
प्रधानमन्त्री केपी शर्मा ओली यसै साता चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको हैसियतमा ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्ने अड्कलबाजी गरिए पनि ओलीका लागि चीन पहिलो रोजाईमा भने पर्न सकेन । भारत भ्रमण सकाएर फर्किएको करिव एक महिनापछि ओली चीन भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीमा ओली निर्वाचित हुनु अघि र भइसकेपछिको अवस्थामा देखिएको दक्षिण सिमा अवरोधलाई जोडेर ओलीको पहिलो भ्रमण चीनबाट हुने अड्कलवाजी काटिएको थियो । तर भ्रमणको निम्ति अनुकुल वातावरण निर्माण गर्दै अन्ततः ओली पहिलो विदेश यात्राका लागि भारत निस्किएका थिए । अब प्रधानमन्त्री चीन निस्कँदैछन् । हुनतः प्रधानमन्त्री पहिला कुन देशको यात्रामा निस्कने, वा प्रधानमन्त्री या मन्त्रीको विदेश भ्रमणमा पहिला कुन देश पर्ने अथवा पर्नुपर्दछ भन्ने विषय गौण रहन्छ । मुख्य कुरा भ्रमण किन र भ्रमणलाई कसरी उपलब्धीमुलक बनाउन सकिन्छ भन्ने विषय नै अहम् रहन्छ । यही प्रसंगमा चर्चा गर्दा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई कसरी अर्थपूर्ण बनाउन सकिन्छ भन्ने मुद्दामा बढी केन्द्रीत हुनु जरुरी छ ।
नेपालको भूराजनीतिक अवस्थालाई हेर्दा सिधा सिमा जोडिएका दुई राष्ट्र मध्ये एक चीन हो । समुन्द्रसँग नजोडिएको भूपरिवेष्ठित मुलुक नेपालको दक्षिण, पूर्व र पश्चिमको सिमामा भारतको भूगोल जोडिएको छ भने उत्तरी र केही उत्तर पश्चिम सिमामा चीनको भूगोल जोडिएको छ । नेपालको उत्तरी छिमेकी चीन विश्व अर्थतन्त्रको महत्वपूर्ण शक्तिको रुपमा रहेको छ । संयुक्त राज्य अमेरिका र चीनबीच को पहिलो र को दोस्रो रहने भन्नेमा प्रतिस्पर्धा भइरहेको छ । विश्व बजारमा महत्वपूर्ण हिस्सेदारी निभाइरहेको चीनबाट नेपालले धेरै लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको छ । सुरक्षा परिषद्का स्थायी पाँच राष्ट्र मध्येको एक शक्ति राष्ट्र चीन नेपालको छिमेकी भैकन पनि त्यसबाट अपेक्षाकृत लाभ नेपालले लिन सकिरहेको छैन । नेपालको व्यापारिक अवस्थालाई हेर्दा चीनसँगको व्यापारिक अवस्था अर्को छिमेकी देशसँगको तुलनामा नगन्य देखिन्छ । चीनसँगको व्यापार प्रबद्र्धन गर्न सक्दा नेपालका निम्ति त्यो निकै लाभदायक देखिने अवस्था छ । विश्व बजारको महत्वपूर्ण पाटो बनेको चीनका लागि नेपालको व्यापार आर्थिक रुपमा तुलना गर्दा त्यति अहम् नरहे पनि छिमेकी मुलुकसँग सम्बन्धले कुटनीतिक रुपमा त्यसले निकै महत्व राख्दछ । तर त्यही कुरा नेपालका निम्ति आर्थिक रुपले पनि त्यो निकै लाभदायक देखिन्छ ।
व्यापारमा एकल परनिर्भरताको असर नेपाली जनताले भोग्नुप-यो भन्ने स्वयम् ओली सरकारले समेत त्यसको चाल पाइसकेको छ । दुई छिमेकी मुलुकसँग समदुरी, समभावको सम्बन्धलाई स्थापित गर्दै खुल्ला वजार अर्थतन्त्रमा आधारित विश्वका अन्य राष्ट्रसँग पनि व्यापार सम्बन्ध बढाउने दिशामा नेपाल सरकार लाग्नु जरुरी छ । प्रधानमन्त्री ओलीको यही साता हुने चीन भ्रमणलाई अहिले निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चीनसँग नयाँ शिराबाट अगाडि बढ्न सक्दा केवल चीनको मात्रै नभएर चीनसँग भूगोल जोडिएका नेपाल र भारतवाहेक १२ राष्ट्र तथा चीनको समुन्द्री नाका तथा वन्दरगाह प्रयोग गरी विश्वका अन्य देशसँग सिधा व्यापारिक सम्वन्ध स्थापित गर्न सक्ने अवस्था देखिन्छ ।
पछिल्लो पटक दक्षिण सिमामा भएको नाकाबन्दीले देशमा देखिएको अत्यावश्यक वस्तुको अभावले उत्तरी छिमेकीसँगको सम्वन्धलाई फेरि नयाँ शिराबाट अगाडि वढाउनुपर्ने आवश्यकता खड्काएको थियो । व्यापारमा एकल परनिर्भरताको असर नेपाली जनताले भोग्नुप¥यो भने स्वयम् ओली सरकारले समेत त्यसको चाल पाइसकेको छ । दुई छिमेकी मुलुकसँग समदुरी, समभावको सम्बन्धलाई स्थापित गर्दै खुल्ला बजार अर्थतन्त्रमा आधारित विश्वका अन्य राष्ट्रसँग पनि ब्यापार सम्बन्ध बढाउने दिशामा नेपाल सरकार लाग्नु जरुरी छ ।
प्रधानमन्त्री ओलीको यसै साता हुने चीन भ्रमणलाई अहिले निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चीनसँग नयाँ शिराबाट अगाडि बढ्न सक्दा केवल चीनको मात्रै नभएर चीनसँग भूगोल जोडिएका नेपाल र भारतवाहेक १२ राष्ट्र तथा चीनको समुन्द्री नाका तथा वन्दरगाह प्रयोग गरी विश्वका अन्य देशसँग सिधा व्यापारिक सम्वन्ध स्थापित गर्न सक्ने अवस्था देखिन्छ । बौद्ध धर्मालम्वीहरुको वाहुल्यता रहेको चीनसँग नेपालको सम्बन्धलाई नयाँ कसीबाट लैजान सक्दा बुद्धजन्मस्थल लुम्विनी रहेको नेपालको पर्यटन क्षेत्रले समेत आशातित उपलब्धी हासिल गर्न सक्दछ । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानमा अडिएर चीन भ्रमणमा नेपालले निम्न मुद्दाको उठान, प्रतिबद्धता तथा निम्न विषयमा सहयोग सम्झौताको माग र सहमति गर्न सक्नुपर्दछ । केवल औपचारिकता भन्दा माथि उठेर भविष्यको आर्थिक विकासको आधार निर्माणको तहवाट यो भ्रमणलाई उपलब्धी मुलक वनाउने दिशामा नेपाली प्रतिनिधि मण्डलको पहलकदमी हुनु जरुरी छ ।
विप्पा सम्झौता :
यो भ्रमणमा विप्पा सम्झौता हुने चर्चा चलेको छ । चीनसँग पनि यो सम्झौता गरिनु जरुरी छ । विप्पा सम्झौता गर्न सक्दा नेपालमा लगानी गर्न चिनीयाँलाई उत्साहित तुल्याउनुका साथै लगानीको सुरक्षा प्रत्याभूतिले व्यापारमा अभिवृद्धि हुने देखिन्छ ।
पारवहन सम्झौता :
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा अर्को महत्वपूर्ण पाटो पारवहन सम्झौतालाई हेरिएको छ । पारवहन सम्झौता भए चीनले अन्य मुलुकसँग समेत नेपालको व्यापारिक सम्वन्ध स्थापित गराइदिन महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यो निकै महत्वपूर्ण उपलब्धी हुन सक्ने देखिन्छ ।
उत्तर तर्फ अन्य नाका खोल्न पहल तथा खुल्ला नाकाको व्यवस्थापन :
उत्तरी सिमा जोडिएको चीनका धेरै स्थानमा नाका खोल्न सकिने अवस्था रहे पनि खुल्ला भइसकेको अवस्था छैन । खोलिएका नाका पनि व्यवस्थित हुन सकेका छैनन् । यसका लागि चीनसँग सहमति र सहयोग माग गर्नु आवश्यक छ ।
सिमा सडक निर्माणमा सहयोग माग :
चीनसँगको सिमा नाका खोल्ने मात्र नभई नाकासम्मको नजिकको नेपाली शहर जोड्ने सडक निर्माणका लागि पनि सहयोग माग गर्नुपर्दछ । चीनले चाहेमा त्यो गा¥हो विषय पनि होइन ।
सुख्खा वन्दरगाह निर्माणमा सहयोग माग :
नाका नजिक सुख्खा वन्दरगाह खोल्नका लागि समेत सहयोग माग गर्नुपर्दछ । व्यवस्थित बन्दरगाहको निर्माणले मात्र व्यापार बढ्दछ ।
उर्जा र सडक निर्माणमा सहयोग माग :
नेपाल विकासको अवरोध उर्जा र सडकमा चिनको सहयोग लिन सक्नुपर्दछ । उर्जा र सडकमा चिनियाँ अनुदान बढाउनेतर्फ पहलकदमी गरिनु जरुरी छ । पछिल्लो पटक निकै चर्चामा आएको रेल सञ्जालमा नेपाललाई जोड्ने विषय र उत्तर दक्षिण सडक निर्माणमा समेत चासो देखाउनु पर्दछ ।
इन्धन सम्झौता :
व्यापारमा अडिएको विश्व राष्ट्र सम्बन्ध भएकाले माग्ने मात्र होइन सम्झौता गर्न पनि हामी तयार हुनुपर्दछ । चीनसँग इन्धन सम्झौता गरेर इन्धनमा समय समयमा हुने समस्या समाधानको ठोस पहल गरिनु जरुरी छ । सहयोगमा समेत माग्ने र बाँकी व्यापारिक दृष्टिकोणले पनि सम्झौता गर्नुपर्दछ ।
श्रम वजारको खोजी :
विश्व शक्ति राष्ट्र चीन नेपालको छिमेकी मुलुक भइकन पनि चीनमा नेपाली रोजगारीका लागि जाने अवस्था निकै तल रहेको छ । त्यहाँको श्रम बजारमा नेपालीको प्रवेश बढाउने तर्फ पनि पहल गर्नु जरुरी छ । व्यवस्थित रुपबाट दक्ष जनशक्तिलाई न्यायोचित सम्झौताका आधारमा चीनको श्रम बजारमा पठाउन सक्दा रोजगारीका लागि निकै कष्ट सहेर अन्य मुलुक जाने र काम गर्ने नेपाली युवाको लागि त्यो हितकर रहन्छ ।
पर्यटन प्रवद्र्धनमा जोड :
बौद्ध धर्मालम्वीहरुको वाहुल्यता रहेको चीनसँग पर्यटन सम्बन्ध बढाउन सक्दासमेत नेपालको आर्थिक विकासमा त्यो कोसेढुंगा सावित हुन्छ । जनसंख्याको दृष्टिकोणले समेत ठूलो राष्ट्र चीनको १ प्रतिशत जनसंख्या मात्रै पनि नेपालमा वर्षेनी ल्याउन सक्दा त्यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । बौद्ध जन्मस्थल नेपालको लुम्विनीलाई बौद्धधर्मालम्वीहरुको एक पटक पुग्नै पर्ने स्थलको रुपमा चित्रित गराएर त्यो खालको वातावरण निर्माण गरिनु जरुरी छ ।
लिपुलेक सम्झौताबारेको विषय उठान :
सहमति र सम्झौताका साथै नेपालको तर्फबाट यो भ्रमणमा बडो महत्वका साथ लिपुलेक सम्झौताको विषयको उठान गरिनु आवश्यक छ । नेपालसहित त्रिदेशीय भूभाग भएर पनि चीन र भारतका बीचमा मात्रै भएको लिपुलेक सडक निर्माण सम्झौतामा नेपालका तर्फबाट आफ्नो धारणा राख्न सक्नुपर्दछ । आफ्ना समकक्षीसँगको भेटमा प्रधानमन्त्री ओलीले यो विषयलाई वडो महत्वका साथ उठाउन सक्नुपर्दछ भने लिपुलेकसहित चीनसँग समेत सिमा विवाद देखिएका खासगरी उत्तरी पश्चिमी क्षेत्रको समस्यालाई उठाउनु पर्दछ ।
एक चीन नीतिप्रतिको प्रतिबद्धता :
चीनका लागि सधैं टाउको दुखाईको विषय बनिरहेको फ्रि तिब्बतको अभियानमा नेपालले सदा जस्तै एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो-याउनुपर्दछ । फ्रि तिब्बत आन्दोलनलाई फाइदा पुग्ने कुनै पनि गतिविधिमा नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिबद्ध रहेको पुरानै अडानमा चीनलाई आश्वस्त पार्नुपर्दछ ।
सार्कमा सकारात्मक भूमिकाको प्रतिबद्धता :
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा चीनको चासोलाई नेपालले सकारात्मक रुपमा लिएको प्रतिबद्धता जनाउनु पर्दछ । हाल पर्यवेक्षकको रुपमा रहेको चीनको सार्कमा प्रवेश हुने चाहनालाई नेपालले सकारात्मक रुपमा लिएको बुझाउनुपर्दछ । अझ खासगरी नेपालले नाकावन्दीको मार खेप्दासमेत सार्क निरिह जस्तै देखिएकाले समेत नेपालले यो विषयलाई वढी महत्वका साथ उठाउन सक्नुपर्दछ ।















प्रतिक्रिया