– नरेन्द्रसिह कार्की
दार्चुला, ३ चैत । पर्यटन पूर्वाधार विकास निर्माण अन्तरगत खण्डेश्वरी गाविसको सुर्माभवानी मन्दिर व्यवस्थापनको उपभोक्ता समिति गठन गर्न जिल्ला विकास समितिबाट पत्रचार भयो । पत्रचार भएअनुरुप स्थानीयको भेलाले एमाले निकट गजेन्द्रसिह धामी उपभोक्ता समितिका अध्यक्ष बने । तर उनी अध्यक्ष बनेको असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका कार्यकर्ता मनि धामीले जिल्ला विकासमै पुगेर उजुरी गरे । मन्दिर व्यवस्थापनको लागि ५ लाख रुपैयाँ बजेट विनियोजन थियो । पाँच लाख बजेट कार्यान्वयनको लागि राजनीतिक दलहरुबीच उपभोक्ता समितिमा विवाद देखियो ।
यस्तै पर्यटन पूर्वाधार अन्तरगतकै तपोवन तीर्थस्थल पर्यटन पूर्वाधार निर्माणको लागि गठन गरिनुपर्ने उपभोक्ता समितिमा पनि विवाद आयो । १० लाख रुपैयाँ लागत रहेको सो योजना निर्माण गर्न नेपाली काग्रेस निकट कृष्णसिह धामी अध्यक्ष भएका थिए । धामी अध्यक्ष हुन नपाउने भन्दै एकिकृत नेकपा माओवादीका कृष्णसिह धामीले उजुरी गरे । राजनीतिक दलहरुले आफ्नो पक्षमा उपभोक्ता समिति गठन नभए उजुरी गर्ने क्रम जिल्लामा बढेको छ । यी दुई दार्चुलाको प्रतिनिधिमूलक घट्ना हुन् ।
राजनीतिक दलहरुले उपभोक्ता समितिमा चासो दिएकै कारण चैत्रको सुरुवातीसम्म यस आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाहरुको सम्झौता हुन बाकी छ । चालू आर्थिक वर्षको झण्डै ९ महिता वितिसक्दा पनि उपभोक्ता समिति गठन हुन सकेका छैनन् । जिल्ला विकास समिति दार्चुलाका अनुसार यस वर्ष कार्यान्वयन हुने ८९ योजना मध्ये हालसम्म २१ वटा योजना सम्झौता भएको जिल्ला विकास समिति दार्चुलाका योजना शाखाका नायब सुब्बा सन्दीप अवस्थीले जानकारी दिए ।
हालसम्म खानेपानीका २२ योजना मध्ये ६ योजना, साना सिचाईको ४ योजना मध्ये ३ योजना, निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत ३९ योजना मध्ये ४ योजना, र कृषि सडक अन्तरगत ४ योजना मध्ये १ योजना मात्र सम्झौता भएको अवस्थीले बताए ।
राजनीतिक दलहरुले वडा तहदेखि नै राजनीतिकरण गरेकै विकास निर्माण हुन सकेको छैन । भागवण्डाका कारण विकासले गति नलिएको बेला राजनीतिक दलहरुबीच पुन पनि उपभोक्ता समितिको अध्यक्ष हड्प्ने खेलले विकास निर्माणको कार्य प्रभावित भएको छ ।
गाउँमा गठन हुने उपभोक्ता समिति गठनमा राजनीतिक विवादका कारण योजना कार्यान्वयनमा ढिलाई भएको स्थानीय विकास अधिकारी सहदेव रायमाझीले बताए । राजनीतिक दलहरुले उपभोक्ता समिति गठनमा चासो दिदा कार्यान्वयमा समस्या भएको छ उनले भने । एक योजनाका कारण अन्य योजनालाई समेत प्रभावित पार्छ ।
जिल्ला विकास समितिले फागुन मसान्त भित्र उपभोक्ता समिति गठन गरिसक्न पत्रचार गरेपनि नेपाली काग्रेसको अधिवेशन तथा महाधिवेशन लगायतका कारणले ढिलाइ भएको रायमझीले बताए । राजनीतिक दलहरुले आफ्नो अनुपस्थितमा उपभोक्ता समिति गठन कार्य अघि नबढाउन भनेपछि समस्या हुने गरेको जिविस स्रोत बताउँछ ।
राजनीतिक दलहरुले उपभोक्ता समितिमा विवाद बढाउन थालेपछि चैत्र ४ गतेसम्म सर्वदलीय बैठक आह्वान गर्ने तयारी भएको स्थानीय विकास अधिकारी रायमाझीले जानकारी दिए । दलहरुकै भागण्डाका कारण जिल्ला विकसा समिति दुई वर्ष लगातार एमसिपिएममा फेल भएको छ । अझै पनि राजनीतिक दलहरुले भागण्डा गर्ने प्रचलन तोड्न सकेका छैनन् ।
स्थानीय विकास अधिकारी रायमाझीले चैत्रमसान्तभित्र सबै योजना सम्झौता गरि सक्न आग्रह गरे । योजना सम्झौताको लागि सबै गाविसलाई पत्रचार भइसकेको भन्दै चैत्र पछि कुनै पनि योजनाको सम्झोता नहुने बताए ।
चैत्र मसान्तसम्म योजना सम्झौता गरि जेठ १५ गतेसम्म योजना निर्माण गरिसक्नुपर्ने छ उनल भने । जेठ १५ सम्म भएका योजनाहरुको मात्र बजेट फरफारक गरिन्छ । जिविस नै असफल हुन लागेको अवस्थामा यस वर्ष कडाइका साथ योजनाको मूल्यांकन गरि बजेट विनियोजन गरिन्छ उनले भने ।












प्रतिक्रिया