२९ आश्विन २०८३, बिहिबार

बाबुरामले यसमा बोल्ने बेला आएको छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shresthaबालुवाटार पुगेर बाबुरामले भने– ‘चीनसँग ज्यादा नजिक हुने होइन’ भन्ने खबर जताततै आउन लागेपछि मैले दैनिक नेपालमा तुरुन्त यस्तो स्टाटस लेखें– ‘यो खबर सत्य हो भने बाबुरामजी तपाईंसँग मेरो विमति शुरु भो । चीनसँग मित्रता बढाउनु वा घटाउनुमा भारतको सन्दर्भ जोड्न लाग्यौं भने म बुझ्दछु– हामीले भारतको पराधिनता स्वीकारेका छौं । चीनसँग हाम्रो हजारौं वर्षदेखिको मित्रता थियो । त्यो हामीले २५० वर्षदेखि गुमाएका छौं । यो गुमाएपछि हाम्रो संसारै चकित गर्ने सम्बृद्ध संस्कृति र सभ्यताको जरा मासियो र यो अवसानमुखी भो । पञ्चायत ढलेपछि बचेखुचेको स्वाभिमान पनि गुमाएका छौं । चीनसँग सन्तुलन बनाउनु भनेको हाम्रै पूर्ववत् समृद्धितर्फको पुनरागमन हो । औंला नठड्याउनु होला । पहाडै ढल्दै छैन ।’

यसमा आएका स्टाटसमा धेरैजसोले बाबुरामलाई भारतीय एजेन्ट भएको अपगाल लगाउनुभएको छ । मेरो सोच अझै त्यस्तो होइन । मेरो स्टाटसको मर्मलाई बुझाउन मैले यस्तो कमेन्ट त्यसमा त दिएँ नै, सँगै यता अरू मेरा साथीहरूबीच पनि यसलाई लेखको रूपमा प्रस्तुत् गरेको छु ।

बाबुरामजी भारतपरस्त भएको अहिलेसम्म मसँग प्रमाण छैन । यो खबरले म सशंकित मात्र भएको हुँ । खबरै गलत नहोला भन्नु पनि छैन । उनको नयाँ शक्तिलाई मैले नयाँ सोचको क्रियाशील मिसनको रूपमा हेर्दै छु । गलत देख्दिन । तर म त्यसमा लागिपरेको पनि होइन । म पुरा असंलग्न छु ।

भारतसँग पौंठा जोडेर जिन्दगीभर पैदल हिँड्ने कि आफ्नो स्वाभिमानलाई जोगाएर संवाद गर्दै गाडी चड्ने हो वा रकेट चड्ने हो ? भनी उनी हामीलाई सोध्छन् । म व्यापारीको छोरो भएर हो कि के हो त्यसभित्रको गाँठी कुरो बुझ्दछु र उनको कुरो मलाई त्यहाँ सही लाग्छ ।

पूर्वशासकहरूकै गलत नीतिका कारणबाट उब्जिएका हाम्रा धेरै विवशताहरू छन् । त्यसका दोष हामी पछिल्ला पुस्ताका धेरैमा हुनु छैन । त्यो विरासत बोक्न कसैले खोज्छन् भने त्यहाँ शंका हुने ठाउँ छ र त्यस्ता मान्छे वा दलहरू शक्तिमै छन् र त हामी छ–छ वटा उपप्रधानमन्त्री राख्न विवश छौं ।

बाबुराम वा नयाँ शक्तिमा त्यस्तो भारतपरस्त दलाली सहभागीता म देख्दिन । तर बाबुरामको भारतलाई हेर्ने दृष्टिकोणमा चाहिँ म भारतप्रति नरम सकारात्मक दृष्टिकोण देख्दछु । भारतसँग पौंठा जोडेर जिन्दगीभर पैदल हिँड्ने कि आफ्नो स्वाभिमानलाई जोगाएर संवाद गर्दै गाडी चड्ने हो वा रकेट चड्ने हो ? भनी उनी हामीलाई सोध्छन् । म व्यापारीको छोरो भएर हो कि के हो त्यसभित्रको गाँठी कुरो बुझ्दछु र उनको कुरो मलाई त्यहाँ सही लाग्छ । सायद त्यसरी नै होला उनका पछि दिनानुदिन निक्कै लाम पनि लागेको देखिन्छ ।

मैले के बुझें छोटोमा भन्न मन लाग्यो । मानी लिउँ मसँग मैले बुनेको डोको छ र त्यो बेचेर एउटा कट्टुु किन्नु छ । मैले डोकोको भाउ पाइनँ भने र कट्टुुको भाउ बढी लाग्यो भने डोको घरमै कुहाउन फर्काएर नाङ्गै बस्ने कि नरमकरम भाउ मिलाएर नाङ्गै हुनबाट बच्ने हो ? भारत बलियो छ । हाम्रा कमजोरीलाई बुझेर ऊ शोषण गर्दछ । हामी सबैले कमजोर वर्गलाई त्यसरी नै क्षणक्षण जताततै धर्मको नाममा, जातको नाम, लिङ्गको नाममा, भाषाको नाममा भूगोलको नाममा शोषण गरिरहेका छौ । हामीले कमजोर वर्गलाई गरेको र भारतले हामी माथि शोषण गरेको उस्तै नै हो ।

अब बुझ्नुप-यो– भारत हामीभन्दा धेरै बलियो छ । ऊसँग सोझै भिड्दा एउटा बाहुनको चुलोमा दलितले पस्न खोजेको जस्तै परिणति भोग्नुपर्छ । एउटा किराँतीले इन्द्रचोकमा गाई काट्न खोजेको जस्तै परिणति भोग्नुपर्छ । तर हामीसँग संघर्षकै क्रममा बुद्धिमतापूर्ण अग्रगामिताको इतिहासमा नभएको होइन । भिड्दा यस्तै हुन्छ भनेर हामी कदाचित डराएनौं, बुद्धि पु-याएर भिडेर हामीले धेरै ठूलठूला कुरा हात लाएका हौं । आततायी राणा र शाह शासनलाई यसरी नै ढाल्यौं । सँगै आत्मासात भने गर्नैपर्छ कि हरेकपल्ट हामीले पूर्णसफलता पाएनौं तर तत्कालसम्मको उपलव्धिलाई जोगाएर हामीले हाम्रो संघर्ष बुलन्द गर्न कहिल्यै पछि परेनौं । कतै कहीं बाँस सरह ठाडो भएर पड्केर नामेट हुनुभन्दा आवश्यकता अनुरुप आफ्नै स्वार्थ रक्षाको लागि झुकेर फाइदा लिएर अघि बढेको गर्विलो इतिहास हामीसँग छ । आवश्यकताअनुरुप झुक्न सक्नुपर्छ पर्छ । पछि त ठाडो उभिन पाई हालिन्छ ।

मैले बुझेको बाबुरामले भनेकै त्यही हो वेअर्थी ठाडो राष्ट्रवादीताले सदा नांगो खुट्टा पैदल हिँडाउने मात्र हो । अझ मेरो कथाको शब्दमा डोको आँगनको एउटा कुनामा कुहाउन छोडेर अर्को कुनामा गुन्द्री ओछ्याएर नांगो लड्ने मात्र हो । गुन्द्रीमा नांगो सुतेर कुनै गतिशीलता हासिल भएको हुन्न । त्यो उँधो गमन मात्र हो ।

मैले माथि लेखेको स्टाटसको मतलब यही हो कि बाबुरामलाई म अहिलेसम्म चीन विरोधी वा भारतको एजेण्ट भनेर बुझ्दिन । यो खबर सुनेर झस्केको चाहिँ हुँ । यो खबर सही ढंगमा नलेखिएको हुन सक्छ ।

म भन्छु चीनलाई हेर्ने दृष्टिकोणमा कसैले पनि सन्तुलन बिगार्न हुन्न । हामीले चीनसँगका मित्रतामा धेरै कटौती गरेका छौं र त्यसको परिणाम भोगेका छौं । त्यसबाट उस्कन चीनसँग सम्बन्ध सुधार्नै पर्छ । कसैले पनि चीनसँग मित्रता गाँस्दा भारतीय चाखको कसीमा मोलतोल गर्छ भने त्यो भारतीय एजेण्ट हुनुको संकेत हो । भारत नै यसमा बोल्छ भने त्यो हाम्रो सार्वभौमिकता माथि अतिक्रमण नै हो ।
हामीले आफ्नो औकातमा रही चीनसँग होस् वा भारत वा अरू कसैसँग किन नहोस् आफ्नो स्वाभिमान र सार्वभौमिकता जोगाएर यथार्थतम् सकारात्मक सम्बन्ध राख्नुपर्छ । यो समाचारको शीर्षक र पेटको बोलीले समेत बाबुराम भारततिर एकलकाटे भाको हो भन्ने बुझाउँछ । बाबुरामले यसमा बोल्ने बेला आएको छ ।