काठमाडौं, १ चैत । सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रकरणमा न्याय परिषद्को अडानबाट न्यायपालिकाको दलीयकरण हुने भन्दै सभामुख ओनसरी घर्तीमगरले दिएको सुझावलाई सकारात्मक रूपमा लिन उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
अपूरो न्याय परिषद्ले तयार गरेको सूचीप्रति गम्भीर आपत्ति प्रकट गर्दै सरकारले त्यसलाई अनुमोदन गरेमा त्यसबाट राजनीतिक संकट आउने भन्दै अप्रत्यक्ष रूपमा सरकारमा आफ्नो निरन्तरताबारे समेत पुनर्विचार गर्ने चेतावनी गच्छदारले प्रधानमन्त्रीलाई दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
शनिबार मध्यरातिसम्म आफ्नो निवासमा रहेका प्रधानमन्त्री ओलीलाई गच्छदारले भनेका थिए, ‘न्याय परिषद्को सिफारिसमा न्यायाधीश नियुक्तिसम्बन्धमा सभामुखले जेजस्तो स्टेप चाल्नुभयो त्यो ठिक–बेठिकभन्दा पनि संसद्मा सुनुवाइ समिति नै नभएको अवस्थामा सिफारिसपत्र पठाउनु गलत भयो ।’
संसदीय सुनुवाइ समिति नभएको तथा संसदीय नियमावली बनिनसकेको न्याय परिषद्लाई समेत थाहा भएको उल्लेख गर्दै गच्छदारले त्यस्तो अवस्थामा न्यायाधीश सिफारिस पठाउनु राम्रो मान्न नसकिने बताएका थिए । ‘न्याय परिष्दले यस्तो अवस्थामा न्यायाधीश सिफारिस नपठाएको भए राम्रो हुन्थ्यो’, गच्छदारलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिफारिस पत्रले ३५ दिन कटाउने र आफ्नो निर्णय कार्यान्वयन गराउने उद्देश्य बोकेको देखियो ।’
सभामुख घर्तीले गत २३ गते विधि र प्रक्रियाविपरीत सर्वोच्च अदालतको न्यायाधीशमा नाम सिफारिस गरिएको भन्दै न्याय परिषद्ले गरेको सिफारिस फिर्ता पठाइदिएकी थिइन् । न्याय परिषद्ले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पत्राचार गरेको थियो ।
सभामुख घर्तीले न्याय परिषद् पूर्ण नभई गरिएको सिफारिस विधि र प्रक्रियाअनुसार नभएको, संसद्को नयाँ नियमावली बन्न नसकेको, संसद्को अन्तरिम कार्यविधिले सुनुवाइबारे प्रस्ट व्यवस्था नगरेको तथा संसदीय सुनुवाइ समिति गठन नभएको भन्दै चारवटा कारण देखाउँदै पत्र फिर्ता गरेकी थिइन् ।
गच्छदारले सरकार सञ्चालन र कार्यान्वयनमा आफ्ना असन्तुष्टि पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए । गच्छदारले प्रधानमन्त्रीसँग भने, ‘इन्धनमा साधारण जनताको पहुँच पुर्याउने कार्यमा सरकार असफल भयो । यसलाई विशेष अभियानका रूपमा अगाडि बढाउन प्रधानमन्त्री स्वयंले नेतृत्व लिनुपर्छ ।’ जनसरोकारका कार्यालयमा जनताप्रति न्याय हुन नसकेको गुनासो पनि उनले गरेका थिए ।
शनिबार राति १० बजेतिर दुईवटा गाडीमा गच्छदार निवास पुगेका प्रधानमन्त्रीका सुरक्षाकर्मी पनि सादा पोसाकमै थिए । करिब डेढ घन्टा लामो छलफलमा कांग्रेसको १३ औं महाधिवेशन र सभापतिमा शेरबहादुर देउवाको विजयका विषयमा पनि चर्चा भएको थियो ।















प्रतिक्रिया