इजरायल । पर्वतको उल्लेरीमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पर्वत सेवा समाज इजरायलको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल घारिपाटन पोखराको प्राविधिक सहयोगमा बिहीबार निशुल्क आँखा शिविर सञ्चालन भएको थियो ।
भँगरा गाविसको उल्लेरीस्थित लिमी निमाविमा सञ्चालन भएको सो शिविरमा हिमालय आँखा अस्पतालका बरिष्ठ चिकित्सक गोबिन्द योगी लगायत ६ जनाको टोलीले आँखाका रोगीको चेकजाँच र उपचार गरेको थियो ।
उल्लेरीका ९६ वर्षीय जब्बरबहादुर क्षेत्रीले पानसमा दीयो बालेर उदघाटन गरेको सो शिविरमा दुई सय ५५ जना आँखाका बिरामीले सेवा लिएको आयोजक पर्वत सेवा समाज इजरायलकी महासचिव दिया चापागाईले बताइन् ।
१२ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले शल्यक्रियाका लागि हिमालय अस्पताल पोखरामा रिफर गरिएको छ । उनीहरुको पनि हिमालय आँखा अस्पतालमा निशुल्करुपमा उपचार हुने महासचिव चापागाई बताइन् ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष हिरादेबी श्रेष्ठले पर्वत सेवा समाज इजरायलको बारे जानकारी गराएकी थिइन भने रेनु क्षेत्रीले स्वागत मन्तब्य राखेकी थिइन् ।
शिविरमा आएकाहरुले गुजाराका लागि घरबार छोडेर अर्काको ठाउँमा गएरपनि आर्थिक अभावमा आँखाको रोगबाट समस्यामा परेकाहरुलाई निशुल्क शिविरको आयोजना गरेर पर्वत सेवा समाज इजरायले ठूलो गुन लगाएको बताए । आफ्नै गाउँठाउँमा आँखाको निशुल्क उपचार गराउन आर्थिक सहयोग गर्ने पर्वत सेवा समाज इजरायल र प्राविधिक सहयोग गर्ने हिमालय आँखा अस्पताललाई धन्यवाद दिएका थिए ।
पर्वत सेवा समाज इजरायल रोजगारीका सिलसिलामा इजरायलमा रहेका पर्वतबासीहरु आबद्ध संस्था हो । संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको छ ।
महासचिव चापागाईले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने उल्लेरी इलाकाका हेल्थ असिस्टेन तथा कार्यक्रमका सयोजक उमाकान्त सापकोटा, लिमी विद्यालयका शिक्षक, विद्यार्थी अभिभावक लगायतका महानुभावहरुलाई संस्थाको तर्फबाट धन्यवाद दिएकी छन् ।















प्रतिक्रिया