
काठमाडौं, १९ फागुन । अन्तर्राष्ट्रिय फुटबलका ह्याट्रिक हिरो नवयुग श्रेष्ठले आम नेपाली दर्शकसँगै आफ्नो संगठनबाट पनि सम्मान पाएका छन् ।
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुगको योगदानको कदर गर्दै नेपाली सेनाले उनलाई हवल्दार पदमा बढुवा गरेको हो । यसअघि उनी सेनाको अमल्दार थिए । बढुवा पछि अब हवल्दार बनेका हुन् । नवयुगले २०६५ सालमा सिपाहीबाट नेपाली सेनाको जागिर सुरु गरेका थिए ।
बंगलादेशमा भएको बंगबन्धु कप र भारतमा भर्खरै सम्पन्न साग फुटबलमा नेपाललाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नवयुगलाई सम्मान तथा पुरस्कार स्वरुप नेपाली सेनाले एक तह बढुवा गरेको हो ।
उनी मोरङको पानमारास्थित कालीबक्स गणमा कार्यरत छन् । गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फूली प्रदान गरेका थिए ।
नवयुगले दुई प्रतियोगितामार्फत तीन ह्याट्रिक सहित ११ गोल गरेका छन् । उनकै ह्याट्रिक मद्दतमा नेपालले २३ वर्षपछि फुटबल साख फेरि फर्काउन सफल भएको छ ।















प्रतिक्रिया