२९ आश्विन २०८३, बिहिबार

कांग्रेसको हेर्न लायक महाधिवेशन र आगामी नेतृत्वको संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baikuntha-Giriदेशको सबैभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो १३ औं महाधिवेशन गर्नका लागि काठमाडौंमा केन्द्रित भइरहेको छ । तर कांग्रेसभित्रको बहस भने विश्वभर रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा चलिरहेको छ । लामो इतिहास भएको पार्टी नीति र विचारमा होईन नेतृत्व कसले हत्याउने भन्ने होडबाजीमा लागेको छ । कांग्रेसलाई वैचारिक राजनीतिक हैसियतमा हेर्ने मानिसलाई उसका गतिविधी र नेतृत्वमा जान चाहने आकांक्षीहरुको प्रस्तुतिले नतमस्तक बनाएको छ ।

पार्टीभित्र नेतृत्वका लागि खुल्ला बहस गर्ने कुरा कांगेसका लागि महत्वपूर्ण देखिएन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उसको हिसाब भने नेपाली जनताले राखिनै रहेका छन् । कांग्रेसको लामो इतिहास नेतृत्व, पद, प्रतिष्ठामा केन्द्रित छ भने अर्कोतिर जीवनभर एउटै पदमा मरिहत्ते गर्ने उसका नेताको कार्यशैली अनौठो नै छ ।

वीपी कोइरालाका पुत्र डा. सशांक कोइरालालाई राजतन्त्रको एजेण्डा लिएर अगाडि बढाउने एउटा समूह, गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता कोइरालालाई सभापतिको उम्मेदवार घोषणा गर्न लगाएर आन्तरिकरुपमा प्रधानमन्त्रीको आश्वासनसहित दर्जनौं आश्वासन दिएर उनलाई उम्मेदवारी नै फिर्ता गराउने समूह कांग्रेसमा सक्रिय देखिएका छन् । कांग्रेसभित्रका यस्ता दर्जनौं प्रवृत्तिहरु छन् । यस्तै प्रवृत्तिको प्रभावमा पर्ने नेताहरुबाट चयन हुने नेतृत्व कुन हैसियतको आउँछ त्यो चासोको विषय बनेको छ । उम्मेदवारी घोषणाबाट शुरु भएको कांग्रेसको महाधिवेशन अब निकै रोचक मोडमा पुगेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका तीन हजारभन्दा बढी पर्यवेक्षक÷प्रतिनिधिमध्ये अधिकांशको टाउकोमा नेताहरुको ट्याग लागिसकेको छ । केन्द्र, अञ्चल, जिल्लादेखि स्थानीय इकाईसम्म कांग्रेसभित्र गुट नै गुट देखिएको छ । त्यति मात्र होइन कार्यकर्तालाई होटलमा राखेर पार्टीको संसदीय निर्वाचनमा जस्तै माईकिङ गर्दै फलानो नेतालाई फलानो पदमा अत्यधिक बहुमतले बिजय गराऔं भन्ने कांग्रेसको खेती हेर्न लायक देखिन्छ । आफ्नै पार्टीभित्र यस प्रकारको चुनावी दौडाहा र पैसाको खोलो बगाई देख्दा उसभित्र कत्ति पनि लोकतान्त्रिक छवि नभएको आभाष हुन्छ र पनि नेता कार्यकर्ता यो रमाइलोमा हो मा हो मिलाएकै छन् र निरन्तर प्रतिस्पर्धामा पनि सक्रिय छन् ।

पार्टीभित्र कहिले देउवाको त कहिले सुशीलको अनि कहिले रामचन्द्रको दायाँबायाँ लागेर बसेका पाका नेताहरु भने जीवनभर केन्द्रीय सदस्यमै थन्कन बाध्य बन्ने स्थिति पनि देखिएको छ । यसले कांग्रेसलाई ठूलो चुनौती दिइरहेको छ । लामो समयदेखि केन्द्रीय सदस्यमा बसेकाहरु न त्यो ठाउँ छाड्न सक्छन् न त अगाडि बढ्न कोशिस नै गर्दछन् । यस्ता मानिसहरु यस पटकको महाधिवेशनमा पछारिनुपर्दछ ।

एकातिर लामो समयदेखि सभापतिको उम्मेदवार रहेर कोइराला परिवारको बलमिचाईंले थिचाईमा परेका शेरबहादुर देउवा आज कोइराला परिवारको विरासत मेटिएको महशुस गर्दै छन् भर्ने भने अर्कोतिर प्रधानमन्त्रीको चुनावमा १७ पटक पराजित भएर झन्डै गिनिज बुकमा नाम लेखाउन सफल भएका कार्यवाहक सभापति रामचन्द्र पौडेल भने कोइराला परिवारको बिंडो थाम्ने सोचमा छन् । त्यसैगरी तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्कीको सिक्लेसबाट हेलिकोप्टर चढाएर काठमाडौं ल्याएको मै हुँ भन्ने नेता कृष्णप्रसाद सिटौला पनि नेतृत्वको प्रतिस्पर्धामा छन् । उनको सभापतिको दाबीलाई कार्यकर्ताले सामान्य रुपमा लिएका छैनन् । नेतात्रयको चुनावी प्रतिस्पर्धासँगै झाङ्गिएको गुटबन्दीले कांग्रेसको महाधिवेशन हेर्न लायक बन्दै गएको छ ।

पार्टीमा हरेक मानिसले आफ्नो अस्तित्वका लागि छलफल र बहस गर्छ । तर त्यही पार्टीभित्र कहिले देउवाको त कहिले सुशीलको अनि कहिले रामचन्द्रको दायाँबायाँ लागेर बसेका पाका नेताहरु भने जीवनभर केन्द्रीय सदस्यमै थन्कन बाध्य बन्ने स्थिति पनि देखिएको छ । यसले कांग्रेसलाई ठूलो चुनौती दिइरहेको छ । लामो समयदेखि केन्द्रीय सदस्यमा बसेकाहरु न त्यो ठाउँ छाड्न सक्छन् न त अगाडि बढ्न कोशिस नै गर्दछन् । यस्ता मानिसहरु यस पटकको महाधिवेशनमा पछारिनुपर्दछ । त्यस्ता नेता बाहिरिएपछि मात्रै पार्टीभित्र नयाँ उर्जा र शक्ति सिर्जना भई आगामी नेतृत्वमा अरुले अवसर पाउने वातावरण बन्ने छ ।

कांग्रेसका युवा माझ निकै लोकप्रिय मानिएका युवा नेता गगन थापाले यस पटक महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आफ्ना ससुरा बुवा अर्थात् अर्जुननरसिंह केसी र वीपी पुत्र सशांक कोइरालालाई चुनौती दिँदै छन् । उनी अन्तिम समयसम्म अडिग रहन सक्छन् या सक्दैनन् भन्ने केही दिनमै टुंगो लाग्ला । तर उनले आफ्नो उम्मेदवारी घोषणा गर्दा छोरीको उदाहरण दिएर जुन अभिव्यक्ति दिएका छन् यसले कांग्रेसको नेतृत्वमा नयाँ युवा पुस्ताको उदय भएको महशुस भने भएको छ । महामन्त्रीमा अर्जुननरसिंह केसी जस्ता मानिस उमेर र राजनीतिले पाका र पुराना त हुन तर अहिलेको युग हाँक्न उनलाई सहज छैन । त्यसैले हरेक पटक कांग्रेसभित्रको बहसमा यो कुराले महत्वपूर्ण स्थान पाउँछ कि नेतृत्वमा कस्तो मानिस प्रतिस्पर्धा गर्दै छ ? अघिल्लो महाधिवेशनमा अत्यधिक मत ल्याएका गगन यसपाला के गर्छन यो पनि हेर्न लायक नै छ ।

देश धर्म निरपेक्षतामा गएका बेला आफूलाई कट्टर हिन्दुवादी भन्न रुचाउने नेताहरुको पनि यस महाधिवेशनमा निकै ठूलो महत्व रहेको छ । केही प्रतिनिधिका मत आफ्नो पकडमा राख्न सफल भनिएका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी बाग्लेलगायतको महाधिवेशनमा देखिएको उपस्थिति पनि गजवकै देखिएको छ । नीतिभन्दा नेताका लागि गर्न लागिएको यो महाधिवेशनमा भारतले हेर्दै आएको औपनिवेशिक सोचका पछाडि दौडने नेताको संख्या पनि ३० प्रतिशत रहेको बताइने गरिन्छ । यसैले गर्दा कांग्रेसको १३ औं महाधिवेशनले चयन गर्ने नेतृत्व कस्तो हुने हो अहिले नै त्यसले संकेत गरिसकेको छ ।

तसर्थ एउटै पद लामो समय ओगटेर बसेका कांग्रेसका पुराना नेताहरु पछारिनु नै पर्दछ । तव मात्रै कांग्रेसको उज्ज्वल भविष्यको ढोका खुल्नेछ अन्यथा यो महाधिवेशन फगत सावित हुने निश्चित छ ।