१ कार्तिक २०८३, आइतबार

सार्कमा आर्थिक विकास र वातावरण संरक्षणमा जोड दिन विज्ञको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara-SAARC-meeting-01

– वासुदेव पौडेल
पोखरा, ३ चैत । सार्क मन्त्रिपरिषद्को बैठकका कार्यक्रम पोखरामा चलिरहेको अवस्थामा परराष्ट्र मामिलाका जानकारहरू सार्कमा यस क्षेत्रको सामूहिक आर्थिक विकास तथा विद्यमान साझा समस्याको समाधानले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका छन् ।

सार्क राष्ट्रमध्ये भारत आर्थिक विकासका क्षेत्रमा अघि बढे पनि अन्य सदस्य राष्ट्र अल्पविकसित राष्ट्रबाटमाथि उठ्न नसकेको वास्तविकतामा यस क्षेत्रको समग्र विकासका लागि दक्षिण एसियाली राष्ट्रको सामूहिक विकास नै सार्कको प्रमुख मुद्दा बन्नुपर्ने परराष्ट्रविद्हरूको तर्क छ ।

परराष्ट्रविद् टङ्क कार्की सार्क राष्ट्रमध्ये भारत आर्थिक विकासका दृष्टिले उदयमान राष्ट्र भए पनि अन्य राष्ट्र अल्पविकसित भएका कारण यिनलाई माथि उठाउने मुद्दालाई सामूहिक रुपमा अघि बढाउनुपर्ने बताउनुहुन्छ ।

“२१ आँैं शताब्दीलाई एसियाको उत्थानको युग भनिएको छ, सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई मजबुत बनाउँदै यस क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास गर्नु वर्तमानको आवश्यकता हो,” – उहाँले भन्नुभयो ।

इतिहासका तितामिठा सम्बन्धलाई थप पुनःव्यवस्थित गर्दै सदस्य राष्ट्रबीच उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्ने तर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।

पछिल्ला समयमा बढिरहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने विषयलाई सार्कमा प्राथमिकता दिइनुपर्ने कार्कीले बताउनुभयो ।

एक अर्कासँग भएका साधनस्रोतको अधिकतम उपयोग गर्न सकेमा दक्षिण एसियाली राष्ट्रहरू सामूहिक रुपमा आफूलाई आर्थिक समृद्धिको मार्गमा उन्मुख बनाउनसक्ने परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको तर्क छ ।

“सार्कले यस क्षेत्रका राष्ट्रलाई हालसम्म एक अर्कालाई नजिक ल्याउने काम गरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक समृद्धि र विकासका लागि सबैको सङ्गठित प्रयास आवश्यक छ ।”
जलवायु परिवर्तनका कारण विश्वमा नै असर परिरहेका अवस्थामा बढ्दो तापक्रमका कारण हिमाल पग्लन थालेको बताउँदै उहाँले यसको असर न्यूनीकरण गर्ने विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने उल्लेख गर्नुभयो ।

विश्वकै सफा पानीको भण्डार हिमाल रहेकोमा जोड दिँदै श्रेष्ठले वनजङ्गलको बिनासलगायतका कारणबाट बढिरहेको तापक्रम वृद्धिको क्रमलाई न्यूनीकरण गर्न वनको संरक्षणलगायतका विषयलाई सार्कले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

हिमालको बढ्दो पग्लने क्रमले माल्दिभ्स डुब्ने खतरामा रहेको र यस्ता धेरै चुनौती थपिँदै गएको प्रति सबैको चासो आवश्यक रहेको उहाँको भनाइ छ ।

सार्क राष्ट्रको अध्यक्षता समेत गरेको नेपालले यस क्षेत्रको समग्र आर्थिक विकासका लागि सार्कमा आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने परराष्ट्रविद् सुरेशराज चालिसे बताउनुहुन्छ ।

खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनले पारिरहेको प्रभाव न्यूनीकरण एक्लै सम्भव नहुने हुँदा सबै राष्ट्रको सामूहिक प्रयास आवश्यक हुने उहाँले बताउनुभयो ।

एसियाली राष्ट्रहरू हिमाली क्षेत्रमा पर्ने भएका कारण यी क्षेत्रहरू भूकम्पको उच्च जोखिममा रहेको बताउँदै चालिसेले सम्भावित खतराको न्यूनीकरणलाई प्राथमिकतामा राखिनुपर्ने धारणा राख्नु भयो ।

सार्क क्षेत्रको समग्र विकासका धेरै विषयमा पोखरामा जारी सार्क मन्त्रिपरिषद्को बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने बहस चलिरहेका अवस्थामा नेपालमा सामूदायिक वन संरक्षण कार्य सफल भएको भन्दै सार्क राष्ट्रमा त्यसको अनुसरण गर्न नेपालले प्रस्ताव गरेको उहाँले उल्लेख गर्नु भयो ।

पोखरामा जारी सार्क मन्त्रिपरिषद् बैठकको कार्यक्रम अनुसार आज स्थायी समितिको बैठक बस्ने र भोलि सार्क विदेश मन्त्रीस्तरीय बैठक हुने नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी दिनुभयो । रासस