गौशाला, ९ साउन । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बहुविवाह गरेको आरोपमा एक नव दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको साँढा–६ बस्ने विजय कापर र निजकी पत्नी रीतु कुमारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी टोलीले दुवै जनालाई शुक्रवार विहान घरैबाट पक्राउ गरी ल्याएको हो । दुवै जनामाथि बहुविवाह मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
विजय कापरको जेठी पत्नी कौशल्या कुमारी र एक तीन वर्षीय छोरा हुँदाहुँदै पनि उनले गत असार १३ गतेका दिन धनुषा जिल्लाको सतोषर–५ बस्ने महेश्वर कापरकी २२ वर्षीया छोरी रीतु कुमारीसँग अर्को विवाह गरेका थिए ।
पतिले अर्को विवाह गरेको र आफूलाई दिनहुँ मानसिक एवम् शारीरिक यातना दिएको भन्दै जेठी पत्नी कौशल्याले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि नवदम्पती कापरलाई पक्राउ गरी ल्याएको श्रेष्ठले बताए ।
















प्रतिक्रिया