
नेपाली कांग्रेसको महाधिवेशन नजिकिएको बेला आफ्ना नजिकका दाई, मित्र, प्रियजनहरु खोजिरहें । पूर्वीय परम्परामा हुर्किएका कारण स्वार्थमा अडिएको सम्बन्धको सानो लाभ उठाउनु स्वभाविक ठानिदिएँ । स्वार्थ ठूलो थिएन, नेपाली कांग्रेसको महाधिवेशनस्थलको प्रवेशपत्रको खोजी थियो । हुन त मेरो प्रवेशले न कांग्रेसमा कुनै नेताको जित हुनसक्थ्यो, न हार नै । ५ हजार मान्छेभित्र हिँड्दा एउटा फरक टाउकोको फगत उपस्थिति हुन्थ्यो, भोटका सन्दर्भमा । तर, त्यहाँको वातावरणको सम्बन्धमा भने मेरा सोचहरुसँगको तालमेलले केही नयाँ आवरणको लेखन बन्थ्यो की ? भन्ने परिकल्पनमा मात्र हो । यद्यपी, महाधिवेशन अहिले जारी छ, यसको परिणाम सुखद आउनेछ भन्ने विश्वास मैले पनि लिएको छु ।
आलेखको उठान मैले प्रवेशपत्र पाइँन भन्ने होइन । ठूलो छाती भएको ठूलो पार्टीका वरिष्ठ मानिसहरुको चालामाला एकातिर होला तर कनिष्ठ उत्तराधिकारीहरुको हृदयको क्षेत्रफल साँघुरो रहेको सामान्य गुनासो मात्रै हो । यद्यपी, मतदान अहिले भइरहेको छ । यो विषयको बहसभन्दा पनि अबको कांग्रेस नेतृत्वको बहस गर्दा सरल र सहज हुनसक्छ । यो मात्र कांग्रेसीजनका भविष्यहरुको हृदयको परिधिले छुनैपर्ने सामान्य मुद्दामात्रै हो । बाँकी कुरा भृकुटीमण्डपमा गरौंला ।
वीपी कोइरालालाई नेपाली समाजवादको चिन्तक नभनी त्रिभुवनलाई गद्दीमा फर्काएर लोकतन्त्र मास्ने जडका रुपमा व्याख्या गरियो भने के सन्देश जान्छ ? यसर्थ, जसरी वीपी महामानव थिए, उनका गल्ती र कमजोरीहरु पनि थिए । त्यसरी हर मानवमा गल्ती र कमजोरीहरु परिबन्धमा पर्दा देखिन्छन्, ती ‘अल्टिमेट’ गल्तीहरु होइनन् ।
अमेरिकी लेखक जोन लुइसले भनेका छन्– विश्वास गरेको विषयमा बोल्न र नबोल्नका लागि तपाईं डराउने होइन त्यसका लागि तपाइसँग उत्साह अनिवार्य हुनुपर्छ । जोसँग उत्साहको कमी छ, उसले नयाँ जीवनको परिकल्पना विरलै गर्दछ । नयाँ जीवन युग सुहाउँदो जीवनको लक्ष्य हो । यदी यही लक्ष्य पछ्याउने हो भने परिवारका सदस्यलाई जबरजस्ती आफ्नो समुहमा राखेर मै आधिकारीक संस्थापन हुँ भन्नुको अर्थ अति कनिष्ट सोचको परिणामका रुपमा देखा पर्दछ । यद्यपी, कांग्रेस निर्माणका लागि गरिएको त्याग तपस्या र बलिदान एकातिर भए, त्यसको भविष्यको संरक्षणको आधारविन्दुलाई ओझेलमा पार्ने वक्तव्यवाजी र मिडियाबाजी त्यति सुहाउँदो देखिँदैन ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मैदानमा उत्रिएका अनुहारमा कसैको कद सानो होला, कसैको ठूलो होला तर क्षमता र दक्षता आफूमा भएको परीक्षा लिने मौका पनि भएकाले चुनावी मैदानको स्पर्धाको नतिजा नआउँदासम्म केही भन्न मिल्दैन । अहिले कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाको एउटै लक्ष्य छ, सभापतिमा जसरी पनि जितेर देखाउने । यतिबेला तीनै जनालाई लागेको हुनसक्छ एउटा जित अनिवार्य छ । त्यस्तो जित जसले जीवनमा गरेका सवै गल्तीहरुप्रतिको पछुतो रहनेछैन । अर्थात्, सभापतिमा जित्दा तीनै जनाको मन र मस्तिष्कमा हर्षको बाढी पलाउनेछन्, पहिले गरेका गल्तीहरुप्रति गुनासो रहनेछैन । तर, गुनासो नरहने गरी जित्नैपर्ने कारण किन हुन्छ ? यो अवसरको लाभ लिनसक्दा भोलिका दिनमा राम्रो र सन्देशमुलक काम गर्न सकियोस् भन्ने एकथरीको अपेक्षा हुन्छ, अर्काथरीको पदमा पुगेपछि त्यसको मात्रै लाभ लिन पाए ढुक्क हुन्थ्यो भन्ने मनसाय हुन्छ ।
नेपाली कांग्रेसको इतिहास बलियो छ । वर्तमान झन बलियो छ तर भविष्य कमजोर छ । भविष्य बलियो बनाउनका लागि बलियो नेताको खाँचो मात्रै होइन, बलियो ‘मती’ आवश्यक छ । त्यो नेताहरुमा हुनुपर्ने ‘मती’ नै हो । दोष नेपाली समाजको हो । नेपाली समाजले नै मानिसलाई पदसम्म पुग्नका लागि चाप्लुसीको अध्याय सिकाएको छ, पदमा पुगेपछि अभिमानको पोको झुन्डाउनपर्छ भन्ने गुण दिएको छ । यद्यपी, राजनीतिक दलहरुको हकमा भने कांग्रेसका एकाध नेताबाहेकमा यही गुण पर्याप्त देखिन्छ । दुर्भाग्य भन्नुपर्छ पुरानो राजनीतिक दल भएको आधारमा कांग्रेसमा रहेका नेताहरुले यो चरित्रलाई परिमार्जन गरी मुलुक हितका पक्षमा सोच्न सकेनन् । तर, अझै बेला गइसकेको छैन । दोस्रो संविधानसभाको निर्वाचनमा जनताले कांग्रेस सुध्रिनसक्ने बलियो आधार दिएका छन्, ठूलो आकारको जित दिलाएर ।
छत्रछायाँको मायामा भन्दा पनि स्पर्धामा विश्वास राख्नेहरुले नेतृत्वको भूमिकालाई प्रभावकारी भन्छन् । पदका लोभीपापीहरु जहिले पनि हर पदमा पुग्नका लागि कसरत गर्छन् । तर, समयले दिएको र आफूले जितेको मात्र लिनेहरु वारम्वार स्पर्धामा उत्रिन्छन् । यो समय हर कार्यकर्ताहरुले त्यस्तो व्यक्तिको नेतृत्वको खोजी गर्नुपर्छ जसको उचाइले कांग्रेसको स्वर्णिम भविष्यको परिकल्पना गरोस् ।
भविष्य निर्माणमा पक्षमा अहिलेको कांग्रेस परिमार्जित भएर महाधिवेशनपछि आउनुपर्छ । इतिहासको ब्याज बोकेको नेतृत्व होइन, सवल भविष्य सोच्न सक्ने नेताको अहिले खाँचो छ, कांग्रेसमा । यसमा दुइमत छैन, कृष्णप्रसाद कोइरालाले जन्माएका प्रभावशाली छोराहरुले नै नेपाली कांग्रेसको इतिहास बलियो बनाउने नेतृत्व गरे तर उनीहरु बाहेकका मान्छेहरु कांग्रेसका सवल नेतृत्व होइनन् भन्ने कदापी हुन सक्तैन । उनीहरुसँग स्पर्धामा उत्रिएर कांग्रेस चलाउनसक्छु भन्नेहरु कांग्रेसका नेता बन्न सुहाउँछ । नकी, उनीहरुको नातागोतालाई काखी च्यापेर मैदानमा उत्रिनेहरु नेता हुन्छन् । छत्रछायाँको मायामा भन्दा पनि स्पर्धामा विश्वास राख्नेहरुले नेतृत्वको भूमिकालाई प्रभावकारी भन्छन् । पदका लोभीपापीहरु जहिले पनि हर पदमा पुग्नका लागि कसरत गर्छन् । तर, समयले दिएको र आफूले जितेको मात्र लिनेहरु वारम्वार स्पर्धामा उत्रिन्छन् । यो समय हर कार्यकर्ताहरुले त्यस्तो व्यक्तिको नेतृत्वको खोजी गर्नुपर्छ जसको उचाइले कांग्रेसको स्वर्णिम भविष्यको परिकल्पना गरोस् ।
उहिलेको कांग्रेस र अहिलेको कांग्रेसको फरक के हो ? त्यसमा अन्तर के छ, के हुनेछ ? कोइराला परिवारको उत्तराधिकारी मै हुँ भनेर भोट माग्ने हो की कांग्रेसको भविष्य मेरो सोचमा अडिएको छ भन्ने सन्देश छर्ने हो ? परिवारवादभन्दा पनि नयाँ विचारको पुनरागमन अहिलेको राजनीतिक दलहरुका लागि अनिवार्य आवश्यकता बनिसकेको यो घडी परीक्षाफलको प्रतिक्षामा छ । उत्तराधिकारी बन्नु भनेको सवल नेतृत्वको स्वभावमा अडिग रहनु हो । रामचन्द्र पौडेल स्वभाविक उत्तराधिकारी होइनन् । उनको चरित्रमा सामान्य दाग पनि छैन । तर, उनको व्यवहारमा दाग देखिन्छ । उनी लोकतन्त्रका लागि स्पर्धामा उत्रिनु स्वभाविक प्रक्रिया ठान्छन् तर राष्ट्रको गौरवपूर्ण पदमा बसी सकेपछिका दायित्वभन्दा अन्य कनिष्ठ पदहरुमा पनि रहिरहनुपर्छ भन्ने लोभ मनमा पालेका पात्र हुन् भन्ने छाप अहिलेसम्म मेटिएको छैन । लोभ सवैको कमजोरी हो तर त्यसलाई कति प्रतिशतसम्म देखाउने र नदेखाउने ? त्यो लोभलाई व्यक्तिगत लाभमा मात्र प्रयोग गर्ने की, सामाजिक लाभका लागि उपयोग गर्ने भन्ने विचरण शक्तिको आवश्यकता उनमा अहिले पनि छ । पौडेलसँग सवै क्षमता भए पनि यो क्षमताको ह्रास विगतका उनका व्यवहारहरुले स्पष्ट पारिदिएको छ । बाँकी कांग्रेसका प्रतिनिधिहरुले बुझेका होलान्, उनी पार्टीभित्र कस्ता छन् भन्नेचाहीँ ।
शेरबहादुर देउवाको व्यक्तित्व कदमा मात्रै उँचो छैन । उनको चरित्रमा पनि उत्तिकै बलियो देखिन्छ । अन्तर्राष्ट्रिय जगतदेखि मुलुकका हितका पक्षमा उनले धेरे काम गरेका छन् । उनलाई एउटा वात लगाइन्छ, प्रजातन्त्र दरबारमा बुझाएको भन्ने । तर, मुलुकमा संविधानसभाको ठूलो बहस चलिरहँदा राणाहरु सिध्याउने नाममा राजाहरुलाई गद्दीमा फर्काउने महामानवहरुको चरित्रका बारेमा वर्णन हुँदैन । गुण र दोष सवैमा हुन्छन् त्यो समयको परिवन्धअनुसार हुने घटनाहरु हुन् । यदी वीपी कोइरालालाई नेपाली समाजवादको चिन्तक नभनी त्रिभुवनलाई गद्दीमा फर्काएर लोकतन्त्र मास्ने जडका रुपमा व्याख्या गरियो भने के सन्देश जान्छ ? यसर्थ, जसरी वीपी महामानव थिए, उनका गल्ती र कमजोरीहरु पनि थिए । त्यसरी हर मानवमा गल्ती र कमजोरीहरु परिबन्धमा पर्दा देखिन्छन्, ती ‘अल्टिमेट’ गल्तीहरु होइनन् ।
सादगी छवि भएका नेताहरुको जन्म गराउने नेपाली कांग्रेसको प्रजातान्त्रिक लडाईंका जीवित पात्रहरु विस्तारै संख्यामा गणना गर्नसक्ने गरी रहेका बेला यो महाधिवेशनको जिम्मा फरक आधारको कांग्रेस निर्माणका लागि हो । वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाजस्ता नेताहरु तय गरेको कांग्रेसका लागि नविनतम् अवसर छ, अझ बलियो आधार भएका नेता रोज्ने । महाधिवेशनले एउटा विरासतको नेतृत्वलाई छिचोलेर नयाँ स्वाद चाख्ने प्रयत्न गरिरहेको छ । यो प्रयत्न पौडेल, देउवा या सिटौलाका नाममा हुनसक्ने प्राथमिक आधार तय गरिसकेको छ । तर, सवैका मनमनमा लागेको स्पर्धा पछिको चाबीचाहीँ पौडेल र देउवामा नै रहेको ठहर भइसकेको छ । त्यसकारण जिते पनि हारे पनि कांग्रेसको नै जितहार हुन्छ । कांग्रेस निर्माणको यो महाअवसरलाई गुमाउन नदिनका लागि पनि अपिल छ– इतिहासलाई साक्षी राखेर भविष्य किनारा लगाउने भन्दा पनि भविष्यलाई उज्ज्वल बनाएर इतिहासलाई सम्मान गर्ने नेतृत्वको खोजी हुन सकोस् । प्रचार जता जे भए पनि क्षमतावान नेतृत्व अघि बढ्ने आधार प्रतिनिधिहरुले चयन गर्न सकुन् । पद होइन, कांग्रेसको प्रतिष्ठा बोक्ने नेता छानिएर आउन सकुन् । सप्रिएका नेता र हुर्किएको कांग्रेसको छहारी तय भए, त्यसले मुलुकको भविष्यको दर्पण देखाउन सक्नेछ ।















प्रतिक्रिया