हङकङ, ९ साउन । तिब्बतको सिगात्से आइपुगेको रेलमार्ग छ वर्षभित्र नेपालको सिमा क्षेत्र केरुङ जोडिने भएको छ।
मंगलबार १४ औँ ट्रयाकको परीक्षणपछि ल्हासा–सिगात्से रेलमार्ग निर्माण पूरा भएको भन्दै २०२० भित्र यसलाई नेपाल, भारत र भुटानको सिमा क्षेत्रसम्म विस्तार गरिने चीन सरकारले बुधबार आफ्नो वेभपेजमा जनाएको छ।
‘ल्हासा–सिगात्से २५३ किलोमिटर रेलमार्ग निर्माण मंगलबार सम्पन्न भएको छ, अगस्त महिनाबाट रेल सञ्चालनमा आउने छ’, तिब्बत रेलवेका उपप्रमुख याङ युलिनलाई उद्धृत गर्दै चीन सरकारको वेभसाइट जीओभी डट सिएनले भनेको छ, ‘चीनको १३ औँ पञ्च वर्षीय योजना ९२०१६–२०२०० भित्र सिगात्सेबाट दुई वटा रेल लिङ्क विस्तार गरिनेछ– नेपालको सिमाक्षेत्र केरुङ र भारत तथा भुटानको सिमा क्षेत्र यादुङसम्म ।’
चीनको स्वशासित प्रदेश तिब्बत सरकारका प्रमुख लोसान जमकानले गतवर्ष ल्हासामा मुख्य सचिव लिलामणि पौडेलसँगको छलफलमा ल्हासा–सिगात्से खण्ड पुरा भएपछि नेपालको सिमा क्षेत्र केरुङतिर रेलमार्ग विस्तार गरिने बताएको समाचार आजको नागरिक दैनिकले लेखेको छ ।
तिब्बत रेलमार्ग केरुङसम्म विस्तार गर्ने योजना औपचारिक रुपमा पहिलो पटक सार्वजनिक भएको हो ।
ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालका अनुसार अगस्ट पहिलो साता उद्घाटन गर्ने तयारी भइरहेको ल्हासा–सिगात्से रेलमार्गले नेपाल–चीन व्यापार केही सहज हुनेछ।















प्रतिक्रिया