२९ आश्विन २०८३, बिहिबार

किन बदलिन्छ महिलाको मन ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxmi-Bhandari.-1jpg

भर्खरको कुरा हो, श्रीमान्को कुटाइबाट घाइते भएकी मेहलकुनाकी रमाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी गरिन् । श्रीमान्लाई कारबाही गरेरै छाड्छु भन्ने अठोट बोकेकी रमाको अगाडि प्रहरीले श्रीमान्लाई उभ्याएर सोधपुछ गर्योे । सोधपुछको क्रममा सोधिएको प्रश्नले उनलाई चुप लाग्न बाध्य बनायो । एकैछिन अघिसम्म कारबाही गर्ने अडान लिएकी रमा प्रहरीको सोधपुछमा चुपचाप बसिन् । यसरी बस्नुको कारण थियो श्रीमान्प्रतिको माया । उनी रक्सी खाएर दिनदिनै कुटपिट गर्ने श्रीमान्लाई कारबाही नगर्ने निर्णयमा पुगिन् । त्यसका लागि उनले बयान फेरिन् । उनले भनिन्, ‘श्रीमान्लाई कारबाही हुनुपर्छ भनेर उजुरी दिएँ, तर प्रहरीको अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरू सबै बिर्सिएँ ।’ उनी भन्छिन्, ‘प्रहरी कार्यालयमा पुग्दा आखिर श्रीमान् नै हुन् भनेर मन परिवर्तन भयो ।’ त्यसपछि उनले मिलापत्रको विकल्प रोजिन् ।.

आफूलाई कुटपिट गर्ने श्रीमान्लाई कारबाहीको माग गरेर जिल्ला प्रहरी कार्यालय पुगेका महिला नै श्रीमान्लाई त्यहाँ पुर्याएपछि आफ्नो बयान बदल्छन् । आर्थिक असुरक्षा र सामाजिक मर्यादाका कारण तुरुन्तै फेरिन्छ महिलाको मन ।

वीरेन्द्रनगरकी ३२ वर्षीया रामसरा विकका लागि श्रीमान्ले मदिरा नपिएको र आफूले कुटाइ नखाएको दिन थिएन । दिनभरि घरव्यवहारको झन्झट र साँझ मदिराको झोकको कुटाइले गर्दा शरीरका अङ्ग थिलथिला भएका थिए । जति कुटाइ खाए पनि चुपचाप सहँदै आएकी उनी वरपर छिमेकीले सोधेमा बिरामी भएको जवाफ दिन्थिन् । तर, अति नै भएपछि माइतीको साथ मागेर प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई प्रहरी कार्यालयमा छलफलमा बोलाइयो । दम्पती प्रहरी कार्यालयमा उभिएपछि रामसराले मिलेर घर जाने बताइन् । श्रीमान्लाई कारबाही हुनुपर्ने अडान राखेकी रामसराले यसो भनेपछि मुद्दाको प्रक्रिया त्यहीँ रोकियो ।

घरबाट चरम हिंसा भोगेर कारबाहीको माग गर्दै प्रहरीमा पुगेका महिला त्यहाँ पुगेपछि यसैगरी श्रीमान्सँग सम्झौता गर्न पुग्छन् । श्रीमान्लाई हिरासतमा लगेको देख्न नसकेर मिलापत्र गरी घर फर्किन्छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गएको वर्ष मात्रै आफ्नै श्रीमान्विरुद्ध प्रहरीमा जाहेरी दिएका तीन सय नौजनामध्ये सबै महिला मिलापत्र गरेर घर फर्किए ।

घरपरिवारमा बरोबर भेट्न आउने र निरन्तर फोन गर्ने श्रीमान्ले पल्टन सर्नेबित्तिकै सहारेकी २६ वर्षीया सुनितालाई वास्तै गर्न छाडे । सुरुमा कामले फुर्सद नभएको होला भन्ने सोचिन् । तर, लामो समयसम्म पनि पैसा पठाउन र फोन गर्न छाडेपछि सोधखोज गर्दा श्रीमान्ले दोस्रो विवाह गरेको थाहा पाइन् । सुरुमा त न्यायका लागि उनी मेलमिलापमा पुगिन् । त्यहाँ उनले कानुनी प्रक्रियाबारे जानकारी पाइन् । त्यसपछि प्रहरीचौकी जाने निर्णयमा पुगिन् ।

यो थाहा पाएपछि उनका श्रीमान्ले फोनबाटै प्रहरीमा उजुरी नदिन दबाब दिए । ‘प्रहरीमा मुद्दा दिएपछि मेरो जागिर नै जान्छ, बरु म छोराछोरीलाई कापीकलम किन्ने खर्च दिन्छु’ श्रीमान्ले फोनमा यसो भनेपछि सुनितालाई मुद्दा दर्ता गराउन आँट नै आएन । उनी भन्छिन्, ‘बूढाले यसो भन्दा मलाई पनि ठीकै हो जस्तो लाग्यो । जे भए पनि श्रीमान् नै हुन् भन्ने सोचेर चुप लागेर बसेँ ।’

प्रहरीमा दर्ता भएका घरेलु हिंसाका धेरैजसो मुद्दा मिलापत्रमै टुङ्गिन्छन् । हिंसापीडित महिलाले प्रहरी कार्यालयसम्म उजुरी दर्ता गराए पनि मुद्दाको प्रक्रिया अघि बढेपछि बयान फेर्छन् । श्रीमान्लाई कारबाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि प्रहरी कार्यालयमा श्रीमान्लाई उभ्याउँदा उनीहरूको मन परिवर्तन हुन्छ । अन्त्यमा मिलापत्रमै पुग्छन् ।

हिंसाका घटना सकभर गाउँमै मिलाइन्छन् । प्रहरीसम्म दर्ता भए पनि तिनको अन्तिम रूप भनेकै मिलापत्र हो । गत आर्थिक वर्षमा चार सय ३५ वटा मुद्दा दर्ता भएकोमा तीन सय नौवटा घरेलु हिंसाका मुद्दा थिए । जिल्ला प्रहरी महिला सेलकी प्रमुख पार्वती मल्लले महिला आफ्नो घरपरिवार र समाजको कारणले गर्दा नै हिंसा सहेर भए पनि मिलापत्रमा जान बाध्य हुने बताइन् । ‘कार्यालयमा दर्ता भएका मुद्दाबारे छलफल हुँदा पीडित महिलालाई हामीले सोध्याँै भने उहाँहरूले नै मिलापत्रको विकल्प रोज्नुहुन्छ र मुद्दा यत्तिकैमा टुङ्गो लाग्छ,’ मल्लले भनिन्, ‘कतिपयको मिलापत्र भए पनि फेरि घटना बल्झिन्छ, तर पनि महिला सहन बाध्य छन् र फेरि पनि मिलापत्रमै जान चाहन्छन् ।’ गाविसमा मासिक रूपमा २० वटासम्म यस्ता विवादहरू आउने गरेको सहारेका मेलमिलाप केन्द्रका संयोजक लोकबहादुर वली बताउँछन् ।

मिलापत्रमा सकिने हुँदा कमै मात्रामा जिल्ला अदालतमा मुद्दा दर्ता हुने गर्दछन् । आर्थिक वर्ष ०७१/७२ मा जिल्ला अदालत सुर्खेतमा १८ वटा मुद्दा दर्ता भएकोमा पाँचवटा मिलापत्रमै टुङ्गिए । कार्यालयमा स्रेस्तेदार वीरेन्द्र मल्लका अनुसार दर्ता भएका मुद्दामध्ये दुईवटा मुद्दा फस्र्योट हुन बाँकी छन् ।

महिला आफैँमा आत्मनिर्भर नहुनाले पनि मिलापत्र गर्नुको विकल्प नरहेको शिक्षक चन्द्रावती खत्री बताउँछिन् । ‘श्रीमान्कै कमाइमा भर परेका महिला श्रीमान्बाट छुट्टिँदा बेसहारा हुनुपर्ने भएकाले पनि हिंसा सहेर बस्ने गरेका छन्,’ उनले भनिन्, ‘कतिपय महिला छोराछोरीका लागि पनि मरेरै पनि बाँचिरहेका हुन्छन् ।’

पितृसत्तात्मक सोचका कारण महिला हिंसाका मुद्दाहरू कानुनी प्रक्रियामा जान नसकेको अधिवक्ता दुर्गा सापकोटा बताउँछन् । उनी भन्छन्, ‘जति हिंसा गरे पनि श्रीमान् नै हो भन्ने धारणा व्याप्त भएकाले यस्ता घटनामा मिलापत्र गर्ने प्रचलन छ ।’

सामाजिक असुरक्षाका कारण घरेलु हिंसाका मुद्दामा पनि पीडितहरू मेलमिलाप गर्न बाध्य भइरहेको अधिकारकर्मी मधुरानी ढकाल बताउँछिन् । ढकाल भन्छिन्, ‘एउटा पीडित महिलाले प्रहरीमा उजुरी गरेर पीडकलाई कारबाही प्रक्रियामा ल्याए भने उसलाई पारिवारिक र सामाजिक असुरक्षा हुन्छ । जसको कारण पनि उनीहरू मिलापत्र गर्न बाध्य हुन्छन् ।’

महिला स्वभावतः कोमल हृदयका भएको हुनाले पनि आफू पीडित भए पनि श्रीमान्सँग सम्झौता गर्न पुग्ने गरेको मातृभूमि महिला समाज संस्था सहारेका सचिव मैना विक बताउँछिन् । मैना भन्छिन्, ‘श्रीमान्बाट पीडित महिला पीडा सहन नसकेर प्रहरीसम्म उजुरी गर्न जान्छन् । तर, प्रहरीमा श्रीमान्लाई उभ्याएपछि उनीहरूको मन पग्लिन्छ र आफ्नो बयान बदल्छन् ।’

(सञ्चारिका फिचर सेवा/भण्डारी सुर्खेतकी पत्रकार हुन् ।)