विराटनगर, १० साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटघाट तीव्र बनेको छ ।
शुक्रवार साँझ नेपाल आउनु भएकी विदेशमन्त्री स्वराज शनिवार बिहानैदेखि भेटघाटमा व्यस्त बन्नुभएको छ ।
उहाँले शनिवार बिहानै मदेसवादीदलहरुसँग भेटवार्ता गनुृभएको थियो । त्यसपछि उहाँले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङसँग भेटवार्ता गर्नुभयो ।
सिंहदरबारमा भएको भेटमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
छलफलका क्रममा स्वराजले भारतले नेपालसँगको सम्बन्ध अझै सुमधुर बनाउने पहल गरिरहेको बताउनु भएको थियो ।
स्वराजले भारतले नेपालसँग जनस्तरदेखि संसदसम्म नै सुमधुर सम्बन्ध बनाउने पहल गरिरहेको बताउनु भएको भेटपछि नेम्बाङले जानकारी दिनुभयो ।
भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा मोदीले संसदमा गर्ने सम्बोधनका बारेमा पनि छलफल भएको थियो ।
मोदी आगामी साउन १८ गते औपचारिक भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ ।
भेटमा संविधान निर्माणका बारेमा पनि छलफल भएको थियो ।
त्यसैगरी विदेशमन्त्री स्वराजले शनिवार नै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्नुभएको छ ।
त्यसैगरी स्वराजले परराष्ट्र मन्त्री महेन्द्र पाण्डेसँग पनि भेटघाट गर्नुभएको छ । शनिवार नै उहाँ मिनेटबाट नेपाल भारत संयुक्त बैठकमा सहभागी हुनुहुने छ ।
त्यसपछि उहाँले राष्ट्रपति भवन गई राष्टपतिसँगं भेटघाट गर्ने कार्यक्रम छ । उहाँको प्रधानन्याधीश, प्रधानमन्त्री, उपराष्ट्रपति, उपप्रधानमन्त्री पूर्वप्रधानमन्त्री तथा प्रमुख नेताहरूसँग भेटघाट गर्ने तालिका पनि शनिवारकै छ ।
शनिवार नै साँझ ७ बजेदेखि परराष्ट्र मन्त्रीले आयोजना गरेको रात्रिभोजमा याक एण्ड यति होटेलमा सहभागी हुने कार्यक्रम छ ।














प्रतिक्रिया