– मेघप्रसाद वाईवा तामाङ
कोरियामा सोगेन्द्र घलेको नाम नसुन्ने व्यक्ति कमै मात्रामा होलान् । भनिन्छ, मान्छेले कि राम्रै काम गरेर चर्चामा आउँछन् कि नराम्रै । घले गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका सचिव हुन । जसले २ करोड ९० लाख रुपैयाँ लिएर फरार रहेको खबरले देश तथा विदेशमा रहेका नेपाली तरंगित बनेका छन् ।
संसारभर छरिएर बसेका नेपालीहरु माझ लोकप्रिय हुँदै आएको संस्था हो गैरआवासीय नेपाली संघ । पछिल्लो समय देशको विकासमा यो संस्थाले महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ । सामाजिक, आर्थिक एवम् परोपकारी कार्यका लागि यो संस्थाले धेरै काम गर्दै आएको छ र मुलुकको एउटा मेरुदण्ड सावित हुँदै छ । गत वैशाखमा गएको विनासकारी भूकम्पले तहसनहस भएका वस्तीमा पुगेर आर्थिक तथा मानवीय सहयोग गर्दै भौतिक संरचना पुनर्निर्माणमा अहोरात्र खटिएर नेपालका दुर्गम गाउँ गाउँमा पुगेर सहयोग गर्नु भएका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको योगदान आज विश्वभर छरिएर रहेका नेपाली समुदायको मनमस्तिष्कमा नमेटिने गरी छाप बनेर बसेको छ । तर बिडम्बना भन्नुपर्छ आज कोरियामा रहेको गैरआवासी नेपाली संघ जस्तो पवित्र संस्था जसले कोरियामा कार्यरत हजारौं नेपालीको हकहितको प्रतिनिधित्व गर्छ । तिनै संस्थाका सचिव जस्तो गरिमामय पदका व्यक्तिले आज कोरियाका विभिन्न कम्पनीमा कार्यरत सयौं नेपालीबाट करोडौं रुपैयाँ लिएर फरार रहेको खबर यो आफैंमा एक लज्जास्पद र निन्दनीय विषय बनेको छ ।
लाखौं रकम उठाई गुमनाम भएका पिपासुहरुले निम्त्याएको परिणामले प्रसव पीडा झै छट्पटिरहेको सुन्दै र हेर्दै पनि मलिन अनुहार, कहालीलाग्दो, कारुणिक र चिच्चाहट कोलाहलका आवाजहरुप्रति म निशब्द छु । सुनी दिने आज कुनै निकायहरु हाम्रा सामु छैनन् ।
कोरियामा यसरी नेपाली कामदारबाट लाखौं रुपैयाँ लिई फरार हुनेहरुमा सोगेन्द्र घले मात्र होइनन् । यो त पछिल्लो उदाहरण मात्र हो । हुण्डीका नाममा लाखौं रकम उठाई फरार रहेका व्यक्तिहरुको सूची लामै छ । नहोस् पनि कसरी ? कोरियाको व्यस्त र कठिन दिनचर्या, सम्झँदा पनि उराठलाग्दो । जहाँ १२ घन्टा एकत्रित र तल्लीन भएर काम गर्नु पर्ने बाध्यता छ । अझ भनौं म जस्ता कैयन युवा त फलाम र आल्मुनियमका भट्टीमा ढिक्का पग्ले झैं निसासिएर दस नङ्ग्रा खियाएर काम गर्न बाध्य छन् । दिनभरिको थकान त्यही माथी पनि मेसिनको चिच्याहटलाग्दो आवाजको झन्जिरभित्रको दिनचर्या सम्झँदा पनि कति दिक्दार लाग्दो छ । एउटा सामान्य गाउँठाउँका नागरिक त्यसमा पनि सामान्य परिवेशमै हुर्केका हामी आज आधुनिक विश्वको विकासलाई चुनौती दिँदै आफूलाई अग्रस्थानमा उभ्याउन सफल कोरियाको परिवेशमा एक्कासि होम्मिएर यहाँको समय र परिस्थिति अनुसार काम गर्नु पर्दा जो कोही नेपालीका लागि एक कठिन र गम्भीर बन्नु स्वभाविक विषय नै हो ।
सक्कली संघ संगठनको नाममा नक्कली खोल ओढाएर संघ संस्थाको प्रतिष्ठामा नै आँच पु-याउने खालका गतिविधिका कारण संघ संगठनप्रति गम्भीर प्रश्न उठ्न थालिसकेका छन् । आज यिनै अवैध धन्दामा संलग्न व्यक्तिवादी चरित्र भएकाहरुलाई निरुत्साहित पार्नुपर्ने अवस्था आएको छ ।
दिन रात नभनी चौविसै घण्टा काममा खटिएर कमाएको पसिनाको फल अरु कोही नभै हुन्डीमार्फत् पठाउन हामी तम्तयार हुन्छौं । आज हामी यति धेरै सुविधा सम्पन्न बैंकका सेवा हुँदाहुँदै पनि हुण्डीबाटै पैसा पठाउने गर्छौं । किन ? । विचारणीय प्रश्न यहाँ उब्जिएको छ । दोष कसलाई दिऊँ त आज । हुण्डीकर्तालाई दोष दिऊँ हामीसँग न कुनै प्रमाण नै छ । विगतमा पनि यस्ता हुण्डीवालाले धेरै नेपालीको पैसा लिएर फरार भै हरिबिजोग गराएका घटना हाम्रा सामु छन् । आफ्नो मेहनत र परिश्रम गरी आर्जन गरिएको सम्पत्तिले घर खेत जोड्ने त नेपालीको प्रमुख आवश्यकता नै हो भन्दा केही फरक नपर्ला । कडाभन्दा कडा परिश्रम त्यही माथी कामको खँदिलो बोझबाट आर्जित रकमको अभिभाज्य रुपलाई बुझ्न सक्ने फराकिलो क्षमताको विकास कहिले होला हामीमा ? त्यसो त अधिकांस नेपाली दाजुभाइ दिदीबहिनी नेपालको उच्च शिक्षा हासिल गरेर आएका छन्, रोजगारीको सिलसिलामा कोरिया । अझ भनौं यहाँ यतिका संख्यामा शिक्षित युवाको जमात छ जसले महिनौं दिन लगाएर कमाएको लाखौं रकम हुण्डीबाटै पठाउन अग्रपंक्तिमा देखिन्छ । दुई चार हजारको लोभले लाखौं रकमको जोखिम उठाउन पछि पर्दैनन् हुण्डी मार्फत् पैसा पठाउने नेपाली दाजुभाईहरु । वास्तविकता यहाँनेर झल्किएको देखिन्छ । नेपालमा हाँसिल गरेको उच्च शिक्षाको खातिर आज कोरियामा यही नियति भोग्नका लागि हो या नेपाली जनमानसमा रही आएको मानसिक दरिद्रताको प्रतिबिम्ब हो ? म जस्ता हजारौं युवामाझ उब्जिएको प्रश्न हो जस्तो लाग्छ मलाई । आज ती मेरा प्रिय मित्रहरूको लाखौं रकम उठाई गुमनाम भएका पिपासुहरुले निम्त्याएको परिणामले प्रसव पीडा झै छट्पटिरहेको सुन्दै र हेर्दै पनि मलिन अनुहार, कहालीलाग्दो, कारुणिक र चिच्चाहट कोलाहलका आवाजहरुप्रति म निशब्द छु । सुनी दिने आज कुनै निकायहरु हाम्रा सामु छैनन् ।
कोरियामा हुन्डीको व्यवसाय दिन दुई गुना रात चौगुना भने झैं फस्टाइरहेको छ । यो अवैध धन्दाका बारेमा जति धेरै ब्याख्या विश्लेषण गरे पनि कम हुन्छ । ‘Think Positive be Optimistic’ वा सकारात्मक सोच्नु आशावादी हुनु भन्ने गरिन्छ्न यहाँ । तर कोरियाको परिवेशमा भने यो भनाईको चरितार्थ उल्टो भएका छन् । सक्कली संघ संगठनको नाममा नक्कली खोल ओढाएर संघ संस्थाको प्रतिष्ठामा नै आँच पु¥याउने खालका गतिविधिका कारण संघ संगठनप्रति गम्भीर प्रश्न उठ्न थालिसकेका छन् । आज यिनै अवैध धन्दामा संलग्न व्यक्तिवादी चरित्र भएकाहरुलाई निरुत्साहित पार्नुपर्ने अवस्था आएको छ ।
संघसंगठनकै उच्च श्रेणीमा रहेको भनाउँदा व्यक्तिहरुका कारण म जस्ता हजारौं युवा पीडित छन् भने अब विश्वासका पात्रहरु कसलाई मान्ने ? यो एउटा गम्भीर विषय सबैको सामु आएको छ । संघसंस्थाको नाममा आफूलाई अग्रज र अग्रस्थानमा राख्न रुचाउने अनि अवैध धन्दा गर्ने व्यक्तिलाई एक–एक गरी निलम्बित गर्नुपर्ने देखिन्छ । हुण्डी जस्तो अवैध पैसा पठाउने माध्यमलाई आजैदेखि वहिष्कार गर्नुपर्छ । त्यसैगरी हुण्डी जस्तो अवैध धन्दालाई राज्यको सम्बन्धित संयन्त्र वा निकायले यथाशीघ्र निस्तेज पार्नु पर्ने हुन्छ । तर राज्य आज आफैं किन मौन ? देशको अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगटेको वैदेशिक रोजगार जसबाट भित्रिने रेमिटेन्सले चल्ने राज्यका सम्बन्धित निकायले विदेशमा लाखौं युवाले दुःख गरि कमाएको रकमको सुरक्षाको ग्यारेन्टी किन दिन सकिरहेका छैनन् ?
(लेखक लमजुङ परिवार तथा तामाङ संघ दक्षिण कोरियाका महासचिव हुन्)















प्रतिक्रिया