२८ आश्विन २०८३, बुधबार

देउवालाई ठूलो अवसर छ, गरेर देखाउने अहिले नै होः राजीव पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari-3

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भेटेर मंगलबार अपराह्न युवा संघ नेपालले बधाई दिएको छ ।

संगठनका हिसाबले नेकपा एमालेको भातृ संगठन भएपछि राजनीतिक संस्कार तोड्दै युवा संघ कांग्रेसका सभापति देउवालाई बधाई दिन उनकै निवास बुढानिलकण्ड पुगेको थियो । उसो त संघले यसअघि एमाओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास लाजिम्पाटमा भेटेर राष्ट्रियताका मुद्दामा एक हुन आग्रह गरेको थियो ।

१३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवालाई बधाई दिने क्रममा युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले नेपाल झण्डा पनि उपहार दिए । त्यसक्रममा पहारीले राष्ट्रिय एकताका लागि पहल गर्ने र देश बनाउने अवसर तपाईको काँधमा आएको भन्दै देउवालाई सचेत गराए । जवाफमा देउवाले युवा संघका कार्यहरुको प्रशंसा गर्दै राष्ट्रिय अखण्डता र संविधान कार्यान्वयनका मुद्दामा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

देउवालाई बधाई दिन गएको युवा संघ नेपालका अध्यक्ष राजीव पहारीसँग यसै सेरोफेरो गरिएको संक्षिप्त कुराकानीः

कांग्रेसका नवनिर्वाचित सभापति देउवालाई भेट्नुभयो, नेपालको नक्सा दिनुको अर्थ के हो ?

नेपाली कांग्रेस भनेको नेपालको पुरानो राजनीतिक पार्टी हो । प्रजातान्त्रिक पार्टी हो । र शेरबहादुर देउवा चाँही १३ औं महाधिवेशनबाट सभापति बन्नुभएको छ । अहिले नेपालको राष्ट्रियता संकटपूर्ण अवस्थाबाट गुज्रिएको छ, वैदेशिक हस्तक्षेप बढेको छ, ६५ वर्षदेखिको संषर्घको उपलब्धि गुम्ने हो की भन्ने खतरा छ । तराई मधेसमा मधेसकेन्द्रीत दलहरुले विदेशीको उक्साहटमा बन्द हड्ताल गर्ने काम गरिरहेका छन् । यो खालको परिस्थितीमा तपाई चाँही यो ठूलो पार्टीको सभापति हुनुभएको छ । मुलुक जगाउने काममका लाग्नुस् अरु पार्टीसँग सहकार्य गरी अगाडि बढ्नुस् । सक्नुस् भन्ने १९५० को सन्धि खारेज गरेर सिमाना बढाउनुस् । नभए देश जोगाउन लाग्नुस् भन्दै प्रतिकात्मक स्वरुप झण्डा दियौं ।

तपाईको विचारमा सभापतिमा निर्वाचित भइसकेका देउवाले अब के गर्नुपर्छ ?

मुलुकको आवश्यक भनेको प्राप्त उपलब्धिहरुको संरक्षण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्ने, सहमति सहकार्य र एकताबाट समृद्ध नेपाल निर्माण गर्ने हो । नेपालको सबैभन्दा ठूलो शत्रु गरिबी, मुलुकमा कुशासन, भ्रष्टचार, कालाबजारी, मूल्यवृद्धि, राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेप हो । यसलाई अन्त्य गरेर मुलुकमा स्थायीत्व कायम गर्नतर्फ उहाँ लाग्नुपर्छ । नेपाली कांग्रेस यही सरकारमा सहभागी भएर राष्ट्रिय सरकार बन्नुपर्छ । बरु सत्ताको नेतृत्व आलोपालो गरे हुन्छ ।

युवाहरुमा बारेमा के गरिदिए हुन्छ भन्ने लाग्छ ?

युवाहरुका लागि धेरै कुरा गर्नुपर्नेछ । युवाहरु भनेका कुनैपनि मुलुका भविष्यका कर्णधार हुन् । आज प्रत्येक दिन १७ सय नेपाली युवानहरु विदेशीरहेका छन् । यो चाँही डरलाग्दो स्थिती हो । युवाजन्य सरोकारका मुद्दाहरु कार्यान्वयका लागि भुमिका खेल्नुपर्यो । युवाको प्रोत्साहनका लागि राज्यले ल्याएका कार्यक्रम कार्यान्वयन गर्ने मुद्दामा होस् वा शिक्षित युवाहरु बेरोजगार छन् तिनीहरुको हकहितको निम्त कांग्रेस पार्टीलाई परिचालन गर्नुपर्छ । युवा मैत्री हुननसकेको पार्टी कांग्रेस भएकाले युवामैत्री खालका कार्ययोजना ल्याउनुपर्यो । कार्यान्वयन गर्नुपर्यो । अर्काे कुरा उहाँ नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष पनि हो । युवावस्थाबाटै राजनीति गरेको मान्छे, युवाहरुका समस्या बुझेको मान्छे भएकाले पनि विशेष भुमिका खेल्नुपर्छ ।

एमालेको भातृ संगठन युवा संघ कांग्रेसका सभापतिलाई किन बधाई दियो ?

हामीले नयाँ खालको राजनीतिक संस्कार र संस्कृति दिन खोजेका हौं । यसलाई हामीले विगत देखिनै सुरु गरेका हौं । अब सबै पार्टीमा यो संस्कार लागु हुनुपर्छ । विगतमा गरेका कमीकमजोरी नहोस भन्ने हो । एमाले, कांग्रेस एमाले पार्टीहरुले सामाजिक सांस्कृतिक सामुहिक एजेण्डा बनाएर अगाडि बढ्नुपर्छ । कांग्रेस र कम्युनिष्ट मिल्दा उपलब्धि प्राप्त भएका छन् । विभाजित हुँदा प्राप्त उपलब्धि गुमेका छन् । अब नमिले नेपाल सिद्धिने स्थिती आउन छ । त्यसैले अब नेपाल बचाउन सबै लाग्नुपर्छ, मिल्नुपर्छ ।

देशकै ठूलो पार्टीको सभापति बनेका देउवाले राष्ट्रियताको पक्षमा कसरी प्रस्तुत हुनुपर्छ ?

राष्ट्रियताका सवालमा देउवाले हिजो नि प्रतिबद्धता जनाइसक्नुभयो । राष्ट्रियता जोगाउन हामीले मधेसमा चलाएको अभियानको खुलेर प्रशंसा गर्नुभयो । र उहाँले राष्ट्रिय अखण्डता र संविधान कार्यान्वयनका निम्ति कसैसँग सम्झैता गर्छिन् भन्नुभयो । राष्ट्रिय स्वार्थ, राष्ट्रिय अखण्डालाई केन्द्रमा राखेर गतिविधी गर्नुपर्यो भन्ने हाम्रो सुझाव र माग हो ।

अन्तिममा केही भन्नुहुन्छ ?
शेरबहादुर देउवा देशकै ठूलो पार्टीको सभापति बन्नुभएको छ । उहाँसँग जिम्मेवारी पनि धेरै छन् भने अवसर पनि धेरै छन् । अवसरलाई प्रयोग गरेर जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । उहाँलाई यो ठूलो अवसर पनि छ । र गरेर देखाउनुपर्छ ।