काठमाडौं, २२ फागुन । कुनै जात्रा, आन्दोलन, मेला वा सभा जस्तै थियो, भृकुटीमण्डपस्थित प्रदर्शनी मार्ग । मान्छेको घुइँचो । नारा लगाइरहेका । स्टलबाट सित्तैमा जाकेट बाँडिरहेका । रोबोटले आफू नजिक आउने मान्छेलाई पर्चा बाँडिरहेको । ट्याक्सीमाथि राखिएको ठूलो स्पिकरबाट गीत बजिरहेको । सडकका दुवै भित्तामा पर्खाल र जाली देखिन्न फ्लेक्सले पूर्ण ढोकेको । भुइँमा कागजै–कागज । हिँडदा लच्किने । खचाखच रहेका मान्छेले अर्कोलाई भेट्नेबित्तिकै ‘ल है उहाँलाई सहयोग गर्नुपर्यो’ भन्दै अरूलाई पर्चा र भिजिटिङ कार्ड दिइरहेको । नारा लगाउँदै यता र उता गर्ने त कति हुन् कति ।
यी सबै कांग्रेसको १३ औं महाधिवेशनमा शुक्रबार देखिएका दृश्य हुन् । महाधिवेशनको दोस्रो दिनसम्म आइपुग्दा कांग्रेसका उम्मेदवारहरूले आफ्नो प्रचारमा लाखौं रुपैयाँ खर्च गरेको देखिन्छ ।
महाधिवेशनमा अहिले तीन प्यानल छन्, कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाको । एक प्यानलले अर्को प्यानल र एक उम्मेदवारले अर्कोलाई पछि पार्न लाखौं खर्चेर प्रचारप्रचार गरिरहेको देखिन्छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
महाधिवेशनबाहेक निजी जीवनमा रम्ने कांग्रेसका नेताहरूले आफ्नो प्रचारप्रसार गर्दा भने बीपी कोइराला कसैले भुलेको देखिएन ।
बीपीको समाजवादलाई अघि सार्दै उनीहरूले ब्यानर, फ्लेक्स र भिजिटिङ कार्डको माथिल्लो भागमा सानो बीपीको फोटो र बीचमा आफ्नो ठूलो तस्बिर राखेर भोट मागिरहेका थिए ।
एक प्रतिनिधिले ठट्टा गर्दै भने, ‘सायद बीपी सबैभन्दा बढी छापिएको यो पटक नै होला । र, हाम्रा नेताहरूले सम्झेको पनि ।’
प्रदर्शनी मार्गमा एडभान्स इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाएको रोबोटले युवा नेता प्रदीप पौडेलका लागि प्रचार गरिरहेको थियो ।
प्रतिनिधिहरू त्यो रोबोटको छेउमा पुगेपछि प्रदीपको उम्मेदवारीको बारे पम्प्लेट बाहिर निस्कन्थ्यो । उनीहरूले पम्प्लेट त लिन्थे नै साथमा करिब ९४ हजार रुपैयाँको लागतमा बनेको रोबोटसँग फोटोसमेत खिचाउँथें ।
सडकको पेटीमै स्टल राखेका सिन्धुपाल्चोक कांग्रेसका सभापति मोहनबहादुर बस्नेतका सहयोगीहरूले उनलाई केन्द्रीय सदस्यमा जिताउन आएका हरेक मान्छेलाई निःशुल्क ज्याकेट बाँडिरहेका थिए ।
उक्त ज्याकेटको अघि र पछि मोहनबहादुरलाई जिताऔं भन्ने देखिएको थियो ।















प्रतिक्रिया