काठमाडौ । सर्वोच्च अदालतका लागि न्याय परिषदो सिफारिसमा परेका व्यक्तिको छवि राम्रो नभएको भन्दै संसदीय सुनुवाइ समितिमा थप उजुरी परेको छ । भ्रष्ट छवि भएका न्यायाधीशलाई सर्वोच्च पस्न दिन नहुने भन्दै कानुनका विद्यार्थी गुणराज आचार्यले शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको संसद् सचिवालयमा उजुरी हालेका हुन् ।
परिषद्ले गत वैशाख ९ गते गरेको आठ न्यायाधीशको सिफारिसविरुद्ध २० गतेसम्म उजुरी दिन सकिने व्यवस्था गरिएको छ । प्रस्तावितमध्ये छ न्यायाधीशविरुद्ध पाँच उजुरी १७ गते नै परेको थियो ।
आचार्यको उजुरी खासगरी सर्वोच्च अदालतको दुई इजलासबाट कारबाहीका लागि सिफारिसमा परेका न्यायाधीश चोलेन्द्रशमशेर राणा र दीपकराज जोशी तथा पुनरावेदन अदालत, पाटनका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध छ । देशकै अन्तिम अदालतले कारबाहीका लागि फैसला गरेकामा परिषदा सदस्यले प्रशासनिक निर्णयबाट सफाइ दिने काम गरेको आचार्यको दलील छ । सर्वोच्चको आदेश परिषद्ले काट्न नसक्ने जिकिर गर्दै संसद्ले उनीहरूलाई रोक्नैपर्ने उनको जिकिर छ ।
सिफारिसमा परेका अर्का न्यायाधीश पराजुली जहाँ गए पनि घूसकाण्डमा मुछिएको भन्दै उनी संलग्न मुद्दामा भएका निर्णयहरूको विस्तृत अध्ययन गर्न उजुरीमा आग्रह गरिएको छ । पराजुलीले पाटन पुनरावेदनमा परेको एउटै विषयवस्तुका दुई रिटमध्ये एउटामा अन्तरिम आदेश जारी गरेको र अर्कोमा नगरेको दृष्टान्त उजुरीमा उल्लेख छ ।
लामो समय सर्वोच्चमा अस्थायी भएर काम गरेका न्यायाधीशलाई नियुक्त नगर्नाको कारणसमेत परिषदा सदस्यलाई सोधिनुपर्ने रिट निवेदनमा माग गरिएको छ । न्याय परिषद्ले वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मा पौडेललाई सर्वोच्चको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको थियो । यीमध्ये उपाध्यायद्वयबाहेक अन्य सबैविरुद्ध उजुरी परेको छ । कान्तिपुर दैनिकबाट











प्रतिक्रिया