१५ कार्तिक २०८३, आइतबार

हात्तीपाइलेको जोखिम कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattipaileबागलुङ, ३० फागुन । सात वर्षदेखि लगातार हात्तीपाइले रोग निवारण कार्यक्रम चले पनि रोगको परजीवी सर्ने क्रम रोकिएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयले बागलुङ अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको जनाएको छ । रोग निवारण कार्यक्रम सकिन लाग्दा परीक्षणमा ‘फाइलेरिया’ नामक परजीवी फेला परेको छ ।

स्वास्थ्य कार्यालयले आम औषधि सेवन कार्यक्रम छैठौँ वर्षमा पुग्दा गत वर्ष गरेको नमुना परीक्षणमा परजीवीको सङ्क्रमण भएका बिरामी पत्ता लागेका हुन् ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठका अनुसार जिल्लाको अमलाचौर गाविसका ३०० व्यक्तिमा गरिएको रगत जाँचमा नौजनामा हात्तीपाइलेको परजीवी पाइएको छ । छ वर्षसम्म लगातार औषधि खुवाउँदा पनि रोग निवारणको अवस्थामा नआएपछि दुई वर्षलाई कार्यक्रम थप भएको छ ।
औषधिप्रति विश्वस्त हुन नसक्नु र जनचेतनाको समेत कमीले सबै मानिस औषधिको पहुँचमा आउन नसकेको स्वास्थ्य कार्यालयको बुझाइ छ । औषधि खान योग्य सबैले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर सरोजकुमार झाले बताउनुभयो ।

उहाँले भन्नु भयो “औषधिप्रतिको भ्रम र अविश्वासजस्ता कारणले पनि कतिपय औषधि सेवनबाट वञ्चित छन्, सबैलाई औषधि सेवन गर्न हामी आग्रह गर्दछौँ ।”

दुई वर्ष नपुगेका बालबच्चा, गर्भवती तथा हप्तादिनको सुत्केरी, सिकिस्त बिरामीबाहेक सबैले हात्तीपाइलेको औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । हात्तीपाइले रोग लाग्न नदिन स्वस्थ व्यक्तिलाई डिइसी र अल्बेन्डाजोल नामक औषधि खुवाउने गरिएको छ । फाइलेरिया परजीवीको सङ्क्रमणबाट लाग्ने यो रोग नेपालको जनस्वास्थ्य समस्याका रुपमा रहेको छ ।

लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो रोगबाट मानिसको शरीरमा हाइड्रोसिल, यौनाङ्ग सुन्निने, खुट्टा फुल्ने, हिँडडुल गर्न नसक्नेजस्ता समस्या उत्पन्न हुने गरेको छ । नेपाल सरकारले सन् २०२० भित्र हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । रासस