
– नरेश केसी
भैरहवा, २ चैत । सँधै चुलोचौकामा व्यस्त हुने गृहिणीहरु उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ता अधिकारको माग गर्दै प्लेकार्ड, ब्यानरसहित भैरहवाको सडकमा उत्रिएका छन् ।
एकाबिहानै भैरहवाको बुद्धचोकबाट प्लेकार्ड र ब्यानर सहित निस्केका प्रभातफेरी र्यालीमा गृहिणीहरुको सक्रिय सहभागिता देखिन्थ्यो ।

विश्वभर उपभोक्ता अधिकार दिवस मनाइरहँदा रुपन्देहीको वाणिज्य कार्यालयमा भने उपभोक्ता स्वयम्ले उपभोक्ता अधिकारको माग गर्दै र ठगिएको भन्दै कुनै उजुरी नदिएको देखिन्छ । कालोबजारीको लागी बिभिन्न ब्यापारी तथा सरकारलाई गाली गर्ने उपभोक्ताहरुले एउटा पनि उजुरी सम्बन्धित निकायमा दर्ता नगराएको सुन्दा झट्ट पत्यार नलाग्न सक्छ ।
बाणिज्य कार्यालय भैरहवाका अनुसार देशमा बिभिन्न उपभोग्य बस्तुको अभाव तथा कालो बजारी रहेको यो समयमा एउटा पनि उजुरी दर्ता नगरेको जानकारी दिएको छ । बाणिज्य कार्यालयका प्रमुख बेद प्रकाश उपाध्यायले उपभोक्ताको उजुरी गर्ने बानी नै नरहेको कारण यस्ता कालो बजारी गर्नेलाई कार्यवाही गर्न कानूनी बाधा आएको बताए ।

जागरुक उपभोक्ताले गरेको उजुरीको आधारमा नै कानूनी कार्यवाहीको बाटो खुल्ने भएकोले आफु ठगिएको, कालोबजारी भएको लगायत उपभोक्ता सित प्रत्यक्ष सरोकार राख्ने अन्य बिषयमा सम्बन्धित कार्यालयमा उजुरी गर्न उपाध्यायले आग्रह गरेका छन । अहिले पनि कतिपय उपभोक्ताहरु आफुले खरिद गरेको समानको बिल समेत माग्न नसकेको उनको भनाई छ । उपभोक्ताहरुले आफुले निर्वाह गर्नु पर्ने कर्तब्यको हेक्का नै नराखी सरकारी निकायका कर्मचारीलाई गाली गर्ने परिपाटी बस्दै गएको उनको गुनासो रहेको छ ।
उपभोक्ता भने बजारमा जे पाईन्छ जुन अवश्थामा पाईन्छ सोही अवश्थामा बिभिन्न उपभोग्य बस्तु खरिद गर्न बाध्य भएका छन । जिल्लामा रहेको अनुगमन समितिले अनुगमन गरे पनि प्रभावकारी अनुगमन हुन नसक्दा र उपभोक्ताहरुले पनि कुनै उजुरी नगर्दा अवैध कारोबार गर्नेहरुका मनोबल झन पछि झन बढ्दै गएको सरोकारवालाको भनाई छ । अनुगमन भएका पसल तथा संस्थानहरुमा पनि कसुर अनुसारको सजाय नभएको उपभोक्ताहरुको गुनासो छ ।

बाणिज्य कार्यालय प्रमुख बेद प्रकाश उपाध्यायले अखाद्य बस्तु प्रयोग भएको, दुषित वा न्यून गुणस्तरको खाद्य बस्तुको उत्पादन वा बेचबिखन भएको जानकारी भएमा जागरुक उपभोक्ताले बाणिज्य कार्यालय वा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गरे । यसै गरि कमसल उपभोग्य बस्तु वा सेवाको उपभोगबाट कुनै प्रकारेका हानी नोक्सानी भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्तिको दावी सहित उजुरी गर्ने बानीको बिकास गर्न उपाध्यायले सुझाव दिए । यसका साथै उपभोक्ताले बस्तु खरिद गर्दा बस्तुको परिमाण, गुणस्तर, मूल्य, उत्पादन मिति, उपभोग्य मिति र मूल्य केरमेट भएको हुन नहुने जस्ता सामान्य कुराहरुमा पनि ध्यान दिए ठगिनबाट जोगिने हुनाले यी कुराहरुमा ध्यान दिन आग्रह गरे ।

कसैले माग आपूर्ति वा मूल्यमा प्रतिकुल प्रभाव पर्ने कार्य गरेमा उपभोग्य बस्तुा उल्लेख गर्नुपर्ने कुराहरु उल्लेख नगरेमा, उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने किसिमको उपभोग्य बस्तु वा सेवाको उत्पादन वा बिक्रि बितरण गरेमा र ऐनमा तोकिए बमोजिमका अन्य दायित्व पुरा नगरेमा कसुरवालालाई उपभोक्ता संरक्षण ऐन २०५४ बमोजिम बढीमा १४ बर्ष सम्म कैद वा ५ लाख जरिवाना वा दुवै सजायको ब्यावस्था रहेको बाणिज्य कार्यालय प्रमुख बेद प्रकाश उपाध्यायले बताए ।

बाणिज्य कार्यालय भैरहवाले उपभोक्ताहरुलाई जागरुक बनाउन तथा उनिहरुको हक अधिकारको बारेमा जानकारी दिन आज मंगलबार विश्व उपभोक्ता अधिकार दिवस मनाउदै छ । दिवसको यस बर्षको नारा “स्वच्छ खाद्य बस्तुको प्रयोग गरौ, स्वास्थ्य र निरोगी बनौ ” भन्ने रहेको छ । प्रत्येक बर्ष १५ मार्चका दिन मनाई या दिवसमा उपभोक्ताको अधिकार सम्बन्धि बिभिन्न बिषयमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको बाणिज्य कार्यालय प्रमुख वेद प्रकाश उपाध्यायले जानकारी दिए ।

यस बर्ष कोठामा मनाउनु भन्दा पनि बजारमा गई उपभोक्तालाई सचेत गर्ने मनसायका साथ भैरहवामा बिभिन्न जनचेतनामूलक नारा तथा पम्पलेट सहित प्रभात फेरी गरिने उपाध्यायले बताइ । दिवसको अवसर पारेर बाणिज्य कार्यालय भैरहवाले प्रभात फेरी कार्यक्रम तथा सम्पन्न गरेको छ ।
भैरहवाको बुद्धचोकबाट शुरु भएको रयालीमा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुखक साथै भैरहवामा क्रियाशिल बिभिन्न संघसंस्थाको उपस्थििति रहेको थियो । बुद्धचोकबाट शुरु भई उद्योग बाणिज्य संघमा पुगी समापन भएको थियो । सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले उपभोक्ताहरु सजग हुनु कानुन कार्यान्वयन इकाइलाई सघाउन र उत्पादकलाई सचेत गराउनु हो भने ।












प्रतिक्रिया