
काठमाडौं, १५ फागुन । बंगलादेशमा जारी एसिया कप क्रिकेटमा पाकिस्तान फेरि भारतसँग चुकेको छ । पाकिस्तान ५ विकेटले पराजित भएको हो ।
शनिबार राति सम्पन्न खेलमा टस हारेर व्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा १७.३ ओभर खेल्दै सबै विकेट गुमाएर ८३ रन मात्रै बनाउन सक्यो ।
बंगलादेशको मीरपुरस्थित शेरेबंगला स्टेडियममा ८४ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको भारतले ५ विकेट गुमाएर १५.३ ओभरमा भेट्टायो । भारतको जितमा विराट कोहलीले सर्वाधिक ४९ रन बनाए ।
यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले सुरु देखि नै कमजोर ब्याटिङ गरेको थियो ।
शहिद अफ्रिदीको टोली पाकिस्तान १७ ओभर ३ वलमा ८३ रनमा अलआउट भयो । उसका लागि सरफराज अहमदले २५ र खुराम मन्सुरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
पाकिस्तानलाई सस्तैमा समेट्न हार्दिक पाण्डेयले ३, रबिन्द्र जडेजाले २ तथा आशिष नेहरा, जस्प्रित बुमराह र युवराज सिंहले समान १ विकेट लिए ।















प्रतिक्रिया