करिब साढे तीन दशकअघि सन् १९८१ मा पहिलो पटक देखिएको एचआईभी एड्स निको पार्ने औषधिको खोजीमा विश्वका वैज्ञानिकहरुले पनि त्यति नै लामो समय खर्चिएका छन् ।
तर ३४ वर्षसम्मको उनीहरुको अथक प्रयास सार्थक बन्न भने सकिरहेको छैन । यद्यपि त्यस संक्रमण दर घटाई बिरामीको आयु बढाउने उपायमा भने उनीहरु आंशिक सफल हुन सकेका छन् । आज सोही आंशिक सफलताका कारण पनि यस रोगको सङ्क्रमणमा विश्वव्यापी रुपमा नै केही कमी आएको तथ्याङ्कले देखाएका छन् ।
यो रोगको पहिलो संक्रमण देखिएयता यसबाट कम्तीमा पनि सात करोड ८० लाख नागरिक सङ्ंक्रमित भइसकेका छन् । राष्ट्रसङ्घीय एड्स कार्यक्रमले दिएको जानकारीअनुसार विश्वमा यो सङ्क्रमणका कारण तीन करोड ९० लाख नागरिकको ज्यान नै गइसकेको छ ।
यसरी हेर्दा यो सक्रमण विश्वमा नै सबैभन्दा धेरै नागरिकको ज्यानलिने र घातक सङ्क्रमणका रुपमा देखिन्छ । यो सङ्क्रमणले विशेषगरी अफ्रिका र अमेरिकी मुलुकहरुमा आफ्नो प्रभाव विस्तार गर्ने र धावा बोल्ने काम गरिरहेको छ ।
शरीरबाट एड्सका किटाणुहरु नै हट्ने र पूर्णरुपमा निको हुने औषधि पत्ता लगाउन नसकिए पनि सङ्क्रमितहरुको आयु बढाउने केही औषधि तथा यसको समाजिक उपचारको अभियानका कारणले पनि बर्सेनि यसमा हुने सङ्क्रमणमा केही कमी ल्याउने काम भने केही हदसम्म हुन सकेको देखिन्छ ।
एड्स आफैमा कुनै रोग नभएर सङ्क्रमण भएकोले अरु रोगका कारण पनि यसको सङ्क्रमण बढी हुने र सोही सङ्क्रमणका कारण ज्यान जाने गरेको विश्वव्यापी रुपमा गरिएका अध्ययन अनुसन्धानहरुले देखाएका छन् । त्यसैले पनि यसलाई कमगर्नका लागि अरु र घातक रोगबाट बिरामीलाई बचाउनु आवश्यक छ ।
एड्स विशेषगरी असुरक्षित रुपमा गरिने यौन सम्पर्कबाट हुने सङ्क्रमण हो । एचआईभी एड्स भएका महिला र पुरुषसँग गरिने असुरिक्षत यौन सम्पर्कले यसको सङ्क्रमण हुन्छ । त्यसक अतिरिक्त लागू औषधका अम्मलीले सुईबाट लागू औषध लिने र सुई साटासाट गरेर लिँदापनि यसको सङ्क्रमण बढ्ने गरेको छ । अनि एचआईभी सङ्क्रमित आमाबाट जन्मिएको बच्चामध्ये पनि केहीमा यो सङ्क्रमण सर्ने खतरा रहन्छ ।
त्यसैले नै विश्व स्वास्थ्य संगठनले नै विश्वमा क्षयरोग र मलेरियाको सङ्मणमा कमी ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैआएको छ । सहस्राब्दि विकास लक्ष्यअनुसार आगामी सन् २०१५ सम्ममा यी रोगहरुको प्रकोपमा कमी ल्याउने कार्यक्रमहरु विश्वव्यापी रुपमा सञ्चालन गरिएको छ ।
क्षयरोग र मलेरिया विश्वमा एचआईभी एड्सको सङ्क्रमणलाई बढाउने एक प्रमुख चुनौतीका रुपमा देखिएको छ । त्यसैले पनि एड्समा कमी ल्याउनका लागि यो स्वास्थ्य नीति विश्वव्यापी रुपमा अबलम्बन गरिएको छ ।
गरिब एवम् सव सहरान देशहरुमा प्राय एड्सका किटाणु अभाव र अशिक्षाबाट फैलिने मान्यता राखिन्छ । त्यसैले ती देशहरुमा सामाजिक जनचेतनाका साथै विभिन्न अभियानहरु यसको निराकरणका लागि सञ्चालन गर्ने गरिन्छ । ती देशहरुमा विश्वका दाता संस्था एवम् दाता राष्ट्रहरुले पनि एन्टिरेक्टो भाइरल औषधि पु¥याएका छन् । तर त्यो औषधि पर्याप्त भने अझैपनि छैन ।
एन्टिरेक्टो भाइरल एचआईभी सङ्क्रमण भएका व्यक्तिहरुको आयु बढाउने औषधि हो । यसले ती सङ्क्रमितहरुको आयु २० वर्षसम्म बढाउन सक्छ । यो औषधिलाई विश्वव्यापी त बनाइएको छ तरपनि पर्याप्त बनाउन सकिएको छैन ।
यिनै कारणहरुले गर्दापनि विश्वमा एड्सको सङ्क्रमण पछिल्ला समयमा पहिले अनुमान गरेकोजति बढिरहेको देखिएको छैन । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रसङ्घीय एड्स निकायले भनेको छ– प्रगति त निकै मन्द गतिमा छ तर उपलब्धिहरु भने हात लागिरहेकै छन् ।
सन् १९९० को दशकमा एचआईभी सङ्क्रमणको विस्तारले निकै नै विस्फोटक रुप लिएको थियो । सन् १९९७ मा मात्र २८ लाख नयाँ एड्स सङ्क्रमित थपिएका थिए । संयुक्त राष्ट्रसङ्घीय एड्स कार्यक्रमले विश्वमा सोही समयदेखि नै यसको विस्तारित रुप भयावह हुने देखेको थियो । तर पछिल्ला वर्षहरुमा त्यो निराशा कमै देखिन थालेको पाइन्छ ।
सोही निकायले गरेको पूर्वानुमान विपरीत सन् २०१३ मा कमैमात्र नयाँ एचआईभी सङ्क्रमित थपिएका छन् । सन् २०१३ मा विश्वमा १८ लाख नयाँ सङ्ंक्रमित थपिए । यो सङ्ख्या यसअघि गरिएको पूर्वानुमान भन्दा निकै कम हो । त्यसैगरी सन् २००५ मा यो सङ्क्रमणबाट १७ लाख नागरिकको मृत्यु भएकोमा गतवर्ष भने यो सङ्ख्या घटेर १३ लाख मा आएको थियो ।
सन् २०१३ मा मात्र तीन करोड ५० लाख नागरिक यो सङ्क्रमणबाट सङ्क्रमित भएर बाँचिरहेका छन् । ती मध्ये अधिकांश नागरिक अफ्रिकाका रहेका छन् । राष्ट्रसङ्ंघीय एड्स कार्यक्रमले दिएको जानकारीअनुसार विश्वमा एचआईभी सङ्क्रमणबाट बाँचिरहेका करिब साढे तीन करोड नागरिकमध्ये ७१ प्रतिशत नागरिक उप सहारान क्षेत्रका नागरिक रहेका छन् ।

गत वर्षमात्र लिइएको एक तथ्याङ्कअनुसार विश्वका १३ प्रतिशत सङ्क्रमित नागरिकहरुले मात्र एचआईभी एड्स सङ्क्रमणको दर कमगर्ने र आयु बढाउने औषधिमा पहूँच पाएका छन् । ती नागरिक कम आय भएका र मध्मवर्गीय परिवारका नागरिक रहेका छन् । उनीहरुमा यो औषधिमा पहुँच नपुगेको पनि समाचारमा जनाइएको छ ।
विश्वमा सङ्क्रमित भएका ती नागरिकमध्ये २८ प्रतिशत नागरिक यो औषधि प्राप्तिको लागि विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र परिसकेका पनि समाचारमा जनाइएको छ । सो औषधिलाई सर्वसुलभ बनाउनुका साथै विश्वमै प्राणघातक रोगका रुपमा रहेको एचआईभी एड्सको उपचारको खोजी हालै अष्ट्रेलियाको मेलबर्न सहरमा सम्पन्न २० औं विश्व एड्स सम्मेलनमा पनि भयो ।
हाल प्रचलनमा रहेको यस सङ्क्रमणको औषधिले रोग निको हुन नसक्ने भएकोले यसको उपचारको खोजी विश्वव्यापी रुपमा जारी नै छ । यस पटकको विश्व एचआईभी एड्स सम्मेलनमा पनि यो रोगको उपचारको बारेमा व्यापक छलफल एवम् परामर्श भएको हो ।
वैज्ञानिकहरुले केही समय पहिला छ जना एचआईभी सङ्क्रमितहरुमा गरिएको परीक्षणबाट उपचारमा केही सफलता हातलाग्ने देखिएको सो सम्मेलनमा बताएका थिए । यस परीक्षण र यसको उपचार विधिलाई ‘किक एन्ड किल’ नाम दिइएको छ । वैज्ञानिकहरुले यस विधिका लागि पनि यसअघि देखि संक्रमितको आयु बढाउने काममा प्रयोग गरिँदै आएको औषधि एन्टीरेक्टोभाइरलकै सहारा लिइने बताएका छन् ।
सो औषधिको माध्यमबाट एचआईभी भाइरललाई बिरामीको रगतको तल्लो तहसम्म ल्याइने र रगतमा रहेका एड्सका ह्युमन इम्युनो डिफिसियन्सी भाइरसलाई एक विशेष प्रकारको थेरापीको माध्यमबाट शरीर बाहिर निकालिने छ । तर त्यो थेरापी केही महँगो र जटिल प्रकारको हुने वैैज्ञानिकहरुको भनाई छ । उनीहरुले यस थेरापी दिनहूँ गर्नुपर्ने र झन्झिटिलो भएको भने स्वीकारेका छन् ।
सो थेरापी रोकेपछि भने एचआईभीका किटाणुहरु पुनः सक्रिय हुने र उनीहरुले थेरापी रोेकेको दुई हप्तापछिदेखि नै बिरामीलाई आक्रमण सुरु गर्नसक्ने पनि सो परीक्षणले देखाएको छ । वैज्ञानिकहरुले सो औषधि उपचारको अनुसन्धान विगत तीन वर्षदेखि निरन्तर रुपमा गरिरहेका छन् । उनीहरुको यो परीक्षण साइड इफेक्ट गर्नसक्ने प्रकारको भएको पनि उनीहरुकै अनुसन्धानबाट देखिएको छ ।
एचआईभी एड्सलाई निको पार्ने औषधि अहिलेसम्म विश्वका कुनैपनि देशका वैज्ञानिकले पत्ता लगाउन सकिरहेका छैनन् । उनीहरुले पत्ता लगाएको एन्टीरेक्टो भाइरल नामको औषधिले यो सङ्क्रमण निको पार्ने नभई सङ्क्रमितको आयु केही समयसम्म पर धकेल्नसक्ने छ ।
वैज्ञानिक विकासँगै त्यसका जटिलताहरु पनि थपिँदै जाने क्रम विश्वका विभिन्न क्षेत्रमा कायम रहने प्रवृत्ति स्वास्थ्य क्षेत्रमा पनि कायमै छ र यसको पछिल्लो शिकार यो सङ्क्रमण पनि हो । हेरौँ हालैका केही वर्षयतामात्र देखिएको यो घट्दो सङ्क्रमण दरले यो सङ्क्रमणको निदानको उपाय पनि निकाल्न सक्नेछ । रासस / विभिन्न एजेन्सीहरुको सहयोगमा














प्रतिक्रिया