
मकवानपुर, २९ फागुन । नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ कार्यान्वयनमा एमालेको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
संविधान घोषणा एतिहासिक उपलब्धि, अबको लक्ष्य राष्ट्रिय एकता र त्यसको समृद्धि, ‘संविधान कार्यान्वयन तथा राष्ट्रिय एकता, सुदृद्धिकरण र समृद्धि अभियान’ अन्तर्गत देशैभरि संचालन भइरहेको एमाले अगुवा कार्यकर्ता प्रशिक्षणको अवसरमा शनिबार थाहा नगरमा आयोजित कार्यक्रममा भुषालले यस्तो बताएका हुन् ।
भुषालले संविधान कार्यान्वयनका लागि एमालेले अगुवाई गर्ने दाबी गर्दै पूर्ण कार्यान्वयनमा आउन ३० वर्ष लाग्ने बताए । उनले भने, ‘यो संसारकै उत्कृष्ट संविधान हो, यो संविधानलाई कार्यान्वयन गर्न सकिएन भने कहिल्यै पनि संविधान बन्न सक्दैन ।’
भुषालले संविधान कार्यान्वयनमा आएको ३ वर्षभित्र प्रत्येक युवाहरुले रोजगारी पाउने र नपाएमा सरकारले बेरोजगार भत्ता दिनु पर्ने, गाँस, बास र कपासको अनिवार्य व्यवस्था गरेको संविधानलाई गलत तत्वहरुले आफ्ना फाइदाका लागि कार्यान्वयन हुन नदिने षड्यन्त्र गरेको बताए । उनले भने, ‘हेर्नोस्, अब मधेसीलाई मात्र होइन, तपाई पहाडिया तथा क्षेत्री बाहुनलाई पनि हिन्दू राज्यका बारेमा भड्काएर फेरि अशान्ति फैलाउने चेष्टा गर्न सक्छन्, सबै यसमा होसियार हुनुस् ।’
नेकपा एमाले मकवानपुर क्षेत्र नं. २ को आयोजनामा भएको अगुवा क्षेत्रीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सदस्य बिरोध खतिवडाले अब फेरि आफ्नो अधिकारका लागि हतियार उठाउनु पर्ने दिन गएको बताउँदै अब बिस्तारै मुलुकको विकासका लागि समय दिनुपर्ने अबस्था आएको बताए ।












प्रतिक्रिया