गरेर यूएईका विभिन्न जेलमा रहेका नेपालीहरुको अवस्था सार्वजनिक गरिरहेको छ । सामान्य टिकटकै अभावमा रहेका कैदीहरुलाई टिकट प्रदान गरिरहेको छ ।

यो अभियानको सुरुवात डिसेम्बर ६ बाट अध्यक्ष सुदिप कार्की, उपाध्यक्ष रमेश श्रेष्ठ र महिला संयोजक कल्पना राई समेतको ३ सदस्यीय टोलीबाट भएको थियो । उनीहरुले युएईका विभिन्न जेलमा रहेका नेपालीहरुको स्थिति बुझ्ने र डाटा संकलन गर्ने र सकेको सहयोग गर्ने शृंखलालाई जनमुखी काम मान्न सकिन्छ ।

एनआरएनले समसामयिक विषयमा गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम पनि गर्न थालेको छ । द्वन्द्व व्यवस्थापन र समाधान विषयक विचार गोष्ठी गत महिना गरेको थियो ।

एनआरएन, युएईको प्रतिनिधिसमेतको टोलीले नेपाली राजदूत धनञ्जय झालाई भिजिट भिसा सहजीकरणका लागि गत डिसेम्बर १५ मा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

नेपाली दूतावास रहेको महिला सेल्टरको निरीक्षण गरी उत्तल सेल्टरलाई व्यवस्थित गर्ने विषयमा नेपाली दूतावास का श्रमसहचरी हिरा यादव र जनसम्पर्क अधिकारी इब्राहिमसँग छलफल समेत भइरहेको छ ।

एनआरएनले गत फेब्रुवरी महिनालाई अवेरनेस महिना घोषणा गरी प्रायः हरेक इमिरेटमा साप्ताहिक रुपमा जनचेतना जगाउने कार्य सफलतार्पूक सम्पन्न गरेको छ । एनआरएनको यो अभियानबाट प्रभावित भएर अन्य संस्थाहरुले पनि यो अभियानलाई निरन्तरता दिएको पाइएको छ ।

दुबईमा दुर्घटनामा परेकी रुपन्देहीकी सोनी पौडेल छेत्रीलाई आर्थिक सहयोग र समस्यामा परेकी झापाकी देवीमाया दर्र्जीलाई हवाई टिकट एनआरएनले उपलब्ध गराएको देखिन्छ ।

दुबईमा अलपत्र परी नेपाली दूतावासको शरणमा आएकी सावित्रा नेपालीलाई नेपाल घर फिर्तीका लागि पनि हवाई टिकट एनआरएनका कोषाध्यक्ष सूर्य बस्नेतले दूतावासको रोबहरमा हस्तान्तरण गरेका थिए ।

एनआरएन यूएईले यहाँ आइपरेका विभिन्न समस्यामा परेका सहयोग गरेको छ । स्थानीय प्रसाशनसँग सहकार्य गरेर सहभागिता पनि जनाउँदै गएको छ ।

अमेरिकाबाट नेपाल फर्किदै गरेका केशव पौडेल दुबई ट्रान्जिटमा एकाएक हराए । आफन्तले नेपालबाट खोजीकार्य तीव्र पारे । परराष्ट्र मन्त्रालयले नेपाली दूताबास, अबुधाबीलाई खोजीका लागि पत्र पठायो । दूतावासले एनआरएनलाई खोजीका लागि सहयोग माग्यो । एनआरएनका महिला संयोेजक कल्पना राई र उपाध्यक्ष रमेश श्रेष्ठको पहलमा करिब १० दिनपछि निज पौडेल दुबईको एक अस्पतालमा उपचाररत रहेको तथ्य सार्वजनिक भयो । ।

मार्च ११ मा अबुधाबीको एक चर्चित हस्पिटलको सहकार्यमा नेपाली राजदुतावास अबुधाबीमा नेपाली कामदारकोहरुको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

एनआरएनए यूएईले महिला संयोजक कल्पना राईको संयोजकत्वमा एक महिला विभाग गठन गरेर यूएईमा कार्यरत महिलाहरुको समस्या समाधानमा क्रियाशीलता जनाइसकेको छ ।

एनआरएन यूएई दुबईमा कन्सुलेट स्थापनाका लागि पहल गरिरहेको छ । त्यसरी नै आगामी ६ महिने कार्ययोजनाहरुका साथ नेपाली समुदायमा प्रस्तुत भएको छ

मार्च ११ मा अएलेन, १८ मा फुजेराहा र मार्च २५ मा अबुधाबीमा रहेका क्षेत्रीय समितिहरु पनि क्रियाशील भएर विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

आगामी अप्रिल ८ का दिन यूएईका सबै नेपाली संघसस्थाहरुसँग समसामयिक विषयमा एक अन्तरक्रिया गर्ने एनआरएन यूएईको योजना छ । त्यसरी नै अप्रिल १५ मा रक्तदानको कार्यक्रमको संयोजन गर्ने बताइएको छ । नेपाली महिलाहरुको महान् चाड तीजको उपलक्ष्यमा तीज विशेष कार्यक्रम गर्ने एनआरएनको पूर्वयोजना छ ।

यसर्थ, एनआरएनएको अघिल्लो कार्यकालको तुलनामा यो नेतृत्वबाट ६ महिनामै सकारात्मक संकेतहरु देखिएका छन् । यही गतिमा यो टिमले काम गर्दै जाने हो भने यूएईको नेपाली समुदायमा एनआरएनप्रतिको विश्वास बढेर जाने निश्चित छ ।