काठमाडौँ, ८ साउन । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि थालिएको कारबाहीबाट सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मादक पदार्थ सेवनको कारबाहीबाट दुर्घटनामा २८ र गम्भीर घाइतेमा ६० प्रतिशतले कमी आएको सो महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले बताउनुभयो । त्यस्तै दुर्घटनाबाट मृत्यु हुनेमा भने १८ जनाले मात्र कमी भएको छ ।
सो कारबाही सुरु हुनुअघिको दुई वर्षमा ३ सय १५ र लागू भएपछिको पछिल्लो वर्षमा २ सय ९७ जनाको मृत्यृ भएको थियो । त्यस्तै मापसे अभियान लागू हुनुअघिको दुईवर्षमा १ हजार ३ सय ३३ र लागू भएपछिको सोही अवधिमा ५ सय २४ मात्र गम्भीर घाइते भएका थिए । मापसे लागू हुनुअघिको दुई वर्षमा ६ हजार ८ सय ८६ र लागू भएपछि छ हजार ५ सय २५ जना सामान्य घाइते भएका थिए ।
सो कारबाहीअन्तर्गत ७१ हजारको सवारी चालक परिचयपत्र प्वाल पारिए अन्तर्गत ५ सय ६५ लाई मुद्दा चलाइएको र ५२ जनाको परिचयपत्रमा ६ वटामा प्वाल पारी निलम्वनको लागि यातायात कार्यालय पठाइएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चालउनेलाई आर्थिक वर्ष २०६८ मङ्सिरबाट कारबाही थालिएका हो । सो २०६८/०६९ मा ३९ हजार ६ सय ६७, २०६९/०७० मा ५२ हजार २ सय ८० र गत आर्थिक वर्षमा ५४ हजार ५ सय ३५ गरी हालसम्म एक लाख ४६ हजार ४ सय ८२ जनालाई कारबाही गरिसकिएको छ ।
काठमाडौँ उपत्यकाको सडकमध्ये ९०२ किमि पक्की (५७ प्रतिशत), ४५५ किमी ग्राभेल (२८प्रतिशत) र कच्ची २३७ किमि (१५प्रतिशत) रहेको छ । देशभर कुल दर्ता सवारी १६ लाख ८७ हजार ४७८ मध्ये वाग्मती अञ्चलमा मात्रै त्यसको ५६ प्रतिशत अर्थात् सात लाख ३७ हजार १२२ रहेको छ ।
कारबाहीमा आएको तीव्रताको परिणाम आर्थिक वर्ष २०६८/०६९ मा रु ११ करोड ३० लाख राजस्व सङ्कलन भएको थियो । त्यस्तै २०६९/०७० मा रु १२ करोड ५७ लाख र गत आर्थिक वर्षमा रु १६ करोड ३१ लाख राजस्व उठेको छ ।
सवारी दुर्घटना कारण आर्थिक वर्ष २०६८/०६९ मा र २०६९/०७० मा मृत्यु हुनेको सङ्ख्या १ सय ४८ भएकोमा उक्त सङ््ख्या गत आवमा १ सय ३३ मा झरेको थियो । सोही अवधिमा क्रमश ३ सय ९६, २ सय ४६ र २ सय २९ जना गम्भीर घाइते भएका थिए ।
ट्राफिक प्रहरीले सवारी अनुगमन कार्यलाई तीव्र बनाउँदै सहरका २१ वटा मुख्य चोकहरुमा सिसिक्यामेरा जडान गरिएको छ । आधुनिक प्रविधिको उपयोगमा जोड दिने क्रममा एसियाली विकास बैंकबाट रु एक करोड बराबरको २०० थान ब्रेथलाइजर, १७ वटा क्यामेरा, कम्प्युटरसहितका अन्य सामग्री प्राप्त भएको पनि प्रहरीले जनाएको छ ।
प्रहरी नायब महानिरीक्षक अधिकारीले चक्रपथमा अव्यवस्थित तवरले गरिने पार्किङ, सडक वरपर जथाभावी थुपारिने निर्माण सामग्री, उचित पार्किङस्थलको अभाव तथा खानेपानी, ढल, सडकलगायतका संस्थाहरुबीच समन्वयको अभावका कारण पनि ट्राफिक प्रहरीले चुनौती झैल्दै आएको छ ।
यसैबीच काठमाडौँ उपत्यकाको यातायात आवागमनबारे प्रत्येक १५ मिनेटमा सूचना दिने गरी ट्राफिक प्रहरीले सञ्चालनमा ल्याएको मेट्रो ट्राफिक एफएम तेस्रो वर्ष प्रवेश गरेको छ । सो एफएमले उपत्यकाको सवारी यातायातलाई सहज बनाउन ट्राफिकसम्बन्धी ताजा जानकारी, सवारी चालक, विज्ञहरु एवम् सरोकारवालासँग छलफल चलाउँदै आएको छ । तेस्रो वर्ष प्रवेशका अवसरमा प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले उत्कृष्ण कर्मचारी एवम् अधिवक्ता बलभद्र खनाललाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
















प्रतिक्रिया