मुलुकको सबैभन्दा पूरानो र ठूलो पार्टी नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । पुरानो पार्टी भएकाले नेतृत्वका आकांक्षी पनि धेरै देखिएका छन् । तीन वटा समूहले प्यानलसहितको उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यका आकांक्षीहरु पनि धेरै देखिएका छन् । केन्द्रीय सदस्यका आकांक्षीमध्येका एक हुनुहुन्छ– जीपछिरिङ शेर्पा । दैनिक नेपालसँग शेर्पाले कांग्रेसको आगामी नेतृत्व चयनका विषयमा केही कुरा स्पष्ट पार्नुभएको छ ।
तपाईंको समूहले उम्मेदवारी घोषणामा किन ढिला गरेको हो ?
नेपाली कांग्रेसमा नयाँ नेतृत्व लिनका निम्ति आकांक्षीहरू धेरै देखिँदा उम्मेदवार छान्न कठिन भएकालेले घोषणामा पनि ढिलाई भएको हो । आकांक्षीहरुलाई मनाउने प्रयासमा धेरै समय लागेकाले केही ढिला हुँदैमा त्यसलाई गलत अर्थमा बुझ्नु हुँदैन । सबैलाई मिलाएर लैजानुपर्ने जिम्मेवारी हामीमा रहेको छ । घोषणामा ढिलाई भयो भन्दैमा यसलाई अन्यथा लिनु जायज हुँदैन ।
यस पटकको महाधिवेशनमा संस्थापन पक्षभित्रै गुट÷उपगुट खडा भएको देखियो । आखिर किन यस्तो भएको होला ?
नेपाली कांग्रेस पुरानो पार्टी हो । यो पार्टीमा रहेर धेरै साथीले विभिन्न कालखण्डमा धेरै त्याग गर्नुभएको छ । लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविकै हो । तर पनि धेरै साथीहरू नेतृत्वमा पुग्नकै निम्ति आकांक्षा राख्नुभएको छ । एकैटक सबै नेतृत्वमा जान सम्भव छैन । यसर्थ सबै साथीले सोच्ने बेला आएको छ । मलाई लाग्छ, सबै साथीहरूले सोच्नु हुनेछ र धेरै साथीहरू पछि हट्नु हुनेछ । पछि हट्नु भनेको विलय भएर जानु होइन आलोपालो नेतृत्व लिने परिपाटीको विकास गर्नुपर्छ ।
यहाँको विचारमा महाधिवेशनपछि कांग्रेसले आर्थिक मुद्दालाई कसरी अघि बढाउँछ ?
नेपाली कांग्रेसको नेतृत्वमा अधिकारप्राप्त संस्था संविधानसभाबाट अत्याधिक बहुमतका आधारमा नेपाली जनताको नासो संविधान बनेको छ । यससँगै नयाँ युगमा देश प्रवेश गरेको छ । संविधान बनेसँगै सबैका अधिकार सुनिश्चित भएका छन् । हामीलाई धेरै समय राजनीति क्रान्ति गर्न लाग्यो । संविधान बनेसँगै हाम्रो राजनीति क्रान्ति पनि समाप्त भएको महसुस गरेको छु । अब देश आर्थिक समृद्धितिर लम्कनुपर्ने हुन्छ । यसर्थ नेपाली कांग्रेस मुलुककै पहिलो पार्टी भएकाले आर्थिक समृद्धिको मुद्दालाई विशेष जोड दिएर लैजानुपर्ने मुख्य जिम्मेवारी कांग्रेसमा रहेकाले नेतृत्व गर्न सक्ने प्रखर नेतृत्वकर्ताको खाँचो छ । नेपाली कांग्रेसले गाउँ गाउँमा नै आर्थिक अभियान लैजान सक्नुपर्छ । मुलुकलाई आर्थिक क्रान्तिमार्फत् आत्मनिर्भरता बनाउन सक्नुपर्छ ।
तपाईलाई १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा किन चुन्ने ?
पार्टीभित्र मेरो योगदान लामो समयदेखि छ । म सामान्य सदस्य भएर पनि धेरै समय काम गर्न तयार भएकै हुँ । यसपाली नेतृत्वमा पुगी देशलाई आर्थिक समृद्धिको बाटोतिर डो¥याउन महत्वपूर्ण भूमिका निभाउन मैले खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु । यसका साथै भोलिका दिनमा पार्टीलाई ऊर्जावान बनाउनका निम्ति पनि मेरो उम्मेदवारी हो । आशा छ, मलाई सबैले माया गर्नुहुनेछ ।
संविधान बन्यो तर मधेसको अधिकार समेटिएन भन्ने गुनासाहरू छन्, अब आउने कांग्रेस नेतृत्वले यसलाई सुल्झाउन कस्तो भूमिका निभाउनु पर्छ ?
सही प्रश्न गर्नुभो । कांग्रेस नेतृत्वको सरकारले संविधान ल्यायो तर सबैका अधिकार समेटिएन भन्ने मधेसको गुनासा छन्, त्यसलाई मेटाउन तत्कालिन सुशील कोइराला नेतृत्वकै सरकारले संशोधन विधेयक संसद्बाट पास गराउन खोजेको थियो । अहिलेको सरकारले नै भए पनि यो विधेयक पास गरेको छ । यो सुखद कुरा हो । मधेसका समस्या हल गर्न कांग्रेसले महत्वपूर्ण भूमिका खेलिरहेको छ र भोलिको दिनमा पनि खेल्नुपर्छ । मधेसलाई अधिकार सम्पन्न गराउने पक्षमा म पनि छु । धेरै अधिकार संविधानले दिए पनि छुटेका अधिकार संशोधनबाट समेटिनेछ यसका निम्ति कांग्रेस छ अरुलाई पनि सदैव दवाव दिइरहनेछ । साथै मधेसका समस्याको हल राजनीतिक भएकाले राजनीतिक तवरबाटै निकास लिनुपर्छ भन्ने मेरो मान्यता हो ।
तपाईको विचारमा अबको कांग्रेस कस्तो हुनुपर्छ ?
पुरानो व्यवस्था हटिसकेको अवस्था छ । कांग्रेस पनि अब परिवर्तित हुन जरुरी छ । १३ औं महाधिवेशनबाट कांग्रेसले जोसिलो नेतृत्व चयन गरी गुट÷उपगुटको अन्त्य गर्नुपर्छ । त्यसपछि कांग्रेसले पहिला त देशमा देखिएका विद्यमान समस्या हल गर्न पहल गर्नुपर्छ । देशलाई आर्थिक क्रान्तिको बाटोतिर लम्काउनु पर्छ । कांग्रेसबाट आमजनताले निकासको प्रतिक्षा गरेकाले सरकारमा गएर हुन्छ कि कसरी हुन्छ कांग्रेसले आफ्ना मुद्दालाई सम्बोधन गर्न जरुरी छ ।
तपाई खुल्लातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको छ । अहिलेको माहोल हेर्दा आफूले जित्नेमा कत्तिको विश्वास्त हुनुहुन्छ ?
म पूर्ण रूपमा विश्वस्त छु । पार्टीभित्र मैले गरेको त्यागलाई आमप्रतिनिधि साथीहरूले मूल्यांकन गर्नुहुनेमा म पूर्ण रूपमा ढुक्क छु । पार्टीका निम्ति सधैं काम गर्ने म जस्ता निःस्वार्थ भावनाका व्यक्तिको कांग्रेसमा अहिलेको अवस्थामा आवश्यकता रहेकाले मैले जित्नेमा म विश्वस्त छु ।
अन्त्यमा…?
१३औं महाधिवेशनमा हामी छौं । जिल्लाबाट चुनिएर आउने आमसाथीहरूलाई बधाई दिन चाहन्छु । साथसाथै यसपालीको महाधिवेशनमा मेरोभन्दा पनि पार्टीमा कसले बढी त्याग गरको छ । त्यसलाई मूल्यांकन गरेर म जस्ता क्षमतावान् व्यक्तिलाई भारी मतले विजयी गराउनुहुन आमसाथीहरूमा हार्दिक अपिल गर्दछु ।













प्रतिक्रिया