
विराटनगर, १५ फागुन । उपप्रधान तथा पररराष्ट्रमन्त्री कमल थापाले नेपाल-भारत संयुक्त विज्ञप्ति नआउनु कुनै ठूलो कुरो नभएको बताउनुभएको छ ।
उहाँले यसअघि भारतमै अमेरिकाका राष्ट्रपति र चीनियाँ राष्ट्रपतिको पनि पत्रकार सम्मेलनकै माध्यमबाट जानकारी गराइएकाले संयुक्त विज्ञप्ति नआउनेलाई अन्यथा नलिन आग्रह गर्नुभयो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक रहेको जानकारी गराउनुभयो । उपप्रधानमन्त्री थापाले भ्रमणको माध्यमबाट दुवै देशबीचको असमझदारी, तिक्तता र चिसोपन हटेको चर्चा गर्दै यसबाहेक थुप्रै विषयमा समझदारी भएको स्पष्ट पार्नुभयो ।
संयुक्त विज्ञप्ति नआएको सम्बन्धमा पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो, ‘भेटघाटको विषयलाई जनस्तरमा ल्याउन संयुक्त विज्ञप्ति र अर्को पत्रकार सम्मेलन रहेकामा पत्रकार सम्मेलनको माध्यमबाट समझदारीका विषय जनस्तरमा ल्याइएको हो ।’
उहाँले यसअघि भारतमै अमेरिकाका राष्ट्रपति र चीनियाँ राष्ट्रपतिको पनि पत्रकार सम्मेलनकै माध्यमबाट जानकारी गराइएकाले संयुक्त विज्ञप्ति नआउनेलाई अन्यथा नलिन आग्रह गर्नुभयो ।
वर्तमान सरकार अर्को संसदको निर्वाचन नभएसम्म रहने बताउँदै मधेसको समस्या समाधानका लागि गठित राजनीतिक समितिका संयोजकसमेत रहनुभएका उहाँले मधेसको समस्या समाधानका लागि मधेसी मोर्चासँग छलफल गरी कार्य अगाडि बढाइने बताउनुभयो ।
उहाँले स्थानीय निकायको निर्वाचन गराउन सरकार तत्पर रहेको र यसका लागि दुईवटा ऐन संशोधनको प्रक्रियामा रहेको उल्लेख गर्नुभयो ।












प्रतिक्रिया