काठमाडौँ, ८ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने औपचारिक भ्रमणमा भोलि अपराह्न नेपाल आउँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । शनिबार नेपालमा हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा स्वराजले भारतीय पक्षको नेतृत्व गर्नुहुनेछ ।
नेपाल र भारतबीचको सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक लाभका सबै क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले २७ वर्षअघि परराष्ट्रमन्त्रीस्तरमा गठित उक्त आयोग द्विपक्षीय मामिला हेर्ने सर्वोच्च संयन्त्र हो । तेइस वर्षपछि हुनलागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुनेछ ।
आयोगको बैठकमा भाग लिन केही भारतीय अधिकारी आजै राजधानी आइसक्नुभएको छ भने केही अधिकृतहरू भोलि बिहान आउँदै हुनुहुन्छ । संयुक्त आयोगको बैठकअघि क्षेत्रगत विषयमा छलफल गर्न सम्बन्धित निकायका अधिकारीहरूको बैठक हुनेछ । उक्त बैठकले आयोगको कार्यसूची निर्धारण गर्नुका साथै सहमतिका विषय सिफारिस गर्नेछ ।
ऊर्जा, वाणिज्य, सुरक्षाजस्ता क्षेत्रमा नेपाल र भारतबीच विभिन्न तहमा २५ वटा द्विपक्षीय संयन्त्र स्थापना भएका छन् । नेपाल र भारतमा आलोपालो गरी बर्सेनि आयोगको बैठक गर्ने भनिए पनि विविध कारणले २२ वर्षसम्म त्यो सम्भव भएको थिएन ।
बैठकमा आर्थिक सहयोग, व्यापार तथा पारवहन, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षालगायत पाँच क्षेत्रमा गहन छलफल हुनाका साथै दोस्रो बैठकका निर्णय कार्यान्वयन एवम् प्रगतिको समीक्षा हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले राससलाई बताउनुभयो । पाँचै क्षेत्रमा सम्बन्धित विषयका पदाधिकारीबीच गहन छलफल हुने जानकारी पनि उहाँले दिनुभयो ।
पाँच विधागत मामिलामध्ये राजनीतिक, सुरक्षा र सीमासम्बन्धी एउटा, आर्थिक सहयोग एवम् पूर्वाधारबारे अर्को, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत तथा पाँचाँै विधामा संस्कृति, शिक्षा, सञ्चारलगायत अन्य विषयमा आयोगको बैठक केन्द्रित हुने प्रवक्ता धितालले बताउनुभयो ।
भारतीय लगानीमा भौतिक पूर्वाधार विकास, जलविद्युत् उत्पादन एवम् विकास, मध्यपहाडी लोकमार्ग निर्माणका निम्ति आवश्यक आर्थिक एवम् सहयोग जुटाउने, महाकाली नदीमा पुल निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, विद्युत् खरिद सम्झौता, डुबान समस्या समाधान, कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादकत्व वृद्धि, कृषि उपज प्रशोधन केन्द्र स्थापनाजस्ता व्यापार असन्तुलन हटाउने उपायको खोजी, अनधिकृत व्यापार नियन्त्रण र ऋण सहायता बढाउने विषयलाई नेपालले प्राथमिकतासाथ बैठकमा उठाउने छ ।
नेपालको जलविद्युत्, काठमाडौँ–तराई द्रुत मार्ग, हुलाकी राजमार्ग, बैतडीको झुलाघाट पुल र महाकाली पुल तथा क्रिकेट एकेडेमी निर्माण, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दी र अरूण तेस्रोको परियोजना विकास सम्झौता (पिडिए) गर्ने चाहना भारतले व्यक्त गर्दै आएको छ । निजी–सार्वजनिक साझेदारीमा विकास–निर्माणका परियोजना सञ्चालन, भारतीय लगानी अभिवृद्धिजस्ता विषयमा पनि आयोगमा छलफल हुनेछ ।
बाइस वर्षअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला कर्णाली (चिसापानी) बहुउद्देश्यीय आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, कोसी (भीमनगर ब्यारेज) परियोजना, सप्तकोसी उच्चबाँध बहुउद्देश्यीय परियोजना, बुढीगण्डकी परियोजना, कमला तथा वाग्मती आयोजना, बाढी पूर्वानुमान तथा सूचना प्रणाली, बाढी नियन्त्रणका लागि बाँध निर्माण, टनकपुर ब्यारेज परियोजना र विद्युत् आदानप्रदान सम्बन्धमा सम्झौता भएको थियो ।
विदेशमन्त्री स्वराजको यो भ्रमणले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका निम्ति मार्ग प्रशस्त गर्नेछ भने दुई मुलुकबीच विद्यमान समस्या र चासोलाई सम्बोधन गर्न सघाउ पु¥याउने छ । भारतले छिमेकीहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने घोषणा गरेको सन्दर्भमा मन्त्री स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा पनि गरिएको छ ।
यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अक्बरुद्दिनले विदेशमन्त्रीको भ्रमणपछि प्रधानमन्त्रीको नेपालभ्रमणको मिति निर्धारण हुने बताउनुभएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार आयोगको बैठकमा पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने र हालसम्मका परामर्श रचनात्मक रूपमा अघि बढिरहेका बताइएको छ ।
जलस्रोत उपयोग तथा ऊर्जा उत्पादनबारे विवादास्पद विवरणहरू सार्वजनिक भइरहँदा प्रवक्ता अक्बरुद्दिनले उच्च राजनीतिक नेतृत्वसँग ती विषयमा वार्ता भइरहेको र त्यसले सकारात्मक गति लिएको स्पष्ट गर्नुभयो । ‘‘नेपालसँग हाम्रो सम्बन्ध सुदृढ एवम् ओजपूर्ण छ, दुवै मुलुकलाई मान्य र लाभ हुने गरी ऊर्जा प्रवद्र्धनबारे छलफल हुनेछ”, उहाँले भन्नुभयो ।
पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्दै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ एवम् सुमधुर बनाउन भारतीय विदेशमन्त्रीको भ्रमण महत्वपूर्ण हुनेछ भने शताब्दीऔँदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ तुल्याउन तथा सहयोगका नयाँ क्षेत्र पहिल्याउन पनि मन्त्री स्वराजको भ्रमण उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ ।
संयुक्त आयोगको बैठकका क्रममा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै प्रमुख राजनीतिक दलका नेताहरूसँग भारतीय विदेशमन्त्रीले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने आयोगको बैठकमा नेपाल र भारतका २७–२७ जना वरिष्ठ अधिकारी सामेल हुनुहुनेछ । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, ऊर्जा, वाणिज्य तथा आपूर्ति, कृषि, रक्षा, जनसङ्ख्या तथा स्वास्थ्य, सिँचाइ, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन, शिक्षा, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वन तथा भू–संरक्षण, युवा तथा खेलकुद र सूचना तथा सञ्चार मन्त्रालयका उच्च अधिकारी तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतीय टोलीमा विदेश सचिव सुजाथा सिंह, विदेश मन्त्रालयकै विकास साझेदारी प्रशासन सचिव सुजाता मेहता, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, संस्कृति, ऊर्जा, सडक तथा राजमार्ग, वाणिज्य तथा उद्योग, जलस्रोत, रेल, मानव संशाधन विकास मन्त्रालयका वरिष्ठ अधिकृतका साथै नेपालका लागि भारतीय राजदूत सहभागी हुनुहुनेछ । भारतीय विदेश मन्त्री स्वराज आफ्नो प्रतिनिधि मण्डलसहित विशेष विमानबाट काठमाडौँ आउनु हुँदैछ । यसअघि भारतका तत्कालीन विदेशमन्त्री सल्मान खुर्सिद नेपाल भ्रमणमा आउनुभएको थियो । रासस















प्रतिक्रिया