आमा भए संसारको खुशी चाहिँदैन
सबै बुझ्ने मेरी आमा कहीँ पाईंदैन
आमा ! एउटा मीठो नाम अनि भावनात्मक सम्बन्ध । जुन सम्बन्ध सिधै मन अनि मस्तिस्कसँग जोडिएको हुन्छ । आमा एउटा यस्तो सम्बन्ध हो जसबाट कोही भाग्न सक्दैन र भाग्दैमा टाढा हुन सक्दैन । यौटा अचम्मको साइनो आमा ।
मुखियाको घरमा जन्मिनु भएकी मेरी आमाले एक दिन पनि ढिंडो खानु परेन । सधैं भात । त्यतिबेला मान्छेले टन्न खान पाउनु नै ठुलो कुरा हुन्थ्यो । त्यसमाथी पनि भात खान पाउनु त सायद भाग्य कै कुरा हुन्थ्यो । त्यतिमात्र नभएर पहिले पहिले छोरीलाई पढाउने कुराको आफ्नै बुवा–आमाको विरोध हुन्थ्यो । जसको चपेटामा मेरी आमा पनि नपर्ने त कुरै भएन । मेरो हजुरबुवा सारै मायालु र दयालु पनि हुनुहुन्थ्यो रे । त्यसैले आफू नखाएर अरुलाई खुवाउने, आफू मरेर अरुलाई बचाउने उहाँको विशेषता नै थियो । त्यसैले मेरो मामा घरमा मानिसहरुको घुईंचो लाग्ने गर्दथ्यो रे ।
पहिले पहिले सानैमा बिहे गर्ने चलन । मेरी आमाका लागि हजुरबुवाले आफ्नो चिनजानको मान्छेको छोरासँग बिहे गराउने छिनोफानो आमा पेटमा हुँदै भइसकेको रहेछ । जब आमा ५ बर्षकी हुनुभयो तब हजुरबाबाले आमालाई बिहे गरेर पठाइदिनु भयो । आमा धेरै सानी भएकाले बिहेपछि २–३ वर्ष जति मामाघर मै बस्नु भएछ । मेरी आमालाई त्यो बिहे सायद भाँडाकुट्टी खेले झैं लाग्यो होला । बिचरी उहाँलाई के था जिन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा जीवनमा घटिसकेको छ । जसका बारेमा जिन्दगी जिउने मान्छेलाई नै थाहा छैन । यसरी दिनहरु बित्दै गए । आमा जब ८–९ वर्षको हुनुभयो अर्थात् अलि बुझ्ने हुनुभयो त्यसपछि आफ्नो घरमा हजुरबाबाले नै लगिदिनुभयो ।
हो मेरो बुवा बोल्न र सुन्न नसक्ने हुनुहुँदो रहेछ । जुन पछि मात्र थाहा भयो । गरिब परिवार, त्यहाँ माथि बोल्न र सुन्न नसक्ने लोग्ने । यो पीडा भोग्नेलाई मात्र थाहा छ, जुन थाहा पाउँदा मेरी आमालाई के भयो होला म सोच्न पनि सक्दिन ।
बिचरा कलिलो उमेरमा बिहे गरेकी मेरी आमाले सानै उमेर भए पनि धेरै काम गर्नु हुन्थ्यो रे । बिहान ३ बजेदेखि उठ्ने मकै छोडाउने, दैलो पोत्ने, गोबर सोर्ने घाँसपात गर्नेलगायतका सारा काम गर्नु हुन्थ्यो रे । पहिले पहिलेका जमानामा यी सारा काम सामान्य नै थिए । सबैका बुहारीले जस्तो पनि जोखिमपूर्ण काम गर्नुपर्दथ्यो । जुन सुन्दा अहिले हामीलाई सपना जस्तै लाग्छ । मेरो बुवा सामान्य परिवारमा जन्मिएको मान्छे । जहाँ प्रायः ढिंढो पाक्थ्यो । त्यो पनि टन्न खान गा¥हो नै हुन्थ्यो रे । यी सबकुरा त पहिलेका मानिसका लागि सामान्य कुरा नै थियो ।
हरेक सम्बन्ध स्वार्थमा टिकेका हुन्छन् । जब चित्त बुज्दैन छिन्भरमै टुटाइदिन्छन । स्वार्थकै लागि मानिस सम्बन्ध बनाउँछन् त स्वार्थकै लागि तोडिदिन्छन पनि । आजकाल थोरै दुख पनि सहन सक्ने जमाना छैन । सबैलाई सुखको जिन्दगी चाहिएको छ । त्यसैले अहिलेका सम्बन्धहरुको कुनै मूल्य नै छैन ।
सबैभन्दा सहन नसक्ने कुरा त पछि थाहा भयो जुन कुराले गर्दा मेरो आमाका लागि सबै कुरा एकछिन अमुर्त बनिदिए । हो मेरो बुवा बोल्न र सुन्न नसक्ने हुनुहुँदो रहेछ । जुन पछि मात्र थाहा भयो । गरिब परिवार, त्यहाँ माथि बोल्न र सुन्न नसक्ने लोग्ने । यो पीडा भोग्नेलाई मात्र थाहा छ, जुन थाहा पाउँदा मेरी आमालाई के भयो होला म सोच्न पनि सक्दिन । तपाईंहरुलाई यो पढिरहँदा सामान्य कहानी लागिरहेको होला । तर मेरी आमाको पात्रमा आफू राखेर जीवन जिएको कल्पना गर्नुस्, त्यो जीवन कति कठिन छ भनेर तब मात्र महसुस गर्नु हुनेछ ।
मेरी आमाको जिन्दगीले यौटा नयाँ मोड लिएको थियो । आमाले आफ्नो धर्म कहिल्यै छाड्नु भएन । उहाँले चाहनुभएको भए यी सबै परिस्थितिबाट भाग्न सक्नुहुन्थ्यो । किनकी पहिलेको जमानामा भागेर बिहे गर्ने स्वतन्त्रता अहिलेको भन्दा बढी थियो । त्यसैले त हाम्रा हरेक हजुरबाका २÷३ वटी श्रीमतीका हाँगा बिंगाले दसैंमा टीका लगाउन पालो पाई नपाई हुन्छ नि । या भनौं जुठो बार्दाको हैरान । यसरी मेरो अपांग बुवासँग मेरी आमाले सानैदेखि आफ्नो यात्रा सुरु गर्नु भयो । यो बिचमा मेरी आमाले पाएको दुःख र अप्ठ्याराहरु कहिलेकाहिँ सम्झँदा आफैंलाई रुन मन लागेर आउँछ ।
आमाले १० वटा सन्तान जन्माउनुभयो । जसमा १ जना दादासहित हामी ६ जना दिदीबहिनी बाँच्न सफल भयौं । धेरै दुःख गरेर आमाले हामीलाई पढाउनु भयो, हुर्काउनु भयो, राम्रो संस्कार दिनुभयो र त हामी पनि सधैं सही बाटोमा लाग्यौ । एउटा असल मानिस बन्नुमा उसका आमा बुवाको सबैभन्दा ठूलो हात रहेको हुन्छ । जसमा मेरो आमाको ठूलो हात छ । आज सबैको विवाह भइसक्यो । सबै छोरीहरु सुख ठाउँमा आफ्नो जीवनयापन गर्दै हुनुहुन्छ । पहिलाको तुलनामा आमाले अहिले धेरै सुखसँग परिवारमा रमेर बस्न पाउनुभएको छ । उहाँ सधै भन्नुहुन्छ– मेरा सन्तान नै सधैं मेरा तागत बने । यिनीहरुलाइ सानो खुशी दिएर एउटा सफल आमा बन्नु नै मेरो उद्देश्य थियो ।
आमाले हाम्रा लागि यति लामो समय बिना आफ्नो खुसीको बारेमा सोची धेरै दुख गर्नु भयो । हामीलाई धेरैले लाटा बाउका छोरीहरु भन्थे । कसैले त्यसो भनेको सुन्दा हामी धेरै रुन्थ्यौं । हामीलाई त त्यति नराम्रो लाग्थ्यो भने बिचरी मेरी आमालाई त कतिले के–केसम्म भने होलान ? मलाई आज पनि मेरो बुवालाई हामीले बुवा भनेर बोलाउँदा पनि नसुन्दा सारै रुन मन लागेर आउछ । मेरी आमालाई के भयो होला हामी आफ्नो बाबासँग आफ्नो मनको कुरा कति भन्न मन लाग्थ्यो होला । तर ती सारा कुरा भन्न पाएनौं । बुबा भन्दा बुबाले कहिल्यै हजुर भनेर बोल्नुभएन । इसारा गरेर कहिल्यै बोल्न आएन ।
आमालाई पनि आफ्नो पतिसँग कति कुरा गर्न मन लाग्थ्यो होला । उहाँलाई के भयो होला ? बुवा केही भन्न खोज्नुहुन्छ तर हामी बुझ्दैनौं । तर मेरो बुबा माथि मलाई सधैं गर्भ छ । नबोल्ने, नसुन्ने भए पनि बाबा लेख्न, पठ्न सक्नुहुन्छ । एकदम चलाख हुनुहुन्छ । बुबाले हाम्रालागी भनेर धेरै दुःख गर्नुभएको छ । खैर मलाई भन्न मन लागेको कुरा यति हो की सहनशीलता धैर्यता र धर्म भन्ने कुरालाई मानिसले सधै अपनाउनुपर्छ । जब यी कुरालाई मान्छेले अपनाउँदैन तब उ समाजका लागी स्वीकार्य बन्न सक्दैन । भनौं की उसको जीवन असफल हुन्छ ।
आजकलका हरेक सम्बन्ध स्वार्थमा टिकेका हुन्छन् । जब चित्त बुज्दैन छिन्भरमै टुटाइदिन्छन । स्वार्थकै लागि मानिस सम्बन्ध बनाउँछन् त स्वार्थकै लागि तोडिदिन्छन पनि । आजकाल थोरै दुख पनि सहन सक्ने जमाना छैन । सबैलाई सुखको जिन्दगी चाहिएको छ । त्यसैले अहिलेका सम्बन्धहरुको कुनै मूल्य नै छैन । अचम्म लाग्छ यस्तै हो भने केही समयपछि मानिस हुनुको कुनै मूल्य नरहला । विश्वासको कुनै स्थानै नरहला अनि मानिसको अस्तित्व नै नरहला । खैर आज हाम्रो परिवार निकै सुखी र खुशी छ यो सब मेरी आमाको देन हो । सन्तानको सामिप्यता र सन्तानको खुसीका लागि कर्मशील भई प्रतिबद्ध रहनु आमाको भूमिका हो । यो भूमिका हिजो पनि थियो र आज पनि छ । आमाहरुको जीवन सन्तानका लागि बाँचेको हुन्छ । त्यसैले आमाको सही सम्मान सन्तानबाट पनि हुन जरुरी छ । आमाहरुप्रतिको कतव्र्यलाई हामी सन्तानले कहिल्यै भुल्न हुँदैन ।















प्रतिक्रिया