चितवन, १९ फागुन । चितवन राष्ट्रिय निकुञ्जले एउटा गैँडा बर्दिया राष्ट्रिय निकुन्ज पठाएको छ ।
गैँडा खोजीमा खटिएका प्राविधिक टोलीले मङ्गलबार दिनभरको प्रयासमा एउटा मात्रै गैँडा नियन्त्रणमा लिन सफल भएपछि गएराति १० बजेतिर गैँडा बदिया पठाइएको हो ।
दुईवटा गैँडा पठाउने तयारी भए पनि सम्भव नभएपछि एउटा मात्रै पठाइएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । अहिले पठाइएको गैँडा निकुञ्जको सुकिभार क्षेत्रको भाले गैँडा हो ।
फागुन २३ भित्रमा २ भालेसहित पाँचवटा गैँडा पठाउने योजना सरकारको छ । “दिनभर प्रयास भयो, जङ्गल क्षेत्र भएको र गैँडा पनि हात्ती र मान्छे देखेपछि भाग्ने, आक्रामक हुने गरेकाले नियन्त्रणमा लिन मुस्किल प¥यो” – सूचना अधिकारी अर्यालले भन्नुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले प्राविधिक टोलीले सुकिभार जङ्गल नजिकै राप्ती नदी किनारमा डार्ट गरी बेहोस बनाएर भाले गैँडा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
गैँडा देखेपछि हात्तीसहितको प्राविधिक टोलीले घेरेर समातेको हो । निकुञ्जका अनुसार गैंडा बर्दिया स्थानान्तरणका लागि निकुञ्जका ३६ वटा हात्ती र १ सय ५० जनशक्ति खटिएका थिए । गैँडा बोक्न र पठाउने यातायातका सामग्री तथा डार्ट गर्ने चिकित्सकीय सामग्रीसहित प्राविधिक टोली खटिएका छन् । निकुञ्जको सुकिभार क्षेत्रबाट तीनवटा पोथी र दुईवटा भाले गैँडालाई बर्दिया पठाइनेछ । बर्दिया छाडिने गैँडालाई रेडियो कलर जडान गरी त्यसको निगरानी गरिने जनाइएको छ ।
सरकारी निर्णयअनुसार आगामी तीनवर्षमा २५ वटा गैँडा बर्दिया पठाइने नीति रहेको छ । त्यस्तै, शुक्लाफाँटा आरक्षमा पाँचवटा गैँडा पठाइँदैछ । नेपालमा सन् १९८६ देखि गैँडा स्थानान्तरण थालिएको हो । हालसम्म बर्दियामा ८३ वटा र शुक्लाफाँटामा चारवटा गैँडा स्थानान्तरण गरिएका छन् ।
हालसम्म चितवन निकुञ्जमा ६०५, बर्दियामा २९, शुक्लाफाँटा आरक्षमा आठ र पर्सा वन्यजन्तु आरक्षमा तीन गरी नेपालमा कुल ६४५ गैँडाको सङ्ख्या रहेको छ । रासस












प्रतिक्रिया