सुर्खेत, १२ साउन । सुर्खेत–दैलेख सडकखण्डको सुर्खेतको गढीमा पर्ने छेडानजिकै गएको पहिरो नरोकिँदा सवारीसाधन ठप्प भएका छन् ।
पहिरो आइरहेका कारण सडकमा सञ्चालन गर्न नसक्दै आवतजावतमा समस्या आएको छ । शनिबार बिहानदेखि आएको पहिरो हटाउन नसकेपछि उक्त सडकअन्तर्गत चल्ने दैलेख र सुर्खेतकै धरमपोखरा–मटेलाका लागि चल्ने यात्रुवाहक सवारीहरु लादेमा रोकिएका छन् ।
यात्रुलाई भने गन्तव्यतर्फ पुराउने व्यवस्था मिलाइएको छ । दैलेख र सुर्खेतको धरमपोखरा–मटेलाबाट बसमा आएको यात्रुलाई पहिरो गएको स्थानबाट यहाँको वीरेन्द्रनगरबाट गएका सवारीले ल्याउने र वीरेन्द्रनगरबाट गएका यात्रुलाई दैलेख र धरमपोखरा, मटेलाबाट आएका सवारीले लिएर जाने गरेका छन् ।
यसअघि पनि पहिरो जाने गरेको उक्त स्थानमा निरन्तरको वर्षाका कारण पहिरो हटाउन समस्या भएको छ । पहिरो हटाउनका लागि भ्याकुम तथा स्काभेटर सञ्चालन गरिए पनि पहिरो आइरहेका कारण हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।
उक्त स्थानमा सुरक्षाकर्मी खटाइएको र आजसम्म अवरुद्ध सडक सञ्चालनमा आउन सक्ने अधिकारीको भनाइ छ ।













प्रतिक्रिया