१ कार्तिक २०८३, आइतबार

मर्मतका नाममा लाखौं खर्चः राजमार्गका जम्पिंग उस्तै, दुर्घटनाको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatriya– हेमन्त पौडेल
धनगढी, ३० फागुन । पूर्वपश्चिम राजमार्गको मर्मतका नाममा हरेक वर्ष लाखौं रुपैंया खर्च भएपनि राजमार्गको अवस्था जस्ताको तस्तै रहने गरेको छ ।

पश्चिम गड्डाचौकी देखि पूर्व चिसापानीसम्मको करिब १२७ किलोमिटर सडक खण्डमा हरेक वर्ष मर्मतसम्हार हुँदै आएको छ तर अघिअघि मर्मत गर्दै जाने र पछिपछि भत्कदै जाने गरेको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले उक्त सडक मर्मतका लागि हरेक वर्ष रकम खर्च गर्दै आएको छ । ठाउँठाँउमा परेका खाल्डा र फुटेको सडक मर्मतका लागि ठेक्काबाट काम हुँदै आएको छ । काम हरेक वर्ष हुँदै आएपनि स्तरिय काम नभएकाले तत्कालै सडक भत्किदै आएको छ ।

राजमार्गमा परेका खाल्डा र जम्पिंगहरुका कारण सवारीसाधनलाई आवागमनमा समस्या पर्ने गरेको छ । जम्पिंगका कारण ठूला तथा साना सवारी साधनहरुलाई आवागमनमा समस्या हुने गरेको छ । अहिले पनि पूर्वपश्चिम राजमार्गका कृष्णपुर,अत्तरिया लालपुर,राजीपुर, सुखड, पहलमानपुर,बलचौर लगायतका स्थानमा खतरनाक जम्पिंगहरु रहेका छन् ।

कृष्णपुरको गुलरिया नजिकको जंगलको जम्पिंगका कारण तीन वर्षअघि भएको बस दुर्घटनामा ६ जनाले ज्यान गुमाउनु परेको थियो । यस्तै राजीपुर नजिकको जंगल, पहलमानपुरको आमखैया र बलचौर नजिकको जम्पिंग निकै खतरनाका रहेको छ । पहिलो पटक यो बाटोमा हिँडेका चालकहरुले जम्पिंगका बारेमा जानकारी नभएकाले दुर्घटनाको उच्च खतरा रहेको यातायात ब्यावसायीहरु बताउँछन् ।

पुरानै चालकहरुलाई पनि ती जम्पिंगहरुमा गाडी नियन्त्रणमा राख्न अपठ्यारो हुने गरेको चालक निर्मल मिश्रले बताउनुभयो । बर्षौदेखि ती स्थानमा रहेका जम्पिंगहरुको मर्मत नहुँदा सवारीसाधन चलाउन कठिन हुने गरेको चालक मिश्रको भनाई छ । समयमा जम्पिंग मर्मत नगर्ने हो भने ठूलो दुर्घटना हुनसक्छ उहाँले भन्नुभयो ।

गत वर्ष ६ लाख मात्र खर्च गरेको सडक डिभिजन कार्यालयले यस वर्ष अहिलेसम्म ९ लाख रुपैयाँ खर्च गरेर सडक टालटुल गरेको छ भने अरु १६ लाखको टण्डर निकालेको छ । हालसम्म राजमार्ग टलटुलमात्र गरेको छ भने जम्पिंग निर्माणको काम भने गरेको छैन । सडक डिभिजनको फितलो अनुगमनका कारण राजमार्गका समस्याका बारेमा त्यति गम्भीर नदेखिएको स्थानीयको आरोप छ । वास्तविक समस्या कुन ठाउँमा छ भन्दा पनि राजमार्गमा कालो पोतेर रकम खर्च गरेको आरोप पनि उनीहरुको छ ।

तर, यस वर्ष जाहाँ समस्या छ त्यहाँ काम गर्ने तयारीमा कार्यालय रहेको सडक डिभिजन कार्यालय धनगढीका प्रमुख महेन्द्र पन्तले बताउनुभयो । अबको कार्ययोजनामा जम्पिंग मर्मतका लागि रकम माग गरिने उहाँले जानकारी दिनुभयो ।