– विमल योगी
काठमाडौं, १३ फागुन । कार्यबाहक सभापति रामचन्द्र पौडेलले ल्याएको नीति तथा कार्यक्रमसहितको राजनीतिक प्रस्ताव नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकमा ठाडै अस्वीकार भएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले प्रस्तावित नीति तथा कार्यक्रमको भाषादेखि त्यसमा राखिएका विषयवस्तु उपयुक्त नरहेको भन्दै कडा आलोचना गरेको केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिनुभयो ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा तथा संस्थापन पक्षबाटै अस्वीकार भएपछि प्रस्तावित नीति तथा कार्यक्रमलाई पुनः लेखन गर्ने निर्णय भएको छ ।
बैठकले नीति तथा कार्यक्रमलाई सुझावसहित पुनः लेखन गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । ‘कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गर्नुभएको १३औँ महाधिवेशनको नीति तथा कार्यक्रम पुनः लेखन गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘बैठकमा आएका सुझावहरूसहित नीति तथा कार्यक्रम तयार हुनेछ ।’
सुझावहरू समेटेर पुनः लेखनका लागि भोलि शुक्रबार केन्द्रीय नीति तथा प्रशिक्षण विभागको बैठक बस्ने भएको छ । बैठक दुई बजेका लागि बोलाइएको छ । आजको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा पूरै समय बस्नु भएको थियो ।
के छ प्रस्तावमा ?
नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहनुभएका कार्यबाहक सभापति पौडेलले पार्टीको भावी रणनीति, संगठन सद्धृढीकरण र महाधिवेशन सम्पन्न कार्यबारे एकलौटी ढंगबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।
जसमा गुटको गन्ध प्रष्ट देखियो । आफू अनुकल तथा सभापतिमा उठ्न सघाउ पुग्ने खालको उनको प्रस्ताव थियो । साथै उनले आफूले गरेका कामहरु पनि प्रस्तावित दस्तावेजका क्रममा सुनाएका थिए । उनको प्रस्ताव सुनिसकेपछि सबै नेताहरुले धारणा राखे । धेरैले राम्रो भएन् । धेरै कुरा छुटे । फेरि बनाउनुस् भने ।
कांग्रेसको देउवा र संस्थापनबाटै बुझ्नै सकिएन भन्दै असन्तुष्टि पोखे त्यसपछि संसोधनसहित पुर्नलेखन गर्ने निर्णय भयो ।












प्रतिक्रिया