१ कार्तिक २०८३, आइतबार

सार्क मन्त्रिपरिषद् बैठक: पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने अपेक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pokhara SAARC-security

– वासुदेव पौडेल
पोखरा, २ चैत । काठमाडौँबाहिर पहिलोपटक पोखरामा भइरहेको सार्क मन्त्रिपरिषद्को बैठक हुनुलाई यस क्षेत्रको पर्यटकीय विकासका लागि निकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

भूकम्प र नाकाबन्दीका कारण लगभग वर्षभर नै पर्यटन प्रभावित बनेका कारण निराश बनेका पोखराका पर्यटन व्यवसायीले भइरहेको सार्क मन्त्रिपरिषद्को बैठकलाई यहाँको पर्यटकीय प्रवद्र्धनका लागि महत्वपूर्ण अवसरका रुपमा लिएका छन् ।

प्रकृतिको वरदानका रुपमा रहेको पर्यटकीय स्थल पोखरामा सार्क मन्त्रिपरिषद्को बैठक हुनु यस क्षेत्रकै गौरवको विषय भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । सार्क राष्ट्रबाट पोखरा आउने विशिष्ट पाहुना ती देशको सरकारका आधिकारिक व्यक्तित्व भएको हुँदा पनि उहाँहरूलाई पोखराको वास्तविक सुन्दरताको अवलोकन गराउने व्यवस्था नेपाल सरकारले मिलाउनुपर्ने उहाँको भनाइ छ ।

पोखराको पर्यटकीय आकर्षणलाई अवलोकन गराएर सार्क राष्ट्रबाट पर्यटक आउने अवस्था सिर्जना गर्नका लागि अहिलेको अवसरलाई सरकारले अधिकतम उपयोग गर्न सक्नुपर्ने भट्टराई बताउनुहुन्छ । “पोखराको दृश्यावलोकन गराउनुका साथै सार्क मन्त्रिपरिषद्को बैठकमा नेपालको पर्यटकीय सम्भावना र विकासलाई पनि सरकारले एजेन्डाका रुपमा लैजानुपर्छ,” उहाँले भन्नुभयो– “भूकम्प र नाकाबन्दीपछि प्रभावित यहाँको पर्यटनलाई दीर्घकालीन रुपमा अघि बढाउन यस किसिमको विशिष्ट बैठक उपयोगी हुने विश्वास लिएका छौँ ।”

भट्टराई जस्तै पर्यटनविद् नीलकण्ठ शर्मा पनि पोखरामा जारी मन्त्रिपरिषद्को बैठकमा आउने विशिष्ट पाहुनालाई यहाँको पर्यटकीय रसास्वादन गराउनुपर्ने बताउनुहुन्छ । पोखराका पर्यटकीय पूर्वाधार प्रकृतिको अनुपम उपहार भएको बताउँदै उहाँले यिनको चर्चा आधिकारिक रुपमा सार्क राष्ट्रमा प्रवाह गर्नका लागि पोखरामा जारी मन्त्रिपरिषद् बैठक महत्वपूर्ण अवसर भएको बताउनुभयो ।

“विश्वमै दुर्लभ किसिमको विविधतायुक्त हावापानी र वातावरण पोखरामा छ,” उहाँले भन्नुभयो, “संसारको कुनै पनि ठाउँमा हिमाल र केरा नजिक रहेको पाइँदैन तर पोखरामा भने हिमाल पनि नजिकै छ यहाँ केराको खेती पनि हुन्छ ।” सार्क मन्त्रिपरिषद्को बैठक नेपालमा हुनु देशकै लागि गौरवको विषय हो भने यस्तो विशिष्ट बैठक पर्यटकीय नगरी पोखरामा हुनु यहाँको पर्यटकीय विकासका लागि अर्को महत्वपूर्ण अवसर भएको शर्माले बताउनुभयो ।

पर्यटकीय विकासका लागि पोखरामा अर्बौंको लगानी भइसकेको र पर्यटनका लागि अब लगानी गर्ने ठाउँ पनि यही क्षेत्र भएको शर्माको भनाइ छ । पोखरामा भइरहेको सार्क मन्त्रिपरिषद्को बैठक यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण अवसर भएको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा राज्यले पर्यटनको दीर्घकालीन विकासका लागि सबै किसिमका पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा पर्यटकीय नगरी पोखरामा यस किसिमका विशिष्ट बैठक हुन सक्छन् भन्ने सन्देशसमेत अहिलेको बैठकले चरितार्थ गर्ने बताउनुहुन्छ । बैठकसँगै पोखरा पर्यटकीय रुपमा महत्वपूर्ण स्थल भएको सन्देश आधिकारिक रुपमा सार्क राष्ट्रमा प्रवाह हुने उहाँले बताउनुभयो ।

पोखरामा बैठकका लागि आउनुभएका पाहुनालाई यहाँका पर्यटकीय स्थल अवलोकन गराउने योजना तय गरिए पनि बैठकका कार्यतालिका अत्यन्त व्यस्त किसिमका रहेको परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

“समय मिलेसम्म विशिष्ट पाहुनालाई पोखराका प्रमुख पर्यटकीय स्थल अवलोकन गराउने योजनामा छौँ”, उहाँले भन्नुभयो । विशिष्ट पाहुनाको आगमनलाई लक्षित गरी पोखराको सुरक्षा व्यवस्था मजबुत पारिएको छ । रासस