१५ कार्तिक २०८३, आइतबार

कोही बेखबर कोही उत्साहित, तर कोही भन्छन् मधेस काँग्रेसको मुटु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Mahadabashion-4

– दीपेन्द्र सापकोटा
काठमाडौँ, २३ फागुन । गत बिहीबार राजधानीको खुल्लामञ्चमा मुलुककै सबैभन्दा ठूलो र पुरानो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा करिब २०० मिटर छेउकी एक खुद्रा व्यापारी त्यसबाट बेखबर हुनुहुन्थ्यो ।

राजनीति नबुझ्ने दोलखा घर भएकी डोमा शेर्पालाई काँग्रेसको महाधिवेशनसँग केही सरोकार थिएन । उहाँलाई त एउटै कुरामा चिन्ता थियो आफ्नो व्यापार आज कति सय या हजारको हुन्छ भनेर । दिनको दुई हजारदेखि रु दुई हजार ५०० सम्म व्यापार गर्ने उहाँले भन्नुभयो, “मलाई राजनीतिमा लगाव छैन, कुन पार्टी के हो थाहा छैन, म आफ्नै व्यवसाय गर्छु, अहिलेसम्म भोट पनि हालेको छैन ।”

आज (आइतबार) काँग्रेसको निर्वाचन प्रक्रिया चलिरहँदा भृकुटीमण्डप परिसरमा पाटनकी नानीमैँया खत्री र उदयपुरकी निर्मला गेलाल खुद्रा पसल थापेर बसिरहनुभएको थियो । राजनीति के हो ?, काँग्रेस को हो ? र के हो महाधिवेशन भनेको केही हेक्का छैन उहाँहरुलाई । तर तीन दिनदेखि लागेको भिडका कारण उहाँहरुको व्यापार भने चौपट्टै बढेको छ । उहाँहरु एकै स्वरमा भन्नुहुन्छ, “हामीले पढेको पनि छैन राजनीति के हो थाहा छैन, तर यो भिडका कारण हाम्रो व्यापार बढेको छ ।”

यी त भए शिक्षाको ज्योतिबाट वञ्चित पुस्ताका कुरा । तर कोही भने मुलुककै लोकतान्त्रिक आन्दोलनको सदावहार हिस्सा नेपाली काँग्रेसकोे महाधिवेशनको नतिजाले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने कुरा गर्छन् । राजधानीको कलेजमा भर्खरै स्नातक सकेका रुकुमका युवा विजयकुमार चन्द कुनै राजनीतिक दलका कट्टर समर्थक या विरोधी त होइनन् नै, कार्यकर्ता पनि होइनन् । तर काँग्रेसको महाधिवेशनलाई उनले गहिरिएर निहालिरहेका छन् । काँग्रेस ठूलो दल हुनुका नाताले उसमा आएको नयाँ नेत्तृत्वले राष्ट्रिय राजनीतिमा प्रभाव पार्नेमा ढुक्क रहेका उहाँले भन्नुभयो, “राजनीतिबिना देश बनाउने कल्पना पनि गर्न सक्दिन, त्यसका लागि काँग्रेसमा देश बनाउन सक्ने ‘भिजनरी’ नेतृत्व आओस्, शुभकामना !”

दैलेख घर भएका तथा यहाँको कान्तिपुर इन्टरनेसनल कलेजमा अध्ययनरत् छात्र प्रकाश शाही काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका सक्रिय कार्यकर्ता हुनुहुन्छ । राजनीतिमा आफ्नो भविष्य देख्नुभएका उहाँ काँग्रेसको महाधिवेशनबाट सही नेतृत्व छानिनेमा उत्साहित हुनुहन्छ । पछिल्लो समयमा तराई–मधेसमा पार्टीको स्थिति केही कमजोर भएको आँकलन गरेर चिन्ता व्यक्त गर्नुभएका उहाँ पार्टी विभाजनपछि एक एर्कालाई हिलो छ्याप्तै दुई÷तीन पक्ष भएकामा झन् चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “पार्टी विभाजन भएयता एकले अर्कालाई आफूमात्र चोखो भएको भन्दै आरोप लगाउँछन्, पार्टीमा भावनात्मक एकताको खाँचो छ ।”

धनुषाबाट आएका महाधिवेशन प्रतिनिधि शम्भुनाथ झा भने मधेस केन्द्रित दलहरुको पछिल्लो आन्दोलनले मधेसमा काँग्रेसको साखमा केही पनि कमी नआएको ठोकुवा गर्नुहुन्छ । मधेसलाई काँग्रेसको मुटु मान्ने उहाँले भन्नुभयो, “मधेसको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्छ, किनकी काँग्रेसको मुटु भनेकै मधेस हो ।” रासस