मानिसले आफ्नो जीवनकालमा भोग्दै आइरहेका अनुभव तथा अनुभुतिबाट ज्ञान हासिल गरी भविष्यका बारेमा सोचिरहेको हुन्छ । कुनै समय त्यस्तो लाग्थ्यो म जस्तो भाग्यमानी यो संसारमा कोही छैन । म आफ्ना वरिपरि रहेका सबै सुख र खुशीहरू मेरा बुबा–आमाले नै पुरा गरिदिनुभएकोमा खुब आनन्दित रहन्थें । एक आदर्शवादी पिताको पुत्र हुन पाउँदा हर्ष विभोर हुनुका साथै बुबाको आदर्शवादी चरित्रको संरक्षण गर्न मैले कुनै कसुर छोड्ने छैन भन्ने दृढ अठोटका साथ मेरा जीवनका पाइलाहरू अगाडी बढिरहेको थिएँ ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएको भए पनि सुख सयल तथा रमाइलो माहोलमा नै मेरो बालापन हुर्किएको थियो । जब किशोर अवस्थामा पुगें । अनगिन्ती दुःखहरूले मेरो जीवन भरिन पुग्यो । जबजब दुःखमा परें वा संघर्ष कठिन बन्दै गयो त्यतिबेला बुबा मेरो साथमा हुनुहुन्थ्यो र अझै पनि हुनुहुन्छ । फेरि सोच्थें– जबसम्म मेरा बुबाआमाको साथ तथा न्यानो काख मसँग हुन्छ तबसम्म म कसरी अभागी ? म कसरी गरीब ? म कसरी दुखी ?
बुबाको सरकारी जागिर नभएकाले हाम्रो परिवारका सदस्यहरू एक अर्काबाट टाढिन पर्ने कुनै अवस्था सिर्जना भएको थिएन । बुबाले जसो तसो दसैंमा नयाँ कपडा किनी दिएको देख्दा म आफैंलाई देखेर मक्ख पर्थें । आफूले लगाएको लुगाका बारे साथीहरूले चर्चा गर्दा छुट्टै आनन्द मिल्थ्यो । खुसीको सीमा हुन्थेन । म कति भाग्यमानी छोरो ।
उमेर बढ्दै गयो बुवाको जिम्मेवारी तथा बाध्यताका बारेमा महसुस गर्दै एउटा अभिभावकको दायित्व बुझ्दै गएँ । बुवाको आशिर्वादका साथमा न्यानो अभिभावकत्वको छहारीमा लुटपुटिन पाउँदा खुब खुशी लाग्थ्यो । जब उमेर बढ्दै जाँदा उहाँको बाध्यता मैले महशुस गर्न थालें ।
हामी बुबा र छोराबीच लुकामारी चल्दै गयो । कर्मभूमिबाट वार्षिक बिदामा म घर पुग्थें र करिब एक महिना समय बिताएर हतारिँदै कर्मभूमी फर्कन्थें । बुबा गुनासो गर्नुहुन्थ्यो ‘अर्कोचोटि आउँदा अलि धेरै बस्ने गरी आए हुने ।’ म बुझ्थें उहाँको मनसाय । मेरो पनि आफ्नै बाध्यता थियो । घर बस्ने मन हुँदाहुँदै पनि म विदेशिन बाध्य थिएँ ।
छोरा हुनुको कर्तव्य निभाउन नसकेकोमा आत्मग्लानी बढ्दैछ । यो पीर झन् बढ्दो छ । भन्नेले भन्लान् ‘आफ्नै देश र घर फर्कन के ले रोकेको छ ?’ म भन्न सक्दिनँ के केले मात्र रोकेको छ । काट्नेले कुरा काट्लान् ‘त्यसो भए किन फोस्रो आदर्श त ?’ तर आफ्नो व्यथा त आफैंलाई थाहा छ । म जस्तै बिदेश पलायन हुनेमध्ये धेरैले प्रश्न नगर्लान् । किनकी म अल्झेको भुमरीमा उनीहरू पनि जीवन खोजिरहेका छन् । अर्कोतिर म आफैं जिम्मेवारि पिता भइ कर्तव्यपथमा लम्कनुपर्ने विवशताले पनि उत्तिकै छट्पटाइ रहेको छ ।
जीवनमा प्रगति गर्नु छ, भविष्य उज्ज्वल बनाउनु छ भन्ने मनमा थियो । त्यही प्रगतिको धुनलाई पछ्याउँदै नौ वर्ष अघि विदेशिन पुगेको म आएँ । विदेश पलायनको करिब अढाइ वर्षपछि पहिलो छुट्टिमा मातृभुमिमा प्रस्थान गर्दा विमानस्थलबाट बाहिरिना साथ म आफ्ना बुवाआमालाई हेर्न चाहन्थें तर आमाको स्वास्थ्य यात्रा गर्न अनुकुल नरहेको हुनाले मैले बुवाआमालाई काठमाडौं आउन आग्रह गर्न पनि सकिनँ । एकरातको काठमाडौं बसाईपछि भोलिपल्ट म घरमा पुगें । केही फुस्रो अनुहार, दुब्लो शरीर, चाउरि परेका अनुहार मेरा बुबा र आमालाई देख्नासाथ अढाइ वर्ष केही नभएका मेरा नयनहरू नतमस्तक हुँदै रसाएका थिए । त्यसमा पनि आमाको अँगालोले यि नयनहरू रूझ्न बाध्य भएका यादगार पलहरू यो छातिमा विक्षिप्त रूपमा सलबलाइरहेका छन् ।
बुवा ७६ वर्षमा प्रवेश भइसक्नु भयो । आमा पनि ६८ वर्ष । तर बुबामा उही हिम्मत, उही लगाव छ । आफ्नो दैनिक जिवनको काममा सक्रिय हुनुहुन्छ । ‘अब दुःख नगर्नुहोस् आराम गर्ने समय हो’ मैले भनें । तर उहाँबाट जवाफ आयो– दुई चार दिनको पाहुना बनेर आएको तँ के आराम गर भन्छस् भोलि फेरि सबेरै झिसमिसेमा नै विदेशतिर लाग्न छोड्दैनस् यस्तै, यस्तै ।
मलाई थाहा छ, मेरो बुवाआमा जीवनको उत्तरार्धमा हुनुहुन्छ । डाँडामाथिको घाम भइसक्नु भयो । मलाई यो पनि थाहा छ कि उहाँहरूलाई मेरो जरुरी छ, मेरो खाँचो छ । मलाई पनि मन छ, बुबा आमा सँगै बस्न । उहाँहरूका कुरा सुन्न । थोरै भए पनि खुसी दिन । संसार देखाउन मन छ । सेवा गर्न मन छ । मीठो मसिनो सँगै खान मन छ । तर, म भविष्य बनाउने बहानामा विदेशमै अलमलिई रहेको छु । एक किसिमको भुमरी तथा दलदलमा फसिरहेको छु ।
अब मलाई उम्कन धेरै गाह्रो छ । छोरा हुनुको कर्तव्य निभाउन नसकेकोमा आत्मग्लानी बढ्दैछ । यो पीर झन् बढ्दो छ । भन्नेले भन्लान् ‘आफ्नै देश र घर फर्कन के ले रोकेको छ ?’ म भन्न सक्दिनँ के केले मात्र रोकेको छ । काट्नेले कुरा काट्लान् ‘त्यसो भए किन फोस्रो आदर्श त ?’ तर आफ्नो व्यथा त आफैंलाई थाहा छ । म जस्तै बिदेश पलायन हुनेमध्ये धेरैले प्रश्न नगर्लान् । किनकी म अल्झेको भुमरीमा उनीहरू पनि जीवन खोजिरहेका छन् । अर्कोतिर म आफैं जिम्मेवारि पिता भइ कर्तव्यपथमा लम्कनुपर्ने विवशताले पनि उत्तिकै छट्पटाइ रहेको छ ।
विस्तारै बुझ्न थालेको छु । मेरा बुबाको विवशता अनि बाध्यता । परिवारप्रतिको जिम्मेवारिता । छोराछोरीप्रतिको कर्तव्य । म बुझ्दैछु उहाँको परिवारप्रति मेहनत परिश्रम तथा लगनशीलताको मुल्य अनि त्याग र तपस्याको परिभाषा । म आफूलाई धेरै भाग्यमानि सोच्थें तर अहिले लाग्दैछ बुबा पनि भाग्यमानी कहाँ हुनुहुदो रहेछ र ? उहाँको दुखको सहारा टोपलियको म, विदेशतिरै हराउँदै छु अनि उहाँको मनमा लागेको हुँदो हो बुढेस कालको साहारा प्यारो छोरालगायत सकल परिवारसँगै बसेर मीठो मसिनो खाने । जिन्दगीका बाँकी समय सँगै बिताउने । जीवनका तितामीठा अनुभव तथा अनुभुतिहरू सुनाउने अनि बाँड्ने । सायद हामी बाबु छोरा नै अभागी ।
फेरि सोच्छु कि जबसम्म मेरो बुबाआमा मसँगै हुनुहुन्छ त म कसरी अभागी ? म कसरी गरीव ? म कसरी दुखी ? हो, म संसारकै भाग्यमानी छोरो हुँ । तर यो मन भने सदा अभागीपन महशुस गर्न बाध्य छ ।
पोखरा–२९, नेपाल
हाल : संयुक्त अरब दुवई















प्रतिक्रिया